गोप्य सूचना सञ्चारमाध्यममा दिएको आरोपमा सशस्त्र प्रहरीका एक वरिष्ठ हवल्दार थुनामा छन्। उनले दार्चुलाको खलंगास्थित सशस्त्र प्रहरी गणका १२२ जनालाई एकसाथ बिदामा छाडिएको सूचना दिएका थिए।
सोही सूचना सार्वजनिक गरेको आरोपमा सशस्त्र प्रहरी बल नं २५ चण्डिका गण पर्वत दरबन्दी भई हाल सशस्त्र नं ४४ गण दार्चुलामा कार्यरत कामु वरिष्ठ हवल्दार नरेश सिंह साहुलाई थुनामा पठाइएको हो।
गणका प्रमुख एसपी त्रिभुवन बिष्टले रासन भत्तामा अनियमितता गर्ने उदेश्यले यसरी बिदा छाडेको आरोप छ। सुरक्षा निकायमा एकसाथ यति धेरै बिदा छाड्न समेत पाइँदैन। गणमा कार्यरत बिदामा बस्दा रासन भत्ता कटौती हुने गरेको छ। तर संगठनको नीति नियमविपरीत कार्य गरेका एसपी बिष्टलाई भने कुनै कारबाही भएको छैन।
यस्तो अनियमितताको बारेमा जानकारी दिने हवल्दारलाई भने सर्वस्वसहित जन्म कैदको माग गर्दै सशस्त्रले मुद्दा दायर गरेको छ।
गणमा २५८ जना कार्यरत रहेकोमा १२२ जनालाई एकसाथ बिदामा छाडिएको भने पुष्टि भइसकेको छ। हवल्दारले सूचना दिएका स्थानीय पत्रकारले स्रोतको गोपनियता नराख्दा उनी समस्यामा परेका हुन्।
समाचार सार्वजनिक भएपछि एसपी बिष्टले यस विषयमा छानबिन समेत गरेका थिए। छानबिनका क्रममा हवल्दार साहुले सूचना दिएको पुष्टि भएको थियो। पत्रकारले पनि आफूलाई हवल्दार साहुले नै सूचना दिएको खुलाइदिएका थिए।
गत जेठ २८ गते स्थानीय अनलाइनले एकसाथ १२२ सशस्त्र बिदामा रहेको समाचार प्रकाशन गरेको थियो। एसपी बिष्टले उक्त समाचारको खण्डन गरेका थिए। तर उनले अस्वीकार गरे पनि हवल्दारले दिएको सूचना सत्य भएको अनुसन्धानबाट खुलेको छ।
असार २२ गते सशस्त्र प्रहरीको विशेष अदालतमा हवल्दार साहुविरुद्ध मुद्दा दायर भएको थियो। विशेष अदालतले उनलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ। अन्तिम फैसला हुन बाँकी छ।
त्यसअघि गरिएको छानबिनमा पनि साहुलाई दोषी देखाइएको छ। तर एसपी विष्टको बारेमा भने सशस्त्र प्रहरी प्रधान कार्यालयले कुनै कारबाही र छानबिन अगाडि बढाएको छैन।
हवल्दारले पत्रकारलाई बिदा छाडिएको र रासनको विषयमा मात्रै सूचना दिएको बताएका छन्। सशस्त्र प्रहरीले भने गणमा रहेका हात हतियार र सशस्त्र प्रहरीको संख्या बारे पनि सूचना दिएको आरोप लगाएको छ।
संगठनका विरुद्ध उनले बेनामी उजुरी समेत हालेको छानबिन प्रतिवेदनमा उल्लेख छ।
सशस्त्र प्रहरी ऐन, २०५८ को बर्खिलाप गरेको भन्दै साहुलाई असार २४ गते पुर्पक्षका लागि थुनामा पठाइएको थियो।
आरोप प्रमाणित भएमा निजलाई सर्वस्व सहित जन्मकैद हुन सक्छ। संगठनको सूचना यसरी अनधिकृत रुपमा बाहिर पठाएमा हदै सम्मको कारबाही गरिने सशस्त्र प्रहरी ऐनमा नै स्पस्ट व्यबस्था रहेको सशस्त्र प्रहरी प्रधान कार्यालय श्रोतको दाबी छ।
एसपी अब तानिन्छन्
सशस्त्र प्रहरी प्रधान कार्यालयले भने एसपी बिष्टलाई पनि बचाउन नलागेको दाबी गरेको छ। हवल्दारमाथि कारबाही अगाडि बढाए पनि दुई महिनादेखि एसपी विष्टका बारेमा कुनै कारबाही नगरेको सशस्त्रले केही दिनमै उनलाई पनि कमाण्डबाट हटाएर छानबिन थाल्ने सशस्त्र प्रहरी उच्च स्रोतले जानकारी दिएको छ।
‘एसपीमाथि पनि कारबाही हुन्छ। अब केही दिनमै उहाँलाई कमाण्डबाट हटाउँछौँ र छानबिन गर्छौं’, स्रोतले भन्यो।
सशस्त्र प्रहरी प्रवक्ता विदुर खड्काले हवल्दारको विषयमा कुनै निर्णय भइनसकेको र अनुसन्धानकै क्रममा रहेको बताए।
यसैबीच हवल्दारको रिहाइको माग गर्दै काठमाडौंका मंगलबार प्रदर्शन भएको छ। माइतीघरमा भएको प्रदर्शनमा हवल्दार साहुलाई रिहाइ गर्न र रासन भत्तामा अनियमितता गर्ने एसपी बिष्टलाई कारबाही गर्न माग गरिएको छ।
Shares
प्रतिक्रिया