ad ad

समाज


महाकालीमा भारतकाे बलमिच्याईं : नेपालीले ढुंगामुढा गरेपछि फर्कियो जेसीबी

महाकालीमा भारतकाे बलमिच्याईं : नेपालीले ढुंगामुढा गरेपछि फर्कियो जेसीबी

गोकुल जोशी
फागुन २४, २०७८ मंगलबार २०:१८, काठमाडौँ

दार्चुलाको व्याँस गाउँपालिका–२ मालगाउँका ३३ वर्षीय जयसिंह धामी गत साउन १५ गते महाकाली नदी तर्दा भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले तुइन काट्दा  बेपत्ता भए। 

त्यसपछि भदौमा भारतले दार्चुलाको आकाशमा अनुमतिबिना हेलिकप्टर उडायो। तर महाकालीमा बेपत्ता जयसिंहको खोजीका लागि ‘ड्रोन’ चलाउन नेपाली प्रशासनलाई अनुमति दिएन। 

भारतले कहिले सीमामा सडक निर्माण गर्दा नेपाली प्रशासनसँग समन्वय नै नगरेर महाकालीको बहाव प्रभावित पार्छ त कहिले महाकालीमा एकतर्फी रुपमा सुरक्षाकर्मीलाई पौडीको अभ्यास गराउँछ। 

नेपाल–भारत आवातजावत गर्दा नाकामा नेपालीले एसएसबीको अनावश्यक दुख झेल्नु पर्ने नियति छ।  सीमामा उत्पन्न समस्या समाधानका लागि सरकारले कूटनीतिक पहल नगर्दा भारतीय पक्षले यस्ता गतिविधिमा बढावा दिएको छ।

दार्चुलामा भारतीय पक्षको बलमिच्याइँ रोकिएको छैन। नेपाली प्रशासनसँग समन्वय नै गरेर भारतले महाकालीमा तटबन्ध निर्माण थालेको धेरै भयो। 

जिल्ला प्रशासन कार्यालय दार्चुलाले तटबन्ध निर्माणको बारेमा भारतीय पक्षसँग पटक पटक पत्राचार गरेर जानकारी माग्यो। तर भारतीय प्रशासनले नेपाली प्रशासनलाई तटबन्धको जानकारी दिन अहिलेसम्म उचित ठानेको छैन। 

बरु भारतीय पक्षले नेपाली प्रशासनलाई बेवास्ता गर्दै महाकालीमा तटबन्ध निर्माणको कामलाई तीब्रता दिइरहेको छ। 

महाकाली नदीमा समन्वय नै नगरी महाकालीको बहाव परिवर्तन गर्ने गरी तटबन्ध निर्माण भइरहेको भन्दै स्थानीय आक्रोशित भएका छन्। मंगलबार त दार्चुलामा तनावको स्थिती सृजना भयो। 
तटबन्ध निर्माण गर्न भारतीय पक्षले महाकाली नदी नेपालतिर फर्काउन खोज्दा स्थानीयबीच ढुंगा हानाहान भएको छ। 

महाकाली नदीमा जेसिबी चलाउँदा नेपाल र भारत दुवैतिरका स्थानीयबीच ढुंगा हानाहान भएको प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले बताए।

‘भारतीय पक्षले सीमा नदीमा समन्वय नगरी काम गर्दा समस्या भइरहेको छ। पानी नेपालतिर फर्काएर काम गर्न खोजेका रहेछन्। यताका स्थानीयले विरोध गरेर ढुंगा हाने,’ उनले भने, ‘त्यस पछि उताबाट पनि ढुंगा प्रहार भयो।’

उनका अनुसार नेपाल भारत दुवै तर्फका सुरक्षाकर्मीको सहयोगमा जम्मा भएको भीड तितरवितर गरिएको थियो। त्यस पछि भारतीय पक्षले काम रोकेर जेसिबी फिर्ता लगेको थियो।

महाकाली नदीको बहाव सदरमुकाम खलंगातिर धकेलिने गरी भारतले महाकाली नगरपालिका–४ स्थित नदीमा जेसिबी चलाएको थियो। भारतीय पक्षले तटबन्ध निर्माणमा नेपाली भूमितर्फबाट ढुंगा उत्खनन् गरेर प्रयोग गरिरहेको स्थानीय बताउँछन्। 

नेपाली प्रशासनसँग समन्वय नै नगरी संरचना निर्माण गर्दा तनावपूर्ण स्थिती सृजना भएको सीडीओ उपाध्याय बताउँछन्। 

‘सुरुदेखि नै सीमामा काम गर्दा समन्वय गर्न भनेका थियौँ। तर भारतीय पक्षले त्यो गरेन,’ उनले भने, ‘आज पनि भारतीय अधिकारीसँग समन्वय नगर्दा यस्तो स्थिती आएकोले समन्वय गरेर मात्रै काम गर्न भनेका छौँ।’

भारतीय पक्षले पुरानो बाँधेको तटबन्धसँगै महाकाली नदीमा नेपालतर्फ ८ देखि १० मिटर चौडाइ र १० मिटर उचाइको तटबन्ध निर्माण गरिरहेको छ। तटबन्ध निर्माणसँगै झोलुंगे पुल क्षेत्र, बंगाबगड र डुमपानी क्षेत्रमा नदीको भाग साँघुरो हुने र महाकाली फर्किने खतरा बढेको स्थानीय बताउँछन्।

‘महाकाली हामीतिर फर्काउने संरचना यसअघि नै बनेका छन्। वर्षातमा नदीमा पानीको बहाव बढी भएका बेला नदी हाम्रोतिर आउँछ,’  महाकाली नगरपालिका–४ का स्थानीय रामदत्त भट्टले भने, ‘अझै भारतले तटबन्ध बनाइरहेकाले यो क्रम बढ्ने जोखिम छ।’

अन्तर्राष्ट्रिय सन्धि–सम्झौता अनुसार सीमा नदीको बहावलाई असर पर्ने गरी कुनै पनि मुलुकले एकअर्काको सहमतिबिना भौतिक संरचना निर्माण गर्न पाइँदैन। तर दार्चुलामा भने नेपाली पक्षलाई जानकारी नै नदिएर भारतीय पक्षले नदीको बहाव परिवर्तन हुने किसिमले आफूखुसी पक्की तटबन्ध निर्माण गर्दै आएको छ।

भारतीय पक्षलाई तटबन्धका बारेमा जानकारी दिन जिल्ला प्रशासन कार्यालय दार्चुलाले पटक पटक पत्राचार गरेको थियो। भारतीय पक्षले नेपाली प्रशासनलाई बेवास्ता गर्दै अहिलेसम्म तटबन्धका बारेमा जानकारी गराएको छैन।

गत माघमा दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले नेपाल भारतका अधिकारीहरुको बैठकमा तटबन्धको विषयमा भारतीय पक्षलाई जानकारी दिन ध्यानाकर्षण गराएका थिए।

बैठकमा तटबन्धले नेपाली भूभागतिर केही असर नगर्ने प्रतिबद्धता जनाउँदै भारतीय पक्षले केही समयभित्रै तटबन्धबारे विस्तृत जानकारी दिने भनेको थियो। बैठक सम्पन्न भएको एक महिना बितिसक्दा पनि अझै पनि भारतीय पक्षले तटबन्धबारे कुनै जानकारी नदिएको छैन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .