‘मधेशतिर जाँदा रुन मन लाग्छ, त्यहाँको स्वास्थ्यसेवा देखेर। केही न केही त गर्नैपर्छ’, उनले भने, ‘लिडरसिप म्यानेजमेन्ट र क्यालिटी इस्योरेन्स। हे भगवान राजनीति नपसोस् (स्वास्थ्यमा) , हामी गर्न सक्छौँ।’
‘सन्दुक रुइत आफैँमा व्यक्ति होइन, उहाँ संस्था हो’, सूत्रधार रवि लामिछानेले भने,‘ ओलाङचुङ्लाबाट यहाँ आउन सजिलो थिएन।’
आईएमई लिटरेचर फेस्टिवलअन्तर्गत शनिबार दृष्टिदान शीर्षकमा गफ थाल्दै गर्दा सन्दुक खुसी र भावुक दुबै थिए। र, यही प्रश्नबाट सन्दुक मुखरित भए। ताप्लेजुङको ओलाङचुङ्लाबाट मेरा पिताले मलाई दार्जिलिङमा पढ्न लैजानुभयो, मैले त्यो समयलाई राम्रोसँग उपयोग गरेँ। कोलम्बो प्लानअन्तर्गत पढेँ, नेपाल आएर देशका कुनाकाप्चा पुगेँ र फेरि भारतमा पढ्न जान पाएँ।’
उनी यसो भनिरहँदा सोचमग्न पनि देखिए। ‘म कहाँ थिएँ र के भएँ, आफैँले पनि सोच्न सक्दिनँ’, उनले थपे। तिलगंगा आँखा अस्पतालको चर्चा गरेपछि रविले १ लाख २५ हजारलाई दृष्टिदान दिइसकेको प्रसंग पनि जोडे र अघि बढे सोधे, ‘यस्तो व्यक्ति सही भएर हुने रहेछ कि व्यवस्थापकीय क्षमता पनि ?’
सन्दुकले इमान्दिरता र प्रतिवद्धता चाहिने कुरालाई बढी जोड दिए। ‘निर्णय क्षमता हुनुप¥यो, हाम्रोजस्तो संस्था राजनीतिबाट टाढा बस्नुप¥यो। मेरो उपलब्धिको कुरा गर्दा मैले मेरो संस्थालाई राजनीतिबाट टाढा राख्न सकेँ’, उनले जोड दिए,‘ सक्दो रहेछौँ । फेरि एकचोटी के भन्छु भने, यो काम म एक्लैले गरेको होइन।’
‘हाम्रा अन्य अस्पतालहरु बेथितिमा चलेका छन्, ती तिलगंगाकै जस्तो गरि चल्न सक्छन् त?’,रविको अर्को प्रश्न थियो।
रुइतका अनुसार स्वास्थ्यमा धनीलाई एउटा र गरिबलाई अर्को सुविधा हुँदैन। अहिले राज्यले सञ्चालन गरेको स्वास्थ्य संस्थाहरुमा केही न केही समस्या भएर गुणस्तर कम भएको छ। यो सबै समस्याले गर्दा भ्रष्टाचार भएको र बजारमा स्वास्थ्य संस्थाहरु पनि च्याउजस्तै उम्रिएको उनको तर्क थियो।
सन्दुक भावुक थिए। सञ्चारमाध्यममा सार्वजनिक भएका केही विषयहरुबारे उठान गर्दा उनी अझ सुरिलो सुनिए। म मेरो पेशालाई असाध्यै मन पराउँछु। पेशालाई जति मन परायो, त्यति नै प्रभावकारिता बढ्छ। गोर्खामा शिविर गर्दा कान्छीमायालाई सिन्धुपाल्चोकबाट गोर्खामा उनका श्रीमानले ल्याएका रहेछन्। भने, ‘बालकलाई पनि अन्धो भएर पनि जन्माएकी थिइन्, हामीले उनको आँखाको शल्यक्रिया ग¥यौँ र उनको पट्टी खोलेपछि कान्छीमाय मुसुक्क हाँसिन्, उनी अप्रेसन गर्नुभन्दा अघि ६० वर्षजस्तो लाग्थिन्, उनी २० वर्ष कमकी देखिइन्। उनको बच्चालाई हामीले काखमा राखिदियौँ, उनले बच्चा पाएको त थाहा त थियो तर उनको हातले गालामा सुम्सुुम्याइन् र उनले चुप्पा गरिन् र उनले काखमा राखेर रोइरहिन्। जुन बच्चालाई ९ महिना राखेर जन्माएको त्यसलाई देख्न पाउँदा कस्तो होला?’
एक वर्षअघि हेटौँडा अस्पतालमा रोशनको अप्रेसन ग¥यौँ। हामीले उसलाई फकाएर फुलाएर अप्रेसन ग¥यौँ। रोशनबाबु के खाने आँखा देखेपछि के खाने भनेँ, उसले मःमः खाएकै छैन खाने भन्यो, जुलेवी खाएकै छैन, खाने भन्यो। रोशनको आँखा खोलेपछि म थाकेको थिएँ र रोशन आएर मेरो कपाल र गाला सुम्सुम्याउन थाल्यो, मैले चस्मा खोलेँ, सायद, उसले मेरो आवाज सुनेर मतिर झम्टिएजस्तो लाग्यो। यस्ता क्षण धेरै छन्, मेरो जीवनमा।
व्यक्तिगत श्रीवृद्धिमा लागौँ भन्ने उनलाई पनि लाग्यो रे। तर, डाक्टरले सेवा भाव बिर्सनु हुँदैन भन्दै खाएको कसम बिर्सनु हुँदैन रे। नेपालमा चाहिनेभन्दा बढी व्यापारिकरण भएको उनको ठम्याई छ।
उनी फेरि तराईतिर फर्के। तराईको अवस्था हे¥यो भने रुन मन लाग्छ भन्ने दोहो¥याए। ‘सरकारले एउटा राम्रो मोडल सेटअप ग¥यो भने त्यही मोडलमा अघि बढ्न सकिन्छ। हामी कहाँ अन्धोपन यति छौँ र उति छौँ भन्नु, नेपालमा अन्धोपन निवारणको लागि राम्रो सोलुसन छ भन्ने थाहा छ’, उनले भने, ‘त्यो अफ्रिका र एसियाका विभिन्न देशमा फैलिएको छ। यो नेपालको संसारलाई देन हो भन्ने लाग्छ, नेपाली झण्डा लिएर धेरै ठाउँमा जान सक्छौँ भन्ने लाग्छ।’
सन्दुकका अनुसार यहाँ १५ हजारदेखि २० हजारभन्दा बढी तिर्नुपर्दैन, त्यही विकशित देशमा करिब ५ हजार डलरभन्दा कम पर्दैन। संसारमा २० मिलियन मान्छेलाई शल्यक्रियाको जरुरी छ र नेपालमा २ लाख मान्छेलाई मोतियाविन्दुको शल्यक्रिया जरुरी छ। उनीहरुले अप्रेसन पाए आँखा देख्न सक्छन्। उनी भन्छन्, ‘हाम्रो कोशिस जारी छ, आउँदो १० वर्षमा यतातिर ध्यान दिएर जान जरुरी छ।’
‘आँखाको क्षेत्रमा हामी भाग्यमानी छौँ, यहाँ असाध्यै राम्रा ५० भन्दा बढी डाक्टर हुनुहुन्छ। यो आउँदो वर्षमा बढ्दै जान्छ’, उनले भने, ‘प्रि स्कूलमा साना नानीलाई भर्ना गराउँदा नै आँखाको जाँच गराउनुहोस्।’ उनले अन्त्यतिर नेपालीमा नै आफ्नो आत्मवृत्तान्त आउनु सुखद् भएको बताए। अन्धोपनका बारेमा सचेतना र अन्य ठाउँमा अस्पताल बनाउन यो किताबले सहयोग गरेको बताउँदै उनले निजगढमा अस्पताल बनाउन यही किताबको माध्यमबाट केही जम्मा भएको बताउँदै थपे, ‘यो अभियान अब १० वर्ष जारी राख्नेछु।’
प्रतिक्रिया