‘रामबहादुरले किताब ल्यायो, पूर्णविराम।’ पढाइरहेकी शिक्षिकाले सबैलाई यही वाक्य लेख्न अह्राइन्।
सबैले फटाफट लेखिसिध्याए र बुझाए। तर, सिन्धुपाल्चोकको मेलम्चीबाट पहिलो पटक काठमाडौँ आएर भर्खरै स्कुल भर्ना भएका चक्रराज पाण्डेले लेख्न जानेनन्। उनलाई पूर्णविराम, अर्धविराम, उद्धरण र प्रश्नचिन्ह कस्तो हुन्छ, थाहा थिएन। त्यसैले शिक्षिकाले भनेझैँ ‘रामबहादुरले किताब ल्यायो पूर्णविराम’ लेखेर बुझाए।
सबै साथीहरूको मिल्यो तर उनले लेखेको वाक्य मिलेन।
कक्षा २ मा भर्ना भएका उनलाई पूर्णविराम (।) नजानेको कारण कक्षाबाट निकालियो।
गाउँमा उनी जान्ने विद्यार्थीमा गनिन्थे। उनलाई आफूमाथि गर्व थियो। काका र बाबा समेत उनको पढाइप्रतिको मोहले निकै खुसी र उनको भविष्यप्रति आशावादी थिए।
तर, काठमाडौँको स्कुलमा सरेपछि उनी नजान्ने विद्यार्थी ठहरिए।
‘शिक्षिका सावित्री श्रेष्ठले कक्षाकोठामा पढाउँदै हुनुहुन्थ्यो। यो काम उहाँले नै अह्राउनु भएको थियो,’ पाण्डे सम्झिन्छन्।
कक्षाबाट निकालिएपछि सबै साथीले खाजा खाँदा उनले खान पाएनन्।
त्यसलगत्तै उनलाई कक्षा १ मा झारियो। बाल्यकालको त्यो घटना नमिठो सम्झना बनेर उनको मनको कुनै कुनामा अझै लुकिबसेको छ। उनलाई अहिले पनि लाग्छ– जीवनको पहिलो र अन्तिम हार सायद त्यही हुनेछ।
त्यो समय केही निराशा त पक्कै थपियो, तर उनी डगमगाएनन्। बरु झन् बलियो बने।
कक्षा १ मा घटुवा भएपछि उनले इख राखेर निकै मेहनतसाथ पढे र दोस्रो स्थान ल्याएर उत्तीर्ण भए।
सिन्धुपाल्चोकको मेलम्चीमा सामान्य किसान परिवारमा जन्मिएका थिए पाण्डे। बुबाआमासँगै खेतबारीमा कुटो–कोदालो गर्दै उनी हुर्किए। बुबाआमाले पढेका थिएनन्। तर, उनका काकाले पढेका थिए। काकासँगै मेलम्चीबाट झोलामा लुगा बोकेर एकदिन उनी काठमाडौँ हान्निए।
काका ठाकुरप्रसाद पाण्डेले उनलाई कीर्तिपुरस्थित ल्याबरोटरी स्कुलमा २५ रुपैयाँ तिरेर भर्ना गरिदिए।
‘सरकारी जागिरे बनेर काका काठमाडौँमा बसेकै कारण राम्रो शिक्षाको अवसर पाइयो,’ उनी भन्छन्।
कक्षा चारसम्म ल्याबरोटरी स्कुलमा पढे। तर, त्यसपछि स्कुलको शुल्क तिर्न सकेनन्। अनि उनी विजय स्मारक स्कुलमा भर्ना भए। आर्थिक अभावका कारण चाहेको स्कुल पढ्न नपाएको पीडा उनले महसुस गरे।
‘अभावको सिकाइ महत्वपूर्ण रह्यो,’ पाण्डे भन्छन्।
पढाइमा उत्कृष्ट उनलाई एक वर्षपछि फेरि ल्याबरोटरी स्कुलले बोलायो। उनी फर्केर छात्रवृत्तिमा पढ्न थाले। कक्षा ६ देखि १० सम्म त्यहीँ पढे।
‘सबैभन्दा ठूलो कुरा मेहनत रहेछ, पैसा मात्रै सबथोक होइन रहेछ,’ उनी भन्छन्।
कक्षा ६ पढ्दा उनी क्लास क्याप्टेन बने।
‘बच्चा नै भए पनि जिम्मेवार थिएँ,’ उनी भन्छन्, ‘साथीहरू स्कुलबाट नभागून्, राम्रोसँग पढून् भन्ने लाग्थ्यो। तर कतिपयले पढ्न इच्छा गर्दैनथे।’
उनलाई अहिले पनि याद छ– दिउँसो खाजा खाने समयमा भाग्न खोजेका कत्ति साथीलाई समातेर रोकेको।
‘विद्यार्थी सबै उस्तै पढाइमा रुचि भएका थिएनन्। कतिजनाले त ७ कक्षामा पढ्दाताका चुरोट खान्थे,’ उनी भन्छन्, ‘यस्तो देख्दा उनीहरूलाई कन्ट्रोल गर्नुपर्छ भन्ने लाग्थ्यो। तर त्यस्ता साथीले मलाई नै रिस गर्थे।’
सहपाठी रमेश खरेल
कक्षा ७ पढ्दै गर्दा पाण्डेको भेट रमेश खरेलसँग भयो। खरेल बर्माबाट आएका थिए। उनीहरु मिल्ने साथी बने। सँगै बसेर पढ्थे। पदम न्यौपाने उस्तै मिल्ने साथी थिए। न्यौपानेको घरमा जाने, खाजा खाने, उनलाई आफ्नोमा ल्याउने चलिरहन्थ्यो। उनीहरु एउटै बेन्चमा बस्थे।
अतिरिक्त क्रियाकलापमा भाग लिनेको संख्या कमै हुन्थ्यो। स्कुलमा हुने सिर्जनात्मक कार्यक्रममा पाण्डे नै बढी सहभागी हुन्थे। तर, उनीहरुको मुख्य ध्यान पढाइमै केन्द्रित हुन्थ्यो। साथीसँग घुमेर समय बिताएको खासै सम्झना छैन।
‘मेरा केही कमजोर पक्ष पनि थिए। कयौँ पटक साथीहरूसँग खोलामा पौडी खेल्न गएको छु,’ पाण्डे भन्छन्, ‘त्यो बदमासी थियो। कसोकसो नदीमा बगिएन।’
खरेल पछि गएर डीआईजी भए। उनी नेपालको राष्ट्रिय भलिबल टोलीका पूर्व कप्तान समेत भए।
पाण्डेसँगै पढेका सबै साथीहरू एकदम तेज थिए। धेरै त उनीजस्तै डाक्टर बने। तर, उनीहरु नेपाल बसेनन्। धेरैजसो विदेश गए, उतै पढे, उतै बसे।
घडी हराउँदा
बानेश्वरको बसाइ, स्कुल कीर्तिपुरमा। उनी बिहानै उठेर पूजापाठ गर्थे। त्यसपछि दूध किन्न जान्थे। उतिबेला दूध पाउन सहज थिएन। दूध किन्नेहरुको लामो लाइन लाग्थ्यो।
एक दिन लाइनमा बसिराख्दा ठेलमेलमा उनको घडी हरायो। एक जना अंकलले उपहार दिएका थिए त्यो घडी।
‘साह्रै राम्रो घडी थियो। निकै जतन गरेर राख्थेँ,’ उनी सम्झिन्छन्, ‘हात धुँदा घडीमा पानी पस्ला भनेर पहिले नै खोलेर राख्थेँ। त्यति मायाले राखेको चिज हराउदा निकै दुःख लाग्यो।’
गृहकार्य भ्याउनु, पूजापाठ सक्नु, दूधको लाइनमा बस्नु, बजार गएर तरकारी ल्याउनु, यो उनको बिहानको दैनिकी थियो। यति गरेर हतारहतार बसस्टप गएर कीर्तिपुरको बस चढ्थे। उनलाई भ्याइनभ्याइ हुन्थ्यो।
घरमा सबैको विश्वासपात्र थिए उनी। काकाका छोराछोरी पनि थिए। तर, काकीले उनलाई नै विश्वास गरेर पैसा दिएर किनमेलमा पठाउँथिन्। त्यो व्यस्त बाल्यकालले उनलाई समयको व्यवस्थापन गर्न मात्र होइन, आफ्नै खुट्टामा उभिन पनि सिकायो।
‘मान्छेलाई खुसी बनाउन जानेको थिएँ,’ उनी भन्छन्, ‘बच्चा नै भए पनि म परिपक्व थिएँजस्तो लाग्छ। जिम्मेवार थिएँ।’
कान्छो सन्तानका रुपमा जन्मिएका उनले बुढा भइसकेका बुबाआमा देखे।
उनी भन्छन्, ‘आमाले ४१ वर्षको उमेरमा मलाई जन्माउनु भएको थियोे रे।’
उनी जन्मिँदा झाडापखाला र टाइफाइडका कारण उनका दुई दाजुको मृत्यु भइसकेको थियो। बाँकी तीन दिदी छन्।
त्यो बेला काकाहरुले कुरा गर्थे– गाउँमा राम्रो डाक्टर भइदिएको भए यस्तो हुँदैनथ्यो।
बिस्तारै उनमा पनि डाक्टर बन्ने रहर पलाउँदै गयो। दुर्घटनाहरु नजिकबाट देख्दा पनि उनी आफू डाक्टर बनेको कल्पिन्थे।
उसो त त्यतिबेला पढेपछि डाक्टर र इन्जिनियर मात्रै विकल्प थियो। ‘तिमी के बन्छौ’ भनेर कसैले सोध्दा उनको जवाफ हुन्थ्यो, ‘डाक्टर बन्छु।’
‘मैले विस्तारै म्याडम क्युरी, भारतका प्रथम राष्ट्रपति राजेन्द्र प्रसादको मेहनत र सफलता, मदर टेरेसा, महात्मा गान्धीका संघर्ष र सफलताका विषयमा पढ्न र खोज्न थालेको थिएँ,’ उनी सम्झिन्छन्।
बोर्डमा छैटौँ
काठमाडौँबाट बेलाबेला उनी घर गइरहन्थे। गाउँको पातलो बस्ती, सुन्दर जंगल, सहरको भन्दा भिन्न दैनिकी। धेरै कुराले गाउँ रमाइलो लाग्थ्यो उनलाई।
आमासँग घाँस काट्ने, गोबर सोहोर्ने, बारीमा गएर घाँस काट्ने, खोले बनाएर वस्तुभाउलाई खुवाउने काम गर्न मजा मान्थे।
काठमाडौँबाट घर फर्केपछि लामो समय उतै बस्न मन लाग्थ्यो उनलाई। तर, आमाबुबाको खटाइ र दुःख देख्दा धेरै पढेर राम्रो जागिर खानुपर्छ भन्ने सोच आउँथ्यो र उनी फेरि काठमाडौँ फर्किन्थे।
१९८० सालमा उनले एसएलसी पास गरे। जसमा उनी बोर्डको छैटौँ स्थानमा आएका थिए।
त्यसपछि आईएस्सी अमृत साइन्स कलेजमा पढे। पहिलो वर्ष राम्रो अंक ल्याएर पास भएका उनी दोस्रो वर्षमा भने फेल भएको नतिजा सार्वजनिक भयो। उनलाई त्यो नतिजामा विश्वास भएन। सोचे– कसैले गल्ती गर्यो। उनले बोर्डमा निवेदन दिए। उत्तरपुस्तिका पुनः जाँच भयो। ३ महिनापछि फेरि आएको नतिजामा उनी पास भएका थिए।
‘नम्बर जोड्न बिर्सेको भएर फेल भएछु। पछि नतिजा राम्रो आयो,’ उनले भने।
टर्कीमा डाक्टरी
दुई वर्षको कोर्स भए पनि २०३६ सालको आन्दोलनका कारण झण्डै चार वर्ष लगाएर उनले आईएस्सी पास गरे।
आईएस्सीपछि उनले टर्की र चीनको बेइजिङ युनिभर्सिटीमा छात्रवृत्तिका लागि आवेदन दिए। दुवै ठाउँमा छानिए। चीनलाई छाडेर उनी २०४१ सालमा एमबीबीएस पढ्न टर्की गए।
टर्की पढ्न गएको पाँचौँ वर्षमा उनको बुबाको देहान्त भयो। उनी फर्केर आए।
त्यो बेला डाक्टर भइसके पनि काम पाउन मुस्किल थियो। लामो समय वीर अस्पतालमा स्वयंसेवा गरे।
‘क्लिनिकमा बिरामी जाँच्न र जाँचेबापत ५० रुपैयाँ पाउन थालेको पनि भर्खरै जस्तो लाग्छ,’ उनी भन्छन्।
उनी फेरि रेजिडेन्सीको लागि टर्की गए। हाडजोर्नी विशेषज्ञताको लागि पढाइ सुरु भयो। उनी पढ्न गएकै बेला यता आमाको निधन भयो।
एमडी गरिसकेपछि फेरि उनी नेपाल फर्किए। अनि हाडजोर्नी विशेषज्ञको रुपमा काम गर्न थाले।
विदेशमा बसेर पढ्न सजिलो नहुने उनको अनुभव छ।
‘अर्काको देशमा धेरैले हेप्छन्. तर सबै उस्तै हुँदैनन्। केही मान्छेहरु राम्रो व्यवहार गर्छन्। राम्रो आँखाले हेर्छन्,’ उनी भन्छन्, ‘सहयोग गर्ने र माया गर्नेहरु पनि भेटिन्छन्।’
पाण्डेलाई उनकी गुरुआमाले भनेकी थिइन्, ‘राम्रा केटाले राम्री केटी बिहे गर्नुपर्छ।’
उनैले पाण्डेको भेट सपनासँग गराइदिइन्। त्यसबेला फ्रान्समा पढिरहेकी सपना बीचमा नेपाल आएकी थिइन्।
भेटघाटपछि पाण्डे टर्की गए। सपना फ्रान्स फर्किइन्। बीचमा दुवै नेपाल आए अनि उनीहरुको विवाह भयो।
त्यसपछि भने चक्रराजसँगै सपनापनि टर्की गइन्। परदेशको दैनिकीमा केही सहजता थपियो। उनलाई अहिले पनि लाग्छ– ‘सपनाजस्तो बुझ्ने श्रीमती बिरलैले पाउँछन्।’
डाक्टरी पेसा अँगालेपछि सफलता मात्र होइन, सन्तुष्टि पनि प्राप्त भएको महसुस उनले गरेका छन्।
भर्खरै उनले आफूलाई कक्षा १ मा पढाएकी शिक्षिका सुनिता गुरुङको घुँडाको अप्रेसन गरे।
‘उहाँले मलाई पढाउनुभएको थियो। अहिले मैले गरेको अप्रेसनपछि उहाँ सहजै हिंड्न सक्नुभयो,’ खुसी हुँदै उनले भने।
अहिले उनी पुरानो बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा कार्यरत छन्।
नेपालको खस्कँदो शैक्षिक गुणस्तर देखेर आफू दुःखी भएको उनी बताउँछन्।
‘विगतमा मान्छेले आफ्नो क्षमताअनुसार चाहेको कुरा पढ्न पाउँथे। सोर्सफोर्स भन्ने कुरा के हो, केही थाहा हुने थिएन। तर अहिले शिक्षा क्षेत्रमा निकै ठूलो बेथिति आयो,’ उनी भन्छन्, ‘क्षमता भएर पनि मान्छेले अवसर पाउँदैनन्। कहिलेकाहीँ लाग्छ, मानवता हराउँदै गएको छ।’
विश्वविद्यालयमा सर्वोत्कृष्ट अंक ल्याएका तर ‘सोर्सफोर्स’ नभएपछि जागिर नपाएका धेरैलाई उनले देखेका छन्।
उनी भन्छन्, ‘आफ्नो क्षमताअनुसार पद र मानसम्मान नपाउँदा बिदेशिनु अथवा मुलुकप्रतिको वितृष्णा बढ्नु स्वाभाविकै हो।’
Shares
प्रतिक्रिया