सुन्दरी प्रतियोगितामा भाग लिँदा यौन हिंसामा परेकी किशोरीको घरमा शुक्रबार दिउँसो प्रहरी पुग्दा परिवारजन निराश थिए। किशोरी झनै विक्षिप्त थिइन्।
पहिल्यै जानकारी दिएर प्रहरी पुग्दा पनि उनले खुलेर कुरा गर्न सकिनन्। सुरुमा त उनले भनिन्, ‘मैले सबै कुरा भिडियोमा भनेकी छु, कुरा त्यही हो।’
कन्सल्टेन्सी सञ्चालक मनोज पाण्डेबाट यौन हिंसामा परेकी भनिएकी उनलाई प्रहरीले सम्झाउँदै गयो। पछि उनी केही खुल्दै गइन्।
यसबीचमा उनले पनि आफन्त र कानुन व्यवसायीसँग सल्लाह गरेकी रहिछन्। तर, एक वर्षे हदम्याद नाघेका कारण दोषीलाई सजाय हुने सम्भावना कम रहेको वकिलहरुले भनेपछि उनलाई त्यसले झनै चिन्तित बनाएको रहेछ।
एक वर्षे हदम्याद
मुलुकी अपराध संहिता २०७४ को दफा २२९ मा हदम्याद सम्बन्धी व्यवस्था छ। हाडनाता करणीमा हदम्याद लागु नहुने तर अन्य करणीको हकमा भने कसुर गरेको मितिले एक वर्षभित्र वा कसुर भएको कुरा थाहा पाएको तीन महिना नाघेपछि उजुर नलाग्ने व्यवस्था ऐनमा छ।यही एकवर्षे हदम्यादको प्रावधानका कारण ८ वर्षअघिको पीडकलाई बलात्कारको कसुरमा कारबाही गर्न प्रहरीले विकल्प खोज्नु परेको हो।
किशोरीले भने उजुरी गर्न हदम्यादले छेक्छ भन्ने थाहा नभएको बताएकी छन्। भिडियोमै उनले भनेकी छन्, ‘कोही ढिला बोल्छन्, कोही छिटो बोल्छन्। म ढिलो बोलेँ तर म पीडित हो नि।’
हदम्याद नाघ्यो भन्दैमा पीडकले उन्मुक्ति पाउने अवस्था आउन नदिने एसएसपी कुँवरले बताए।
८ वर्ष अघिको त्यो घटना उनले बल्ल खोलेकी थिइन्। त्यही पनि एक वर्षे हदम्याद कटेकै कारण न्याय पाउने बाटो बन्द भएको सुनेकी उनले प्रहरीसँग त्यही दुखेसो सुनाइन्। तर, प्रहरीले उनलाई सम्झायो, चिन्ता नगर्न भन्यो।
‘हामी तपाईले न्याय पाउने विकल्प खोज्छौँ। चिन्ता नगर्नुस्, अब हामीलाई सहयोग गर्नुस्। हामी पनि कानुनी सल्लाहमै छौं। न्याय पाउने एउटा बाटो बन्द भए पनि सबै बाटो बन्द भएका छैनन्’, प्रहरीले किशोरीलाई भन्यो।
के छ उपाय ?
टोली त्यहाँ जानु पहिले नै प्रहरीले कानुन व्यवसायीसँग परामर्श गरेको थियो। वकिलहरूले पनि प्रहरीलाई विभिन्न विकल्प सुझाएका छन्। ती विकल्प बारे निचोडमा नपुगी उपत्यका अपराध महाशाखाले खोल्न चाहेन।
शुक्रबार बसेको संसद बैठकमा पनि ती किशोरीले न्याय पाउनु पर्ने भन्दै सांसदहरुले सरकारको ध्यानाकर्षण गराएका छन्। सभामुख अग्निप्रसाद सापकोटाले लगत्तै रुलिङसमेत गरे।
त्यसअघि प्रधानमन्त्री निवास बालुवाटार अगाडि शुक्रबार बिहान दोषीलाई कारवाहीको माग गर्दै स्वतस्फूर्त प्रदर्शन भएको थियो।
प्रदर्शनमा सहभागीहरुले दोषीमाथि कारवाही गर्न र बलात्कारसम्बन्धी मुद्दामा हदम्याद नलाग्ने व्यवस्था गर्न माग गरेका छन्। उनीहरुले यौन हिंसामा परेकी किशोरीलाई जसरी पनि न्याय दिलाउन प्रधानमन्त्री शेरबहादुर देउवालाई खबरदारी गरेका छन्।
शनिबार माइतीघरमा पनि पीडितको पक्षमा न्याय माग्दै प्रदर्शन भएको थियो । शनिबार नै बलात्कारको आरोपमा कन्सल्टेन्सी सञ्चालक मनोज पाण्डे पक्राउ परेका छन् ।
चौतर्फी दबाबपछि सरकारले अपराध महाशाखा प्रमुख एसएसपी कुँवरको नेतृत्वमा छानविन समिति बनाएको छ। ५ सदस्यीय समितिमा एसपी कृष्णप्रसाद कोइराला, डीएसपी कोपिला चुँडाल, हरि बस्नेत र प्रहरी निरीक्षक सपना खड्का पनि छन्।
समितिले शुक्रबार बाटै काम सुरु गरेको छ। शुक्रबार अपरान्ह एसपी कोइरालासहितको टोली किशोरीलाई भेटेर फर्किएको छ। अब प्रहरीले अडियोमा किशोरीले भनेका कुरालाई आधार बनाएर अनुसन्धान अगाडि बढाउने एसएसपी कुँवर बताउँछन्।
‘नेपाल प्रहरी यस विषयमा अत्यन्त गम्भीर तथा संवेदनशील छ। अहिले नेपाल प्रहरीबाट पीडित र अभिभावकको सम्पर्कमा रही आवश्यक परामर्श गर्नुका साथै पीडित महिला र घटनाका सम्बन्धमा आवश्यक जानकारी लिने र थप अनुसन्धान कार्य भइरहेको छ’, प्रहरीका केन्द्रीय प्रवक्ता एसएसपी विष्णुकुमार केसीले भने।
Shares
प्रतिक्रिया