ad ad

समाज


नेपालीलाई आफ्नै भूमिमा व्यापार गर्न एसएसबीको अवरोध

नेपालीलाई आफ्नै भूमिमा व्यापार गर्न एसएसबीको अवरोध

गोकुल जोशी
चैत ११, २०७८ शुक्रबार १६:२१, काठमाडौँ

कञ्चनपुरस्थित नेपाल–भारत सीमा नजिक पर्ने नेपाली भूभागमा भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले व्यापारमा अवरोध सृजना गरेको छ।

भीमदत्त नगरपालिका–९ ब्रह्मदेव बजार नजिक स्थानीयले व्यापारका लागि छाप्रो राख्न खोजेपछि भारतीय पक्षले अवरोध गरेको हो।

ब्रह्मदेव बजार नजिक नेपाली भूमिमा एसएसबीले व्यापारका लागि पसल राख्न नदिएको स्थानीय हरिश पन्तले बताए।

‘पूर्णागिरी मेलालाई मध्यनजर गर्दै त्रिपाल थापेर पसल राख्न खोजिएको थियो। तर एसएसबीले आफ्नै भूमिमा पनि पसल राख्न दिएन,’ उनले भने, ‘विगतमा मेलाको अवसरमा पसल राख्ने गरिन्थ्यो। यस पटक एसएसबीले अवरोध गर्यो।’

भारतीय पक्षले त्यस क्षेत्रमा सीमा स्तम्भ हराएको भन्दै केही काम गर्न नदिएको भीमदत्त नगरपालिका–९ अध्यक्ष राम नाथ बताउँछन्। 

‘स्तम्भ एकीन नभएकाले हामीले पनि केही काम गर्दैनौँ। तपाईंहरु पनि अहिले केही काम नगर्नूहोस् भनेका छन्,’ उनले भने।

वडाध्यक्ष नाथका अनुसार त्यही कारणले भारतीय पक्षले सो क्षेत्रमा सडक कालोपत्रे गर्नमा पनि अवरोध सृजना गरेको छ।

‘नगरपालिकाले दुई वर्ष अगाडि सडक कालोपत्रे गर्न टेन्डर खोलेर काम गर्ने तयारी गरेको थियो,’ उनले भने, ‘तर भारतीय पक्षको अवरोधले सडक कालोपत्रे हुन सकेको छैन।’

ब्रह्मदेव नजिक भारतीय पक्षले स्थानीयलाई व्यापार गर्नमा अवरोध गरेपछि शुक्रबार सहायक प्रमुख जिल्ला अधिकारी असोक कुमार भण्डारी तथा सुरक्षा निकायका प्रमुख त्यहाँ पुगेका थिए। 

यद्यपी, सहायक प्रमुख जिल्ला अधिकारी भण्डारीले ब्रह्मदेवमा केही विवाद नभएको जिकिर गरे। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .