ad ad

समाज


भालु आतंक रोक्न प्रहरी परिचालित

भालु आतंक रोक्न प्रहरी परिचालित

ज्ञानेन्द्र न्यौपाने
मंसिर १९, २०७६ बिहिबार १४:६,

जंगली भालुको आतंक बढ्दै गएपछि जीउज्यानको सुरक्षाका लागि सम्भावित क्षेत्रमा प्रहरी गस्ती परिचालन गरिएको छ। जिल्ला प्रहरी प्रमुख भाग्येन्द्रपुरूष ढकालका अनुसार जंगली भालुले घरघरमा पसी गाउँ समाजमा त्रसित पार्नाका साथै केही स्थानमा आक्रमणसमेत गरेकाले थप सुरक्षा संयन्त्र परिचालन गरिएको हो।

नागरिकलाई भयरहित वातावरण सिर्जना गर्न मानिस हिँड्ने पैदलमार्गअन्तर्गत भालु आउने सम्भावित गौंडामा प्रहरी गस्तीसमेत व्यवस्थापन गरिएको बताइएको छ।

हिमाली भेकमा चिसोपन बढिसकेकाले न्यानो स्थान खोज्दै जंगली भालु बेंसीतर्फ झर्ने समय भएका कारण बिहान बेलुका एक्लैदुक्लै यात्रा नगर्न प्रहरीले आग्रह गरेको छ।

कुनै समय यात्रा गर्नु पर्दा थप सुरक्षा चाहिएमा जिल्ला प्रहरी कार्यालय रसुवाको शुल्क नलाग्ने फोन १०० वा ०१० ५४०१९९ मा खबर गरी पूर्ण सुरक्षित तवरले यात्रा गर्न गराउन समुदायमाझ आग्रह गरिएको प्रहरी प्रमुख ढकालले बताए।

चालू आर्थिक वर्षको साउनदेखि हालसम्म भालुको आक्रमणबाट पाँच जना घाइते भएको तथा त्यसले बृद्धिम तथा खाम्जिम गाउँका चार घरभित्र प्रवेश गरी खाद्य सामग्री नष्ट बनाइसकेको बताइएको छ।
भालुको आक्रमणबाट सशस्त्र प्रहरीका दुई, हाकु लुम्वुडाँडाकी एक वृद्धा, धुञ्चे भिमलीका एक पुरूष र पारच्याङमा एक घाइते भइसकेका छन्। हाकुको लुम्बुडाँडामा घरमा पालिएका बाख्रासमेत भालुले आक्रमण गरी मारेको स्थानीय बासिन्दाले जानकारी दिएका छन्।

रसुवा जिल्लाको गोसाइँकुण्ड धार्मिकमार्ग अन्तर्गतदेउराली, खन्तीपाखो, बोकेझुण्डा, ठाडे, भिमल,पानास्युङखोलाआसपास, नागुङ, खोपाङ, भार्खु, ठूलोस्याफ्रु, ब्राबलसमेतका स्थानका जङ्गलमा भालुले बास स्थान लिने क्षेत्र रहेको बताइएको छ।

यसै गरी बृद्धिम, टिमुरे, खैदी, थुमन, चिलिमे, गतलाङ, हाकु, तिरू, ग्राङ, राम्चे, हाँडीफोरा तथा भोटेकोशी र त्रिशूली नदीको तटीय क्षेत्रसमेतका स्थानमा भालुको बासस्थान हुने भएकोले सावधानीपूर्वक हिँड्न उपयुक्त हुने ज्येष्ठ नागरिकले सुझाव दिएका छन्।

यात्राका क्रममा भालुसँंग जम्काभेट भएमा परैबाट उसले बेजोडले थुक्दै आउने र उसको पिरोथुक मानिसका आँखामा परेपछि आक्रमण गर्ने गरेको विगतमा भालुबाट आक्रमित व्यक्तिले अनुभवसमेत सुनाएका छन्।

यसैगरी लेकमा बस्ने बँदेल पनि अहिले न्यानो स्थान खोज्दै बेंसीतर्फका भूभागमा आउँछन् । भालु र बँदेल दुवै जनावरबाट सावधान रहन जरूरी भएको समेत ज्येष्ठ नागरिकहरू बताउँछन्।

मानवलाई भालुले टाउकामा र बँदेलले पेटमा आक्रमण गर्ने गरेको बताइन्छ। दुईचार जना साथी साथमा हिँड्दा भालु र बँदेल देखिएमा जोडले हाईहाई र हुईहुई गरी कराएमा पछि हट्दै भाग्ने गरेको अनुभव स्थानीयवासीको छ।

भालु र बँदेलले जंल आसपासका बारीमा लगाइने अन्नबालीसमेत नोक्सान गर्ने गरेको किसानको गुनासोसमेत बढ्न थालेको पाइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .