उपचारका क्रममा एक बिरामीको मृत्यु भएपछि कैलालीको गोदावरी नगरपालिकाको अत्तरियास्थित पद्मा अस्पतालमा तनाव भएको छ।
अस्पतालमा उपचाररत गोदावरी नगरपालिका–३ मालाखेतीका विनोदकुमार बोहराको शनिबार बिहान मृत्यु भएपछि उनका आफन्त आक्रोशित भएका हुन्। डाक्टरको लापरवाहीले बिरामीको मृत्यु भएको भन्दै उनीहरूले अस्पतालमा तोडफोड गरेको प्रहरीले जनाएको छ।
‘डायरिया भएपछि राति अस्पताल आएका रहेछन्। बिहान साढे ४ बजे उपचारका क्रममा बिरामीको मृत्यु भएको हो’, जिल्ला प्रहरी कार्यालय (कैलाली) का डीएसपी वेदप्रकाश जोशीले भने, ‘अस्पतालका डाक्टर लापरवाहीले बिरामीको ज्यान गएको भन्दै आक्रोशित बनेका आफन्तहरुले ढुङ्गामुढा गरेका छन्।’
उनका अनुसार ढुंगामुढाबाट अस्पतालको अगाडिपट्टिको सिसा र एम्बुलेन्समा क्षति पुगेको छ। स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाइ फायर र अश्रुग्यास प्रहार गरेको छ।
‘अहिले स्थिति हाम्रो नियन्त्रणमा छ’, डीएसपी जोशीले नेपालखबरसँग भने, ‘अस्पतालमा बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ।’
Shares
प्रतिक्रिया