ad ad

समाज


अयोध्याबाट जन्ती जनकपुर आइपुग्यो, शुक्रबार राष्ट्रपतिले स्वागत गर्ने

अयोध्याबाट जन्ती जनकपुर आइपुग्यो, शुक्रबार राष्ट्रपतिले स्वागत गर्ने

शैलेन्द्र महतो
मंसिर १२, २०७६ बिहिबार १०:३५,

सीताराम विवाहको लागि अयोध्याबाट साधुशन्तको जन्ती जनकपुर आइपुगेको छ। बालकलाई राम र लक्ष्मणको स्वरुप बनाई झाकी किर्तन गर्दै लावालस्कर सहित भारत उत्तर प्रदेशको अयोध्यबाट बिहीबार जन्ती जनकपुर आइपुगेको हो।

आदर्श नारी सीता र मर्यादा पुरुषोत्वम भगवान रामको विवाहको लागि जन्ती जनकपुर आएको हो। सयौंको संख्यामा आएका जन्तीलाई महोत्तरीको विभिन्न स्थानसहित जनकपुरमा भव्य स्वागत गरिएको छ। दिउँसो झण्डै ३ बजे जनकपुर आइपुगेका जन्तीहरुलाई धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेल, प्रहरी उपरीक्षक शेखर खनाल र सशस्त्र प्रहरी उपरीक्षक राजेश उप्रेती लगायत विभिन्न संघसंस्थाका प्रतिनिधि र समाजसेवाीले स्वागत गरेका छन्।

प्रत्येक ५ वर्षमा एकपटक भारतको अयोध्याबाट विवाहपञ्चमीमा साधुशन्तको जन्ती औपचारिक रुपमा सीता र रामको विवाहको लागि जनकपुर आउने गर्दछ। त्यसै क्रममा यस वर्ष पनि जन्ती आएको हो।

मटिहानी नाका हुँदै नेपाल प्रवेश गरेका जन्तीलाई बुधबार राति महोत्तरीमा भव्य स्वागत गरिएको थियो। मठिहानी मटका मठाधीश जगरनाथ दास वैष्णव, प्रदेश २ का सामाजिक विकास राज्यमन्त्री अभिराम शर्मा, मटिहानी नगरपालिकाका प्रमुख हरि प्रसाद मण्डल, प्रमुख जिल्ला अधिकारी सुर्य बहादुर खत्री, सुरक्षा निकायका प्रमुखहरु तथा मटिहानीका स्थानियहरुले भव्यताका साथ स्वागत गरेका थिए। नेपाली सेनाले समेत व्याण्ड बाजाको विभिन्न धुन बजाई जन्तीलाई स्वागत गरेको थियो।

मटिहानीबाट जनकपुर हिँडेको जन्तीलाई जलेश्वर नगरपालिकाले स्वागत गरेको छ। जनकपुर आइपुगेको जन्तीलाई शुक्रबार बाह्रविघा रंगभूमि मैदानमा राष्ट्रपति विद्यादेवी मण्डारीले स्वागत गर्ने कार्यक्रम रहेको छ।

त्रेतायुगमा भगवान राम र माता सिता मंसिर सुक्ल पञ्चमीको दिन विवाह भएको स्मरणमा जनकपुरमा प्रत्येक वर्ष सीताराम विवाहपञ्चमी महोत्सव मनाइन्छ।

मंसिर १० गतेबाट सुरु भएको सप्ताहव्यापी सीताराम विवाहपञ्चमी महोत्सव १६ गतेसम्म चल्ने छ। गत मंगलबार नगर दर्शन, बुधबार फुलबारी लिला गरिएको थियो भने आज बाह्रविघा मैदानमा धनुष यज्ञ गरिँदै छ। शुक्रबार तिल्कोत्सव, शनिवार मटकोर र आइतबार सीता रामको विवाहको कार्यक्रम रहेको छ। त्यसै गरी सोमबार जन्तीलाई विदाई अर्थात् रामकलेवा गरी विवाहपञ्चमी महोत्सव सम्पन्न हुने छ।

पाँच सय वर्ष पुरानो भारतको अयोध्या स्थित विवादित रामन्दिरको जग्गाको पक्षमा भारतको सर्वोच्च अदालतको फैसला आएपछि यस वर्ष विवाहपञ्चमीमा थप उत्साह देखिएको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .