ad ad

समाज


भारतीय सवार हेलिकप्टर ‘सुटुक्क’ बझाङ पुगेर फर्कियो

प्रशासन अनभिज्ञ
भारतीय सवार हेलिकप्टर ‘सुटुक्क’ बझाङ पुगेर फर्कियो

गोकुल जोशी
फागुन २६, २०७८ बिहिबार १५:२२, कञ्चनपुर

बझाङको थलारा गाउँपालिका–९ छालागडामा भारतीय नागरिक सवार हेलिकप्टर अवतरण भएको छ। 

कैलाश हेलिकप्टर सर्भिसको ९ एन एजेजे नम्बरको हेलिकप्टर बिहीबार थलारा गाउँपालिका–९ स्थित सेती नदी किनारमा अवतरण भएको हो ।

स्थानीय जनप्रतिनिधि, प्रहरी तथा प्रशासनसँग समन्वय नगरेर हेलिकप्टरमा आएका भारतीय मूलका मानिसले सेती नदी अवलोकन गरेर फर्केका छन् ।

‘हामी कसैलाई हेलिकप्टर आउने जानकारी नै थिएन । हेलिकप्टर अवतरण भएपछि स्थानीयले सोध्दा नदीको बहाव र कटान गरेको हेर्न आएको भनेका थिए,’ थलारा गाउँपालिका वडा नम्बर ९ का वडाध्यक्ष मोहनराज जोशीले नेपालखबरसँग भने, ‘त्यसपछि हामीले प्रहरीलाई खबर गरेका थियौँ, प्रहरी पुग्नुअघि नै उनीहरु उडे।’

हेलिकप्टरमा चालकसहित पाँच जना भारतीयमूलका नागरिक रहेको उनले बताए। ‘हिन्दी बोलिरहेका थिए । साथमा नक्सा पनि बोकेका थिए,’ वडाध्यक्ष जोशीले भने, ‘उनीहरु करिब आधा घण्टा बसेपछि गए।’

हेलिकप्टरमा को को थिए र किन आए भन्नेबारे जिल्ला प्रशासन कार्यालय बझाङ पनि अनभिज्ञ छ । हेलिकोप्टरको विषयमा सोधीखोजी भइरहेको प्रमुख जिल्ला अधिकारी (सीडीओ) बाबुराम अर्याल बताउँछन् ।

‘हेलिकप्टरमा को, किन आए भनेर खुलेको छैन । हामीलाई कुनै पूर्व जानकारी पनि थिएन,’ उनले नेपालखबरसँग भने, ‘यस बारेमा हामी बुझ्दै छौँ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .