कपिलवस्तुको विजयनगर गाउँपालिकास्थित एक विद्यालयमा विद्यार्थीबीचको विवादले उग्र रुप लिँदा झडप भएको छ।
जिल्लाको विजयनगर गाउँपालिका १ गुगैलीमा रहेको दुधाधारी नमुना माविमा भएको झडपमा एक दर्जन प्रहरी र केही विद्यार्थी घाइते भएका छन्।
गत बुधबार विद्यार्थीबीच पेनले घोचेको विषयमा विवाद सुरु भएको थियो। त्यही विषयमा आज विद्यालयको कक्षा १० मा अध्ययन गर्ने विद्यार्थीको एउटा समूहले अर्को समूहलाई कुटपिट गरेपछि विवादले उग्र रुप लिएको हो।
कुटपिटमा पर्नेले बाहिरका मान्छे ल्याएर अर्को पक्षलाई कुटपिट गर्यो। पछि गाउँले आएपछि झडप सुरु भएको विद्यालयका प्रधानाध्यापक सुग्रीपप्रसाद कोरीले बताए।
‘मैले सुरक्षाको लागि एउटा समूहलाई भित्र बसालेको थिएँ। आक्रोशित समूह गेट भन्दा अर्को पट्टीबाट आएर तोडफोड गर्न थाले’ उनले भने, ‘विद्यालयले नै मिलाउन सक्ने विषय विवाद थियो। बाहिरी मान्छे आउँदा विकराल रुप लियो।’
तोडफोड र झडप हुन थालेपछि विद्यालयले प्रहरी बोलायो। गाउँलेहरुले ढुंगामुढा गर्दा ११ जना प्रहरी घाइते भएको कपिलवस्तुका प्रहरी प्रवक्ता डीएसपी धर्मराज भण्डारीले बताए।
‘हाम्रा ८ जना, सशस्त्र तर्फका ३ जना घाइते भएका छन्’ उनले भने, ‘विद्यार्थी तर्फ पनि केही घाइते भएका छन्।’
झडपलाई नियन्त्रणमा लिन प्रहरीले केही सेल अश्रु ग्यास समेत प्रहार गरेको थियो। घटनापछि ४ जनालाई पक्राउ गरिएको डीएसपी भण्डारीले बताए।
Shares
प्रतिक्रिया