आइतबार बिहान मुस्ताङको थासाङ गाउँपालिका–२ सानोसरेमा दुर्घटनामा परेको तारा एयरको जहाजमा ज्यान गुमाएका २२ जनाकै शव काठमाडौं ल्याइएको छ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरका अनुसार उक्त विमानमा ज्यान गुमाएका दश जनाको शव सोमबार साँझ ल्याइएको थियो।
बाँकी १२ जनाको शव अहिले नेपाली सेनाको एमआई १७ हेलिकप्टरबाट काठमाडौँ ल्याइएको हो।
उनका अनुसार काठमाडौँ ल्याएका शव त्रिवि शिक्षण अस्पतालमा पठाइएको छ।
२२ वटै शवलाई त्रिवि शिक्षण अस्पतालमा पोस्टमार्टम गरेपछि आफन्तको जिम्मा लगाइने नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको निर्देशनमा मन्त्रालयले सोमबार नै विमान दुर्घटनाको छानबिन गर्न दुर्घटना जाँच आयोग समेत गठन गरेको छ।
मन्त्रालयले वरिष्ठ एरोनटिकल इन्जिनियर रतिशचन्द्र लाल सुमन अध्यक्ष रहेको पाँच सदस्यीय दुर्घटना जाँच आयोग गठन गरेको हो।
आयोगको सदस्यहरूमा क्याप्टेन दीपु ज्वार्चन, वरिष्ठ मेन्टिनेन्स इन्जिनियर उपेन्द्रलाल श्रेष्ठ, वरिष्ठ मौसमविद् मणिरत्न शाक्य र मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछाने छन्।
समुन्द्री सतहदेखि चार हजार मिटर उचाइमा रहेको घटनास्थलमा अझै कुहिरो लागिरहेको छ।
मानापाथी हिमालको फेदीमा रहेको पहाडमा जहाज ठोक्किएर टुक्राटुक्रा परेको अवस्थामा सोमबार बिहान फेला परेको थियो।
पोखराबाट आइतबार बिहान ९ : ५५ बजे जोमसोमका लागि उडेको तारा एयरको ९एनएइटी कलसाइनको उक्त विमान बिहान १० : ०७ बजे जोमसोम विमानस्थलको टावरबाट सम्पर्क विच्छेद भएको थियो।
जहाजमा चालक दलका तीनजना क्याप्टेन प्रभाकर घिमिरे सहचालक उत्सव पोख्रेल र परिचालिका किस्मी थापा थिए।
यो जहाजमा नेपाली नागरिक इन्द्रबहादुर गोले, पुरुसोत्म गोले, राजनकुमार गोले, बसन्त लामा, गणेशनारायण श्रेष्ठ, रविना श्रेष्ठ, रश्मी श्रेष्ठ, रोजिना श्रेष्ठ, प्रकाश सुनुवार, मकरबहादुर तमाङ, राममाया तमाङ, सुकमाया तमाङ, तुलसादेवी तामाङ थिए।
यस्तै जहाजमा भारतीय नागरिकमा भाइ भाइ बन्देकर, अशोककुमार त्रिपाठी, धनुश त्रिपाठी, रितिका त्रिपाठी सवार थिए।
जहाज जर्मन नागरिक मेकग्रीफ्ट ग्राफ तथा वइ वइल्नर सवार रहेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ। उनीहरु सबैको शव सोमबार घटनास्थलमा भेटिएको थियो।
Shares
प्रतिक्रिया