करिब एक दशकअघिसम्म काठमाडौंको माइतीघर भन्दा बढ्ता परिचित थियो खुल्लामञ्च। सभा, विरोध र धर्नाका सबै कार्यक्रम खुल्लामञ्चमा हुने गर्थे। जनआन्दोलनदेखि पहिचानका आन्दोलनसम्म हजारौं मानिस यहाँ जम्मा हुन्थे।
मानव सागर ओर्लने त्यही खुल्लामञ्च अहिले कंक्रिट, हिलो, पानी, घाँस र माटोको थुप्रोले भरिएको छ। राजनीतिक पार्टीका नेताहरुले लोकतन्त्र आएपछि खुल्लामञ्चलाई पूरै बिर्सिए।
अब खुल्लामञ्चलाई पुरानै रुपमा फर्काउने जिम्मेवारी काठमाडौंका मेयर बालेन्द्र शाहको काँधमा आएको छ।
खुल्लामञ्चलाई खाली बनाउन ‘अकुपाई टुँडिखेल’ को नारा दिएर ०७६ मै आन्दोलन भए पनि मागको सुनुवाइ भएन। यसबीचमा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई, पूर्वमन्त्री भीमसेनदास प्रधान, गगन थापा, काठमाडौं महानगरपालिकाकी उपप्रमुख हरिप्रभा खड्गीले समेत खुल्लामञ्च खाली गराउनुपर्ने बताउँदै आए।
एक वर्षअघि ठूलो लफडापछि खुल्लामञ्चभित्रको बसपार्क हटाएर यातायातमा ‘पिक एन्ड ड्रप सिस्टम’ लागू भएको थियो। काठमाडौं महानगरपालिकाले खुल्लामञ्चमा बनेका संरचना पनि गतसाल नै हटाइसकेको छ।
महानगरले बसपार्कको कुनामा रहेका सटर र अस्थायी बसपार्कको कंक्रिटमा डोजर चलायो। तर, पसल र काउन्टर हटे पनि त्यसका लागि बनाएका कंक्रिट संरचना अझैसम्म पन्छाइएका छैनन्।
२०७२ सालको भूकम्पछि दरबार हाइस्कुलमा क्षति भयो। त्यसको पुनर्निर्माण गर्दा खुल्लामञ्चको एक भागमा निर्माण सामग्री राखेसँगै कामदार बस्नका लागि ढलान गरी विभिन्न संरचनाहरु बने।
अहिले निर्माण सामग्री र संरचना हटे पनि दरबार हाइस्कुलले प्रयोग गरेको ठाउँमा ढलान यथावत छ।
बसपार्क भएको ठाउँको पिच महानगरको डोजरले भत्काए पनि हाइस्कुलले प्रयोग गरेको ठाउँ भत्किएको छैन। त्यहाँ अस्थाई शौचालय रहेको छ जहाँ फोहोर र डुंगडुङी गनाउँछ।
महानगरले नेपाल विद्युत प्राधिकरणतर्फ रहेको सार्वजनिक शौचालयसहित रेष्टुरेन्ट र केही पसल भएको छाप्रो पनि हटाएको छ, जहाँ महानगरले ठेक्का दिएर भाडा उठाउने गरेको थियो।
उक्त छाप्रोमा करिब एक दशक जुत्ताको व्यापार गर्दै आएकी हेटौडाकी एक व्यापारीले अहिले बाटोमा फलफुल विक्री गर्छिन्। उनी भन्छिन्, ‘१०–१२ वर्षदेखि यही क्षेत्रमा व्यापार गर्दै आएकी छु । छाप्रोमा जुत्ताको व्यापार गर्थेँ, अहिले हटाइदिएपछि फलफूल विक्री गर्न थालेँ।’
उनले आफूहरुलाई हटाए पनि अहिले खुल्लामञ्चका सबै गेट बन्द रहने गरेको सुनाइन्।
