ad ad

समाज


नयाँ वर्षको अवसरमा रत्न मन्दिर खुला गर्ने तयारी

नयाँ वर्षको अवसरमा रत्न मन्दिर खुला गर्ने तयारी

कृष्ण दवाडी
पुस ३, २०७६ बिहिबार ४:३५,

सरकारले अङ्ग्रेजी नयाँ वर्ष २०२० को अवसर पारेर पोखरास्थित शाही राजाको दरबार रत्न मन्दिर सर्वसाधारणका लागि खुला गर्ने तयारी गरेको छ।

फेवाताल किनारमा अवस्थित पर्यटकका लागि आकर्षणको सम्भावना बोकेको रत्नमन्दिर र हिमागृह देशमा राजतन्त्रको अन्त्य भएर गणतन्त्र स्थापनापछि बन्द भएको थियो।

सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरेर पुस १६ गते औपचारिक कार्यक्रमसहित रत्न मन्दिर खुला गर्ने तयारी सरकारको छ। पहिलो चरणमा रत्न मन्दिर र त्यसको केही महिनापछि हिमागृहसमेत खुलाउने योजना सरकारले जनाएको छ।

गणतन्त्र घोषणापछि तत्कालीन राजा वीरेन्द्र र ऐश्वर्य तथा उनीहरुको परिवारजनको नाममा रहेका सम्पूर्ण सम्पत्ति नेपाल ट्रष्ट मातहतमा ल्याउने सरकारी निर्णयानुसार रत्न र हिमागृह समेत ट्रष्टको स्वामित्वमा आएको थियो।

रत्न मन्दिरलाई खुला गरेर पर्यटकीय गन्तव्यको रुपमा विकास गर्नुपर्ने आवाज यहाँका जनप्रतिनिधि तथा पर्यटन व्यवसायीले उठाउँदै आए पनि लामो समयपछि यसले सार्थकता पाउन लागेको हो।

रत्न मन्दिर खुला गर्ने पूर्वतयारी तथा अन्य व्यवस्थापकीय कार्यका लागि नेपाल ट्रष्टका सदस्य सचिव राजेश्वर ज्ञवाली तथा ट्रष्ट सञ्चालक समिति सदस्यको टोलीले चार दिनसम्म पोखरामा रहेर सरोकारभएकासँग छलफल गरेको छ । त्यसक्रममा टोलीले प्रदेश सरकार, पोखरा महानगर तथा पर्यटन व्यवसायीसँग यसबारेमा छलफल गरेको थियो।

सदस्य सचिव ज्ञवालीले दरबार खुला गर्ने निश्कर्षमा ट्रष्ट पुगे पनि अन्तिम निर्णय भइनसकेको बताए। उनले भने, “दरबार खुला गर्न अब ढिलाइ गर्नुहुँदैन उपयुक्त समय नयाँ वर्षको बेला हुन्छ भन्नेमा हामी पुगेका छौँ तर खुला गर्दा कसरी खुला गर्ने, कुन÷कुन क्षेत्रसम्म प्रवेश दिने, प्रवेश शुल्क कति राख्नेलगायतका बारेमा छलफल भयो । एउटा योजना तयार भएको छ।”

राजधानी पुगेर ट्रष्टका अध्यक्ष एवं उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलसँग थप छलफल गरेर निर्णय लिइने ज्ञवालीले बताए।

दरबार खुला गर्नेबारेमा मन्त्री पोखरेलले नै अन्तिम निर्णय गर्ने बताइएको छ । शुरुमा ट्रष्टले आफ्नै कर्मचारीबाट व्यवस्थापनको कार्य गर्ने भएको छ । ट्रष्टको पोखरा कार्यालयमा कार्यरत ११ जना कर्मचारीबाट नै व्यवस्थापनको कार्य गर्ने तयारी गरिएको छ।

दरबार खुला गर्नका लागि निरन्तर आवाज उठाउँदै आउनुभएका सोही क्षेत्रका प्रदेशसभा सदस्य राजीव पहारीले अब खुला गर्ने विषयमा कुनै पनि अवरोध नरहेको बताए।

फेवाताल जलाधार क्षेत्र र रत्न मन्दिर संरक्षणका लागि प्रदेशसभा सदस्य पहारीले चालू वर्षमा पूर्वाधार विकास कार्यक्रमको दुई करोड बजेटमध्येबाट २५ लाख विनियोजन गरिएको छ।

रत्नमन्दिर पूर्वराजपरिवारका सदस्य पोखरा आउँदा बसोबास गर्ने ठाउँ हो। तत्कालीन राजा महेन्द्रले यहाँ आउँदा बस्न मिल्ने गरी आफ्नो कान्छी श्रीमती रत्नको नामबाट दरबार निर्माण गर्नुभएको थियो।

तत्कालीन अधिराजकुमार ज्ञानेन्द्र विसं २०५८ जेठ १९ को दरबार हत्याकाण्डको रात तथा २०६२–६३ को दोस्रो जनआन्दोलन चरम उत्कोर्षमा पुगेको समयमा पनि करीब तीन महीना यही बसेका थिए।

विसं २०६१ माघ १९ को शाही कदमपछि तत्कालीन राजा वीरेन्द्र र दरबारका नाममा रहेका अधिकांश सम्पत्ति राजा ज्ञानेन्द्रको स्वामित्वमा गए पनि रत्न मन्दिर भने तत्कालीन राजा वीरेन्द्रकै नाममा रहेकाले ट्रष्टको स्वामित्वमा आउन सहज भएको हो।

रत्न मन्दिरको मुख्य भवनमा ११ कोठा छन् । परिसरभित्र प्रशासनिक भवन, फेवातालसँगै तालघर, सैनिक बस्ने ३८ कोठे लामो भवन छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .