ad ad

समाज


भारतले बलमिच्याइँ नरोके प्रतिकार गर्ने दार्चुलावासीको चेतावनी

भारतले बलमिच्याइँ नरोके प्रतिकार गर्ने दार्चुलावासीको चेतावनी

गोकुल जोशी
फागुन २६, २०७८ बिहिबार २०:५७, काठमाडौँ

गत माघदेखि दार्चुलाको महाकाली नगरपालिका–४ महाकाली नदी पारी भारतले पक्की तटबन्ध निर्माणको काम थाल्यो। त्यसको जानकारी पाउनासाथ स्थानीय महाकाली नदी सदरमुकाम खलंगातर्फ मोडिने त्रासमा विरोधमा उत्रिए।

भारतले महाकाली पारी पक्की तटबन्ध निर्माण गरिरहेको बारे दार्चुलास्थित स्थानीय प्रशासनसँग कुनै जानकारी नै गराएको छैन।

अन्तर्राष्ट्रिय सीमा नदीमा कुनै पनि संरचना निर्माण गर्दा दुवै देशको समन्वयमा काम हुनु पर्नेमा भारतले नेपाललाई बेवास्ता गर्दै काम थाल्यो। पटक पटक नेपाली अधिकारीले तटबन्धको बारेमा जानकारी गराउन पत्राचार गर्दा पनि भारतीय पक्षले कुरा सुन्न मानेको छैन। 

बरु नेपाली प्रशासनलाई बेवास्ता गर्दै महाकालीमा तटबन्ध निर्माणको कामलाई तीब्रता दिइरहेको छ।  जसले गर्दा दार्चुलास्थित महाकाली क्षेत्रमा दिनहुँ तनाव भइरहेको छ।

मंगलबार तटबन्ध निर्माण गर्न भारतीय पक्षले महाकाली नदी नेपालतिर फर्काउन खोज्यो। महाकाली नगरपालिका–४ का स्थानीयले त्यसको प्रतिकार गरे। त्यस क्रममा भारतीयले पनि ढुङगा प्रहार गरेका थिए। 

तनावको स्थिती सृजना भएपछि त्यस दिन भारतीय पक्ष काम छोडेर फर्किएको थियो। फेरि बिहिबार भारतीय पक्षले यस्तै व्यवहार दोहो¥एको छ। महाकालीको पानी नेपालतर्फ फर्काउन भारतले जेसिबी चलायो। 

महाकालीको बीच नदीमा आएर पानीको बहाव नेपाल फर्काउन थालेपछि स्थानीय विरोधमा उत्रिए। र, वारीबाट ढुङगामुढा गरे पछि जेसिबी पारी लगेका थिए, भारतीय पक्षले।

महाकालीको धार नेपालतर्फ फर्काउने गरी नेपाली भूमितिर उत्खनन् गरेर भारतले संरचना निर्माण गरिरहेको स्थानीय बताउँछन्। 

‘ठूला ढुङगाहरु पन्छाएर पानीको बहाव नेपाल फर्काइसकेको छ। करिब एक सय मिटर क्षेत्रमा महाकाली साँघुरो बग्ने र नदीको धार नेपालतिर फर्काएको हो।’ स्थानीय रामसिंह बोहराले भने, ‘बीच नदीमा आएर काम गरिरहेको अवस्थामा स्थानीय वारिबाट ढुंगा हानेपछि जेसिबी पारी लगेका थिए।’

सो क्षेत्रमा दिनहुँ तनाव हुन थालेपछि अहिले सशस्त्र प्रहरी र नेपाल प्रहरी नदी छेउमा खटाइएको  छ। 

भारतीय पक्षले पुरानो तटबन्धसँगै महाकाली नदीमा नेपालतर्फ ८ देखि १० मिटर चौडाइ र १० मिटर उचाइको तटबन्ध निर्माण गरिरहेको छ। तटबन्ध निर्माणसँगै झोलुंगे पुल क्षेत्र, बंगाबगड र डुमपानी क्षेत्रमा नदीको भाग साँघुरो हुने र महाकाली फर्किने खतरा बढेको स्थानीय बताउँछन्।

‘महाकाली हामीतिर फर्काउने संरचना यसअघि नै बनेका छन्। वर्षातमा नदीमा पानीको बहाव बढी भएका बेला नदी हाम्रोतिर आउँछ,’  महाकाली नगरपालिका–४ का स्थानीय रामदत्त भट्टले भने, ‘अझै भारतले तटबन्ध बनाइरहेकाले यो क्रम बढ्ने जोखिम छ।’

महाकाली नगरपालिका–४ स्थित महाकाली पारी एकलौटी तरिकाले नदीको धार परिवर्तन गर्ने गरी निर्माण भइरहेको तटबन्ध रोक्न स्थानीयले प्रशासनको ध्यानाकर्षण गराएका छन्।

बिहिबार महाकाली नगरपालिका–४ का स्थानीयले भारतले महाकाली नदीमा निर्माण गरिरहेको तटबन्ध रोक्न दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायलाई ज्ञापन पत्र बुझाउँदै ध्यानाकर्षण गराएका हुन। 

दार्चुलास्थित स्थानीय प्रशासनसँग कुनै समन्वय नगरी भारतीय पक्षले महाकालीमा आफ्नो सीमा भन्दा वर नेपालतर्फ तटबन्ध निर्माण गरेर नदीको धार परिवर्तन गर्न खोजेको स्थानीय बताउँछन्। 

‘भारतले महाकालीको किनारमा आफ्नो सीमा भन्दा ८ मिटर यता नेपालतर्फ एकतर्फी रुपमा निर्माण गरिरहेको तटबन्धले खलंगा बजारलाई क्षति पु¥याउँछ,’ स्थानीय लालसिंह धामीले भने, ‘पटक पटक विरोध गर्दा पनि निर्माण कार्य रोकिएको छैन।’

एकतर्फी तटबन्ध निर्माण कार्य तत्काल रोक्नु पर्ने माग गर्दै स्थानीयले नभए आफूहरु आन्दोलनमा उत्रिन बाध्य हुने चेतावनी दिएका छन्। 

नेपाली प्रशासनसँग समन्वय नै नगरी संरचना निर्माण गर्दा विवाद भइरहेको सीडीओ उपाध्याय बताउँछन्। 

‘अस्तीको ठाउँ भन्दा अर्को ठाउँमा गएर पानी फर्काउन खोजेका रहेछन्। स्थानीयले विरोध गरेपछि रोकिएको छ,’ उनले भने, ‘भारतले समन्वय नगरी काम गर्दा दिनहुँ विवाद आइरहेको हो।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .