ad ad

समाज


धनगढीमा भारतीयको हत्या : सीसीटीभीबाट पत्ता लाग्यो अपराधी

धनगढीमा भारतीयको हत्या : सीसीटीभीबाट पत्ता लाग्यो अपराधी

अभियुक्त


गोकुल जोशी
फागुन २८, २०७८ शनिबार ११:१६, महेन्द्रनगर

यही फागुन २३ गते बिहान १० बजेतिर कैलाली जिल्ला प्रहरी कार्यालयमा एक युवतीको फोन आयो। धनगढी उपमहानगरपालिका–५ केराबारीस्थित शिवनगर–जाई सडकखण्डमा हिँडिरहेकी उनले नालीमा एक जना पुरुष लडेको देखिछन्।

त्यही कुरा उनले फोनमार्फत प्रहरीलाई बताइन्। लगत्तै प्रहरी टोली करेसाबारी पुग्यो। शिवनगर–जाई सडकखण्डको नालीमा शंकास्पद अवस्थामा पुरुषको शव भेटियो। 

घटनास्थल

मृतकको टाउको, कानमा कसैले पिटेको जसरी चोटपटक लागेको थियो। शवसँगै रगत लागेको काठ पनि भेटियो। 

प्रहरीले गुप्ताको हत्या भएको निष्कर्ष निकाल्दै अनुसन्धान सुरु गर्‍यो। घटनास्थलमा तालिम प्राप्त कुकुर लगियो। 

झट्ट हेर्दा ३५–४० वर्ष उमेरका जस्ता देखिने मृतकको पहिचान खुल्न सकेको थिएन। उनको साथमा न मोबाइल थियो न कुनै परिचयपत्र। त्यसैले प्रहरीलाई उनी को हुन् भनेर पत्ता लगाउन मुस्किल पर्यो। 

हत्याको खबर यत्रतत्र फैलिएपछि मात्रै मृतकको पहिचान खुलेको थियो। 

घटनास्थल

मृतक भारतको उत्तरप्रदेशको सहेजापुराका अन्दाजी ४२ वर्षीय कुलदीप गुप्ता रहेको पुष्टि भयो। केही वर्षदेखि धनगढी उपमहानगरपालिका–४ शिवपुरी धाम नजिक डेरा गरेर बस्नेलगायत उनको विवरण प्रहरीले पायो। 

यसपछि घटनाको अनुसन्धानमा जुटेको प्रहरीले हत्यामा संलग्न २ जना युवकलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय (कैलाली) का अनुसार बाजुराको खप्तड छेडेदह गाउँपालिका–२ का २४ वर्षीय राजेन्द्र बुढा र २० वर्षीय भूपेन्द्र बुढालाई नियन्त्रणमा लिइएको हो।

‘घटनामा संलग्न २ जनालाई पक्राउ गरेका छौं। उनीहरूले अपराध स्वीकारेका छन्’, डीएसपी वेदप्रकाश जोशीले नेपालखबरसँग भने, ‘अभियुक्त र मृतकबीच चिनजान नै थिएन। घटनाको पूर्वयोजना केही देखिँदैन।’ 

उनका अनुसार अटो भाडाका विषयमा विवाद हुँदा राजेन्द्र र उनका साथी मिलेर भारतीय नागरिक गुप्ताको हत्या गरेको अनुसन्धानबाट खुलेको छ। 

गुप्ता धनगढीमा सामान्य कामसमेत गर्थे। उनी ८ महिनाअघि परिवारसहित भारत गएका थिए। त्यसपछि यही फागुन २१ गते बिहान मात्रै उनी धनगढी फर्किएका थिए। गुप्ता फागुन २२ गते बिहान धनगढी उपमहानगरपालिका–८ मा बस्ने भाइ सुमित गुप्ताकहाँ काम खोज्न जान्छु भनेर निस्किएका थिए।

प्रहरीका अनुसार उनले २२ गते नै धनगढी उपमहानगरपालिका–१ मा गोपाल मिश्राले सञ्चालन गरेको मिल्की फन आइसक्रिममा काम पाए। 

फागुन २२ गते उनले आइसक्रिम बिक्री गरे र बेलुका कमिसनबाट प्राप्त १ हजार २ सय ४० रुपैयाँ बुझेको प्रहरी अनुसन्धानबाट खुलेको छ। 

त्यसपछि मादक पदार्थ पिएर बेलुका उनी दाइ प्रदीपकोे डेरामा पुगेका थिए। कुलदीपले दाइसँग पैसा मागेको र सोही विषयमा सामान्य विवादपछि राति नै उनी त्यहाँबाट हिँडेका थिए।

‘सीसीटीभी फुटेजको सहायताले हामी अपराधीसम्म पुग्न सफल भएका छौं’, डीएसपी जोशीले नेपालखबरसँग भने, ‘९ बजेतिर दाइको बाट निस्केको सूचना पछि हामीले सीसीटीभी केलाउन थाल्यौं।’

कुलदीप अदालत रोड हुँदै पार्कमोडसम्म पुगेको फुटेजमा देखियो। राति ९ बजेपछि प्रदेशसभा भवनअगाडि उनी नीलो रङको अटोमा बसेर नैनादेवीसम्म पुगेको सीसीटीभी फुटेजमा देखिएको छ। 

अटोको अगाडिपट्टि बसेकाले फुटेजमा उनलाई चिन्न सकिएको थियो। त्यसपछि प्रहरीले नीलो रङको त्यो अटोको खोजी थाल्यो। सीसीटीभी फुटेज केलाउँदै जाँदा प्रहरीले शुक्रबार बिहान कुलदीप चढेको से १ ह २८६६ नम्बरको अटो फेला पार्यो। 

अटो चालक राजेन्द्रलाई कुलदीपबारे सोध्दा उनले प्रहरीसमक्ष अपराध स्वीकारे। घटनामा उनकै साथी भूपेन्द्रको पनि संलग्नता रहेको प्रहरीले बताएको छ।

अभियुक्तद्वयले प्रहरीमा दिएको बयानअनुसार घटनाका दिन राति राजेन्द्र र उनका साथी भूपेन्द्रले रुबस होटलअगाडिको एउटा मदिरा पसलमा बसेर रक्सी खाए। सँगै मादक पदार्थ पिएका साथीलाई आफ्नै डेरा (जाई) मा सुत्ने भनेर उनीहरू त्यहाँबाट हिँडे। 

डेरामा जान लागेका अटो चालक राजेन्द्र र भूपेन्द्रसँग पार्कमोडस्थित प्रदेशसभाको भवनअगाडि कुलदीपको भेट हुन्छ। ‘जाई’ जाने भन्दै कुलदीप पनि सोही अटोमा चढ्छन्। 

उनीहरू नैनादेवी मन्दिर, चक्मेली बजार, शिवनगरको बाटो हुँदै गइरहेका थिए। त्यही बेला राजेन्द्रले कुलदीपसँग अटो भाडा माग्छन्। तर कुलदीपले दिन मानेनन्।

शिवनगर–जाई सडकखण्डका कल्भर्टनजिक पुगेपछि त भाडाकै विषयमा कुलदीप, राजेन्द्र र भूपेन्द्रबीच झगडा हुन्छ। त्यस क्रममा कुलदीप सडकबाट नालीमा खस्छन्।

भूपेन्द्रले अटोमा रहेको काठको टुक्रा निकालेर कुलदीपलाई हान्छन्, उनको मृत्यु हुन्छ।

‘भाडाको विषयमा झगडा हुँदा नेपाली लोग भनेर गालीगलौज गर्न थालेपछि काठ प्रहार गरेका थियौं’, अभियुक्तको बयान उधृृत गर्दै डीएसपी जोशीले भने, ‘मदिरा सेवन गरेकाले रिसको आवेगमा काठ प्रहार गर्दा घाइते भयो भनेर छोडेका थियौं। मृत्यु नै भएछ।’

प्रहरीका अनुसार उनीहरूविरुद्ध ज्यानसम्बन्धी कसुरमा मुद्दा दर्ता गरेर थप अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .