नेपालले क्यानडा जान चाहने नेपालीका लागि काठमाडौमै भिषा दिने प्रबन्ध मिलाउन क्यानडालाई आग्रह गरेको छ।
क्यानडाको ओट्टावामा आयोजित नेपाल-क्यानडा द्विपक्षीय परामर्श संयन्त्रको तेश्रो बैठकमा परराष्ट्र मन्त्रालयका सचिव भरत राज पौड्यालले क्यानडाका विदेश मन्त्रालयका उपसहायकमन्त्री पउल थोप्पिलाई सो आग्रह गरेका हुन्।
बैठकमा सचिव पौड्यालले क्यानडाली अधिकारीलाई क्यानडाभर नेपाली नागरिकको बढ्दो उपस्थिती र दुई देशबीचको बढ्दो जनस्तरको सम्पर्कलाई ह्रदयंगम गरी क्यानडा जाने भिसा काठमाडौमै दिने व्यवस्था मिलाउन आग्रह गरे।
अहिले क्यानडा जाने नेपालीका लागि भारतको नयाँ दिल्लीबाट भिसा जारी हुने गरेको छ। त्यसका कारण क्यानडा जान चाहने नेपालीलाई भिषा लगाउने काम निकै झन्झटिलो र खर्चिलो छ।
क्यानडा ओहरदोहर गर्ने नेपालीको संख्या ठूलो छ। हजारौं नेपालीले क्यानडाको आवासीय अनुमतिपत्र (पीआर) पनि लिएका छन्। नेपालका इन्जिनियर र चिकित्सकका लागि क्यानडा रोजगारी र अध्ययनका लागि आकर्षक गन्तव्य बनेको छ।
परराष्ट्र मन्त्रालयका अनुसार बिहीबार भएको बैठकमा सचिव पौड्यालले क्यानडालाई नेपालमा आवासीय कुटनीतिक नियोग स्थापना गर्न पनि आग्रह गरे। अहिले दिल्लीस्थित क्यानडाको आवासीय दूतावासले नेपालसँगको सम्बन्ध हेर्ने गरेको छ।
बैठकमा विकास सहकार्य, व्यापार तथा लगानी, शिक्षा, संस्कृति, पर्यटन, वातावरण र जलवायु परिवर्तन लगायत नेपाल-क्यानडा द्विपक्षीय सम्बन्धका विविध क्षेत्रबारे कुराकानी भएको परराष्ट्रले जनाएको छ।
सचिव पौड्यालले नेपाल अतिकमविकसित मुलुकबाट विकाशशीलमा स्तरोन्नति हुन तथा दिगो विकास लक्ष्य हासिल गर्न लागि प्रयासरत रहेको बताए। उनले नेपाल सरकारका विकास प्राथमिकताबारे पनि चर्चा गरे।
‘अतिकमविकसित मुलुकबाट विकाशशीलमा स्तरोन्नती हुन यतिबेला संक्रमणकालीन अवस्थामा रहेको नेपालले त्यसका लागि क्यानडाबाट स्रोत र प्रविधिमा मजबुत सहयोग चाहन्छ’ उनले छलफलमा भने।
क्यानडाका विदेश मन्त्रालयका उपसहायकमन्त्री थोप्पिले नेपालको विकास प्रयासमा सघाउन क्यानडा तयार रहेको उल्लेख गर्दै उनले क्यनडाले अघि सारेको महिलावादी अन्तर्राष्ष्ट्रिय सहायता नीतिको चर्चा गरे।
क्याडाको उक्त नीतिले विश्वभर गरिबी निवारणमा साझा प्रयास आवश्यक रहेकोमा जोड दिन्छ। त्यसका लागि खासगरी आर्थिक असमानता हटाउनुपर्ने कुरामा थप जोड दिन्छ। नीतिले गरिबी र असमानता अन्त्य गर्न समाजमा महिला र युवतीहरुको आर्थिक तथा सामाजिक शशक्तिकरणमा जोड दिन्छ।
संयन्त्रको बैठकमा सचिव पौड्यालले क्यानडाका तर्फबाट नेपालको जलस्रोत तथा प्रविधिका क्षेत्रमा थप लगानीको अपेक्षा गरिएको बताए।
विगतमा माथिल्लो त्रिशुली-१ जलविद्युत् परियोजनामा क्यानडाको क्लाइमेट फन्ड फर प्राइभेट सेक्टर इन एसिया-टु ले लगानी गरिसकेको छ।
त्यसक्रममा दुई पक्षबीच संयुक्त राष्ट्रसंघ लगायत बहुपक्षीय मंचमा जलवायु परिवर्तन र शान्ति सैनिक पठाउने लगायत साझा हितका क्षेत्रमा सहकार्य निरन्तर जारी राख्ने बिषयमा छलफल भएको थियो।
बैठकमा सचिव पौड्यालले नेपालले सफलतापूर्वक स्थानीय निर्वाचन सम्पन्न गरेको चर्चा गर्दै मुलुक प्रादेशिक र संघीय संसदको चुनावको मुखमा रहेको बताए। उनले निर्वाचनमार्फत् नेपालले लोकतन्त्र सुदृढ गर्दै आफूलाई अघि बढाएको बताए।
कोरोना महामारीको कठिन समयमा क्यानडाले नेपाललाई दिएको खोप तथा स्वास्थ्य उपकरणका लागि धन्यवाद दिए।
बैठकमा दुई पक्षबीच उच्चस्तरीय भ्रमण आदानप्रदानमार्फत् संबन्ध अझ विस्तार गर्ने बिषयमा पनि छलफल भएको थियो। नेपाल र क्यानडाबीच सन् १९६५ मा कुटनीतिक सम्बन्ध स्थापना भएपनि उच्चस्तरीय भ्रमण खासै भएका छैनन्।
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोबीच राष्ट्रसंघीय महासभाको दौरानमा सन् २०१८ मा अमेरिकाको न्यूयोर्कमा द्विपक्षीय भेटवार्ता भएको थियो।
द्विपक्षीय परामर्श संयन्त्र बैठकमा नेपाली टोलीमा क्यानडाका लागि नेपाली राजदूत भृगु ढुंगाना, परराष्ट्र मन्त्रालयका उपसचिव हरि ओडारी र नेपाली दूतावासका अधिकारी सहभागी थिए।
नेपाल र क्यानडाबीच सन् २०१८ मा परराष्ट्र सचिवको तहमा द्विपक्षीय परामर्श संयन्त्र स्थापना भएको थियो। उक्त संयन्त्रको अर्को बैठक दुई वर्षपछि काठमाडौंमा आयोजना हुनेछ।
Shares
प्रतिक्रिया