आइतबार बिहानदेखि बेपत्ता तारा एयरको विमान फेला परेको छ। यार्सागुम्बा टिप्न गएको ९ जनाको टोलीले विमान फेला पारेको हो।
अहिले घटनास्थलमा तीन जना सुरक्षाकर्मीको टोली पुगेको छ। फिस्टेल एयरमार्फत पुगेको टोलीले अहिले दुर्घटनास्थलमा अनुसन्धानको काम थालेको त्यहीँ रहेका बागलुङका विशाल घर्तीले बताए।
विशालसहित तीन जनाको टोलीले विमान दुर्घटना भएको फेला पारेपछि प्रहरीलाई खबर गरेका थिए। अहिले ८ जना यार्सा टिप्न गएको टोली, १ स्थानीय र ३ जना सुरक्षाकर्मीको टोली घटनास्थलमा छन्।
विशालसहितको टोलीले विमान दुर्घटना भएको आवाज सुनेको आइतबार नै प्रहरीलाई खबर गरेका थिए। उनीहरुको जानकारीकै आधारमा सुरक्षाकर्मीले त्यहाँ दुर्घटना भएको हुन सक्ने अनुमान गरेको थियो। तर, आइतबार दिनभर खोजे पनि विमान फेला परेन।
दुर्घटनाबारे विशालको बयान
अहिले यहाँ विमान दुर्घटनास्थलमा हेलिकप्टर मार्फत एक जना प्रहरी, एक जना सेना र एक जना अर्को सर आउनु भएको छ। हामी ८ जना छौँ। अर्को एक जना स्थानीय पनि आइपुग्नु भएको छ। हामी दुई जना बागलुङका छौं र अरु यतैका स्थानीय हुनुहुन्छ। उहाँहरु पनि यार्सा टिप्न आउनु भएको हो।
आइतबार बिहान हामी यार्सा खोजिरहेका थियौं। बाक्लो कुहिरो लागेको थियो। एक्कासि प्लेन कराउँदै आयो। एकैछिनमा पड्किएको आवाज आयो। त्यसपछि प्लेनको आवाज आएन कता गयो, केही देखिएन।
हामीले प्लेन दुर्घटना भयो कि क्या हो भनेर कुरा पनि ग¥यौँ। तर मौसमका कारण पत्ता लगाउन सक्ने अवस्थै भएन। हामी फेरि यार्सा खोज्न थाल्यौँ।
तर हामीलाई प्लेन दुर्घटना भएको जस्तो लागेको थियो। उडिरहेको प्लेन एकाएक हराउनु र आवाज आउनु एकै पटक भएको थियो।
पछि हामीलाई फोन आयो। हामीले आवाज सुनेको तर नदेखिएको बतायौँ। हामीले अनुमानित स्थानका बारेमा पनि भनेका थियौं। पछि प्लेन दुर्घटनाको कुरा सुनेपछि हामीले यार्सा टिप्न छाडेर विमान खोज्न थालेका थियौं।
तर पानी र बादलका कारण हिजो प्लेन फेला पार्न सकेनौँ। हामीलाई आश थियो कतै घाइते भेटेर उद्धार गर्न सकिन्छ कि भन्ने। तर आइतबार खोज्दाखोज्दै रात पर्यो।
सोमबार बिहान ५ बजे नै उठेर हामी कोही जीवित रहेछन् भने उद्धार गर्न हुन्छ भनेर चिया खाएर प्लेन खोज्न लाग्यौं। झण्डै एक घण्टापछि एउटा डाँडामा डिजेलको गन्ध आयो। अब यहीँ आसपासमै छ भन्ने लाग्यो। २÷३ सय मिटर तल झरेर हेर्दा दुर्घटना भएको देख्यौँ। हामी तीन जना पुगेका थियौं पहिले। अनि अरु साथीहरुलाई पनि बोलायौं।
सानो ढिस्कोमा ठोक्किएर दुर्घटना भएको रहेछ। प्लेन टुक्रा टुक्रा भएको छ। शव चिन्न सकिने अवस्था नै छ। नजिक नजिकै छन् शवहरु। कपडा जले पनि शव धेरै डढेको अवस्था छैन।
अहिले प्रहरी र सेनाले अनुसन्धान गर्दैछ। हेलिकप्टर उहाँहरुलाई छाडेर फर्कियो।
Shares
प्रतिक्रिया