काठमाडौं महानगरपालिकाले खुल्लामञ्च खाली गरेपछि केही समय पार्किङका रुपमा प्रयोग भएको थियो। अहिले महानगरले सबै गेटमा ताला लगाएर कसैलाई जान दिँदैन। महानगरको अनुमति लिएर त्यहाँ कार्यक्रम गर्न भने रोक छैन।
मगर समुदायले मनाउने मौलिक चार्डको रुपमा रहेको भुमे खुल्लामञ्चको एउटा भागमा हुँदैछ। अरु जनजातिले लोसार मनाएजस्तै मगरले भुमे मनाउँछन्।
‘काठमाडौं महानगरसँग अनुमति लिएर ३ दिनको भुमे मनाउँदैछौं,’ मंगरबार टेन्ट हाल्न झार उखेल्दै गरेका एक जनाले भने,‘महानगरले शुल्क लिएन, सित्तैमा अनुमति दियो।’
खुल्लामञ्च खाली गराएपछि तत्कालीन काठमाडौं महानगर नेतृत्वले माइतीघरमा होइन, अब खुल्ला मञ्चमा आएर विरोध सभा गर्नुपर्ने बताएको थियो।
‘अब खुल्लामञ्चमै गएर पनि विरोध जनाउन सकिन्छ। त्यहाँ सफा गरिसकेका छौँ,’ तत्कालिन उपमेयर हरिप्रभा खड्कीले खुल्लामञ्च खालि भएपछि नेपालखबरसँग भनेकी थिइन्,‘जहाँ पायो त्यही विरोध र जुलुस निकाल्दा ट्राफिक व्यवस्थापनमा अप्ठेरो हुने गरेको छ।’
तर, अहिलेसम्म खुल्लामञ्च राम्रोसँग खाली हुन सकेको छैन। महानगरले एक वर्षअघि नै खाली गराएको बताए पनि कंक्रिट, हिलो, फोहोर र झारका कारण कार्यक्रम गर्न सक्ने अवस्था छैन।
आधुनिक स्वरुपपछि खुल्लामञ्च सञ्चालन हुन्छ : महानगर
काठमाडौं महानगरपालिकाले अहिलेकै अवस्थामा खुल्लामञ्च खुल्ला नगर्ने तर, आधुनिक स्वरुप दिएपछि सञ्चालन गर्ने बताएको छ।
महानगर पूर्वाधार प्रमुख राम थापाले खुल्लामञ्चलाई कसरी प्रयोग गर्ने विषयमा महानगरले नयाँ योजना बनाएको बताए।
‘नयाँ मेयर आएपछि खुल्लामञ्चलाई आधुनिक स्वरुपमा विकास गर्ने योजना ल्याउनुभएको छ,’ थापाले भने,‘तल २ तल्ला पार्किङ बनाउने माथि खुल्ला मञ्चकै स्वरुपमा राख्ने तयारी भैरहेको छ।’
उनका अनुसार काठमाडौं महानगरले अहिलेको मञ्चलाई आधुनिक बनाउने गरी योजना बनाउँदै छ।
‘महानगरले ल्याउँदै गरेको नीति तथा कार्यक्रम र बजेटमै खुल्लामञ्चलाई कसरी व्यवस्थापन गर्ने विषय पर्छ,’ उनले भने,‘बजेटपछि आगामी आर्थिक वर्षमै डीपीआर तयार बनाई अघि बढ्छौं।’
न्युरोड, वीर अस्पताल क्षेत्रमा पार्किङको ठूलो समस्या भएकाले खुल्ला मञ्चलाई बहुउद्देश्यीय बनाउने तयारीमा लागेको छ महानगर। अहिलेको मञ्च व्यवस्थित नभएकाले त्यसलाई पनि राम्रो बनाउन नयाँ योजना बनाउन लागेको थापाले बताए।
उनले आगामी साउनदेखि नै कार्यान्वयन हुनेगरी नयाँ स्वरुपको खुल्ला मञ्च बन्ने बताए।
Shares
प्रतिक्रिया