ad ad

समाज


‘अरू केही चाहिन्न, लालपुर्जा दिलाइदिनू’

‘अरू केही चाहिन्न, लालपुर्जा दिलाइदिनू’

फाइल तस्बिर


नेपालखबर
कात्तिक ६, २०७९ आइतबार ८:५०, काभ्रे

सत्तारुढ गठबन्धनका काभ्रेका प्रतिनिधिसभा क्षेत्र नं २ र यसअन्तर्गत दुई प्रदेशसभा क्षेत्रका प्रत्यक्ष तथा समानुपातिक उम्मेदवारसहितको टोली चार दिनदेखि भुम्लु गाउँपालिकामा ‘घरदैलो’ अभियानमा छ। भुम्लुमा स्थानीयसँग भेटघाटका क्रममा फलाँटे र भुम्लुटार दुई वडाका स्थानीयले उम्मेदवारसँग ४६ वर्षदेखिको आफूहरूको लालपुर्जाको समस्या समाधान गरिदिन माग गरेका छन्।

‘हामीलाई अरु केही चाहिन्न, हाम्रो अड्किएको लालपुर्जा दिलाइदिनुस्’, स्थानीय सन्त तामाङले उम्मेदवारसँगको भेटघाटमा भने। उनले अघिल्लो सरकारले पनि आशा देखाएकाले ‘आशावादी’ मात्रै नबनाउन आग्रह गरे। उम्मेदवारको टोलीले स्थानीयसँग भेटघाटसँगै भए/गरेका विकासका काम तथा अबको आवश्यकताका बारे चासो दिइरहेको छ।

लापुर्जाबारे फलाँटेमा प्रतिनिधिसभा क्षेत्र नं २ का शिवप्रसाद हुमागाईंसहितको टोलीले शनिबार दिनभर स्थानीयसँग छलफल नै गरेको थियो। स्थानीयका एउटै माग लालपुर्जा दिलाइदिनु नै रहेको थियो। हुमागाईं र प्रदेशसभा (क) का उम्मेदवार लक्ष्मण लम्सालले आफूहरू लालपुर्जाको समस्याप्रति निकै गम्भीर रहेको र स्थानीयलाई ढुक्क भएर बस्न आग्रह गरे। स्थानीय पूर्णबहादुर श्रेष्ठले लालपुर्जा दिलाइदिन प्रतिबद्ध उम्मेदवारलाई मात्रै मत हाल्ने बताए। 

छयालीस वर्षदेखि फलाँटे र भुम्लुटारका एक हजार दुई सय स्थानीय लालपुर्जाविहीन छन्। विसं २०३२ मा जग्गा नापी गर्दा साविक पिपलटार गाविस र भुम्लुटार गाविसबीच टारको खेतीयोग्य जमिन कता राख्ने भन्ने विषयमा दुई गाविसका नेतृत्वबीच विवाद भएपछि तत्कालीन नापी टोली फर्किएको थियो। त्यसयता सरोकारवाला निकायबाट विभिन्न चरणमा समस्या समाधानार्थ प्रयास भए पनि हालसम्म कसैले लालपुर्जा पाउन सकेका छैनन्।

नेपाली कांग्रेसका पूर्व सांसदसमेत रहेका हुमागाईंले घरदैलो कार्यक्रममा अधुरा काम आफूले पूरा गर्ने बताइरहेका छन्। निर्वाचन आयोगका अनुसार यही कात्तिक १७ गतेसम्म २५ जनाको सङ्ख्यामा उम्मेदवारले घरदैलो गर्न पाउने छन्। आयोगको आचासंहिताअनुसार आफू घरदैलोमा केन्द्रित रहेको उनले बताए। 

छयालीस वर्षदेखि लालपुर्जाविहीन अवस्थामा रहेपछि स्थानीयले जग्गाधनीबारे छानबिनमा थप समस्या उत्पन्न भएपछि छुट्टै नीतिको माग गरिरहेका छन्। लालपुर्जा अभावमा रसिदका आधारमा किनबेच भइरहेकाले मालपोत कार्यालयको फिल्डबुक र हालको रसिदवाहक जग्गाधनीबीच मेल नहुँदा छानबिनमा सकस भएको बताइन्छ।

यसपछि गाउँपालिकाका ७ र ८ नं वडामा जमिनबारे स्थलगत छानबिन गर्न गएको जिल्लास्थित मालपोत तथा नापी कार्यालयका दुई टोली गत असारमै फिर्ता आएका थिए। लालपुर्जा नहुँदा स्थानीयले भूकम्पपछि आवास निर्माणलगायत विभिन्न समस्या झेलिरहेका छन्।

हाल मालपोतको टोली कार्यालयमै फिल्डबुक अध्ययन गरिरहेको जनाइएको छ। तर मालपोत र नापी कार्यालयका अधिकारीले लालपुर्जा समस्या छुट्टै नीति बनाएर मात्रै समाधान हुने बताइरहेका छन्। हाल पनि रसिदका आधारमा जग्गा किनबेच भइरहने हुँदा छानबिनका बेला एकको नाममा र पुर्जा बन्ने बेला बिक्री भई अर्काको नाममा गइसक्ने समस्याले झन् कठिन भइरहेको फिल्डमा खटिएका नापी अधिकृत लवप्रसाद कुइँकेलले बताए। उनका अनुसार रसिदकै आधारमा जग्गा किनबेच भएको लगत जिल्ला मालपोत कार्यालयबाट उपलब्ध हुने सकेको छैन।

टोलीले स्थलगत रूपमा गरेको छानबिन र मालपोतको रेकर्डमा कतिपय जग्गाधनीको नाम फरक–फरक भएका कारण थप समस्या उत्पन्न भएको गाउँपालिका अध्यक्ष प्रेमबहादुर भुजेलले बताए।

‘मालपोतको फिल्डबुकमा लगत मिल्दैन, यसअघि लालपुर्जा नहुँदासमेत रसिदका आधारमा किनबेच गरेकाले निकै कित्ताको नाम फरक–फरक आइरहेको छ, त्यसैले हाल थप समस्या उत्पन्न भएको छ’, उनले भने।

भुजेलले भुम्लुको लालपुर्जा समस्याबारे सरोकारवाला निकायले छुट्टै नीति नबनाएसम्म समाधान हुनसक्ने बताए। उनका अनुसार गाउँपालिकाका पदाधिकारीसहितको टोलीले भुम्लुको लालपुर्जाको समस्या समाधानार्थ जिल्लास्थित मालपोत कार्यालय र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय तथा भूमि आयोगमासमेत हालै आग्रह गरिएको छ। 

तत्कालीन नक्साङ्कनको अवस्थामा सीमा विवादका कारण आफ्नै जमिन आफ्नो नाममा नभएपछि झन्डै एक हजार दुई सय लालपुर्जाविहीनले फिल्डका नापी र मालपोतको दुवै कार्यालयमा २०७७ माघ महिनासम्म लालपुर्जा प्राप्तिका लागि ७ नम्बर वडास्थित कार्यालयमा नौ सय ३२ र ८ नम्बरमा तीन सय १७ निवेदनसमेत दर्ता गरेका थिए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .