गृहमन्त्री बालकृष्ण खाँणले सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिन्टारमा संचालित सि.सं. २ गोताखोर तालिमको जेठ २८ गते एक समारोहबीच समापन गरेका छन्।
गृहमन्त्री खाँणले उक्त तालिममा प्रथम हुन सफल भएका सशस्त्र प्रहरी जवान शिव कोलीलाई पुरस्कार समेत प्रदान गरे।
समारोहमा गृहमन्त्री खाँणले तालिम सफलता पूर्वक सम्पन्न गरी कार्यक्षेत्रमा खटिई जान लागेका सशस्त्र प्रहरी कर्मचारीहरुलाई बधाई दिँदै सशस्त्र प्रहरीले पानीजन्य विपद् उद्दारका लागि तयार गरेको जनशक्ति तथा अन्य विपद् उद्वार कार्य सदैव प्रशंसनीय रहेको बताए।
उनले विपद् व्यवस्थापनका लागि आवश्यक साधन श्रोत, तालिम र सेवा सुविधा बढाउन गृहमन्त्रालय सकारात्मक रहेको बताए।
विपद्को समयमा पूर्व तयारी र विपद् पछि खोजी र उद्दारका लागि सशस्त्र प्रहरी बल सदैव तयारी हालतमा रहन निर्देशन पनि उनले दिए।
गृहमन्त्री खाँणले विपद् जोखिम न्यूनीकरणको लागि सशस्त्र प्रहरी बल नेपाल अब्बल सुरक्षा निकायको रुपमा प्रस्तुत भएको बताउँदै यस्ता कार्यको लागि नेपाल सरकार र गृहमन्त्रालयको तर्फबाट निरन्तर सहयोग र सहजीकरण हुने विश्वास व्यक्त गरे।
उनले विपद् जोखिम न्यूनिकरण तथा आपत् विपदमा परेका नागरिकहरुको उद्वार कार्यमा सशस्त्र प्रहरी बल नेपालको भूमिका उल्लेखनीय रहेको पनि बताए।
गोताखोर जस्तो जोखिम तालिम गराउनको लागि सहयोग पुर्याउने दातृ निकाय, विदेशी प्रशिक्षक, विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरण र सरोकारवाला निकायहरूलाई उनले धन्यवाद दिए।
खाँणले सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याललाई राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणको तर्फबाट उपलब्ध ९७ लाख रुपैयाँ बराबरका विपद् उद्वार सामाग्री पनि हस्तान्तरण गरे।
Shares
प्रतिक्रिया