ad ad

समाज


दार्चुला घटनाको ८ महिना : जयसिंहले पाएनन् न्याय, परिवारको बिचल्ली

दार्चुला घटनाको ८ महिना : जयसिंहले पाएनन् न्याय, परिवारको बिचल्ली

गोकुल जोशी
चैत ९, २०७८ बुधबार २०:४७, काठमाडौँ

भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले तुइन काट्दा गत साउन १५ गते दार्चुलाको व्याँस गाउँपालिका–२ मालगाउँका ३३ वर्षीय जयसिंह धामी महाकालीमा बेपत्ता भएका थिए। 

गृह मन्त्रालयका सहसचिव जनार्दन गौतम नेतृत्वको  समितिले एसएसबीको उपस्थितिमा घटना भएको निष्कर्षसहित गृहमन्त्रालयलाई प्रतिवेदन बुझायो। तर घटना भएको आठ महिना पुग्नै लाग्दा पनि दोषीलाई कारबाही हुन सकेको छैन। 

जयसिंह धामीको परिवार अहिले पनि न्यायको पखाईमा छ। जयसिंहकी श्रीमती राजन्ती न्यायको माग गर्दै दार्चुला सदरमुकाम खलंगा आएकी छिन्।

बुधबार दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायलाई ज्ञापन पत्र बुझाउँदै राजन्तीले न्यायको माग गरेकी छन्।

‘घटना भएको यतिका समय भइसक्दा पनि दोषीलाई कारबाही भएको छैन। सत्यतथ्य बाहिर ल्याएर दोषीलाई कारबाहीको दायरामा ल्याउनुपर्यो,’ उनी भन्छिन्, ‘न्यायका लागि कतिन्जेल पर्खनु पर्ने हो?’ 

एसएसबीले तुइन काट्दा अभिभावक गुमाएको धामी परिवार अहिले बिचल्लीमा परेको छ। घरमा वृद्ध आमाबुवा, श्रीमती र दुई नाबालक छोराछोरी छन्। 

‘खान लाउन समेत समस्या छ। गाउँमा जग्गा पनि छैन। के गरेर खाने समस्यामा छु। सरकारले सानै भए पनि केही रोजगारी दिए हुन्थ्यो,’ उनले भनिन्, ‘सरकारले दिएको राहत ऋण तिर्नमै ठिक्क भयो।’

स्थानीय सरकारले छोराछोरीको लालनपालन र शिक्षाको व्यवस्था गर्ने भनेर दिएको आश्वासन आश्वासनमै सीमित भएको उनको गुनासो छ। 

‘छोराछोरीको लालनपालन र शिक्षाको व्यवस्था गरिदिने आश्वासन स्थानीय सरकारले दिएको थियो,’ उनी भन्छिन्, ‘मलाई पनि रोजगारी दिने भनिएको थियो। तर ती कुनै कुरा व्यवहारमा लागू नहुँदा पीडा झनै बढेको छ।’

शैक्षिक योग्यतामा एसएलसी उत्तीर्ण गरेकी राजन्तीले नेपाल प्रहरीको भान्सेको विज्ञापनमा फारम भरेकी छिन्।  

‘अन्य केही सीप छैन। श्रीमान कमाउने छँदा उहाँमै परिवार निर्भर थियो। अब के गरेर खाने?’ उनले भनिन्, ‘बालबालिकाको पालन पोषणका लागि भए पनि प्रहरीको भान्सेमा समेत सरकारले जागीर दिए हुने थियो। नभए बालबालिकाको पढाइ लेखाइ र घरखर्च चलाउन धौधौ छ।’

संघ सरकारले धामीको परिवारलाई राहतबापत १० लाख रुपैयाँ उपलब्ध गराएको छ। गाउँपालिकाले किरिया खर्चबापत २५ हजार उपलब्ध गरायो। तर, बालबालिकाको लालनपालन र शिक्षाको लागि स्थानीय सरकारले आश्वासन मात्रै दिएको धामी परिवारको गुनासो छ।

‘छोराछोरीको लालनपालन, शिक्षाको व्यवस्था गर्ने आश्वासन मात्रै दिए’ जयसिंहका भाइ नरेन्द्र भन्छन्, ‘अहिले सोध्दा गर्छौं, गर्छौं मात्रै भन्छन्।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .