स्थानीय तहको निर्वाचनको २ दिन अघि बुटवलमा बम विष्फोट गराएको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।
वैशाख २८ गते साँझ बुटवल उपमहानगरपालिका ९ मिलनचोकको आकाशेपुलमा प्रेसरकुकर बम पड्किएको थियो।
बम विष्फोट गराएको आरोपमा बुटवल १३ नयाँ गाउँका कमरेड नेपाल भन्ने सुरेश खनाल, सैनामैना नगरपालिका १ का राज भन्ने फणिन्द्र गरतौला र अशोक भन्ने शुक्रकुमार श्रेष्ठलाई प्रहरीले पक्राउ गरि प्रहरीले बुधबार सार्वजनिक गरेको हो।
उनीहरुको साथबाट २ थान प्रेसरकुकर, बम बनाउन प्रयोग हुने बिजुलीको तार २ पिस, ३ वटा मोटरसाइकल, ६ वटा मोबाइल, पम्प्लेट १२ थान, पर्चा ४० थान बरामद गरेको रुपन्देहीका प्रहरी प्रमुख रविन्द्र रेग्मीले बताए।
बुटवलमा बम विष्फोट हुँदा बी इलाभेन रेष्टुरेन्टको झ्यालको सिसा चर्केको थियो। सोही स्थानको पश्चिमाञ्चल निर्माण सामाग्री केन्द्रको दुई वटा सटरमा प्वाल परेको थियो ।
तर मानवीय क्षति भने भएको थिएन। घटनास्थलमा नेकपा माओवादी लेखिएको पर्चाका टुक्राहरू फेला परेको थियो। पर्चाका टुक्रा, धातुका टुक्राहरू संकलन गरि अनुसन्धान सुरु गरेको थियो।
जेठ १ गते साँझ राजमार्गमा चेकजाँच र खोजतलासको क्रममा उनीहरुलाई पर्चा पम्प्लेट सहित पक्राउ गरेको इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी ठगबहादुर केसीले बताए।
Shares
प्रतिक्रिया