महोत्तरीमा बोक्सी आरोपमा दुई जना महिलामाथि कुटपिट भएको छ।
महोत्तरी जलेश्वर नगरपालिका ६ धबौलीकी ५३ वर्षीया कालो देवी र ५४ वर्षीया दुलरिया देवीमाथि बोक्सी आरोपमा कुटपिट भएको हो।
स्थानीय रामु राम चमारकी श्रीमती सोमन देवी भन्ने सोमारी देवीसहितले बोक्सीको आरोपमा कुटपिट गरेका हुन्।
भूतप्रेत लगाएको भन्दै बिहीबार बिहान साढे १० बजे सोमनदेवी समेतले चुल्ठो समातेर, हात, लात्ती र लाठीले कुटपिट गरी घाइते बनाएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका सूचना अधिकारी प्रहरी निरीक्षक सरोज राईले बताए।
कुटपिटबाट घाइते भएकी कालो देवी जनकपुरस्थित जानकी हेल्थकेयरमा उपचार गरेर घर फर्केकी छन्।
कुटपिट गरेको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ। अन्य व्यक्तिहरु फरार छन्।
पक्राउ पर्नेमा स्थानीय २८ वर्षीया सोमारी देवी र ४५ वर्षीय भुलन राम चमार रहेको प्रहरी निरीक्षक राईले बताए।
पीडित कालो देवीका छोरा अमित महतो र दुलरिया देवीका नाती रामजीवन रामले कुटपिट गर्नेविरुद्ध दिएको जाहेरीका आधारमा दुवैलाई पक्राउ गरिएको हो।
उनीहरुमाथि 'बोक्सीको आरोप लगाई कुटपिट गरि ज्यान मार्ने उद्योग' शीर्षकमा मुद्दा दर्ता गरिएको छ।
कुटपिटमा संलग्न रहेर फरार थप आरोपीहरुको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ।
Shares
प्रतिक्रिया