रौतहटको गौर नगरपालिका १ मा गएराति आगलागी हुँदा एकै परिवारका तीनजना बालबालिकाको मृत्यु भएको छ।
गौर १ माइस्थान चोकमा अवस्थित मोहम्मद इस्लामको सिरक डसना पसलमा गएराति करिब १२ बजे आगलागी भएको हो।
जिल्ला प्रहरी कार्यालय रौतहटका एसपी विनोद घिमिरेका अनुसार आगलागीमा परेर इस्लामकी ९ वर्षीया छोरी रुक्साना खातुन, ७ वर्षीय छोरा इमरान मंसुरी र ५ वर्षीया छोरी सविना खातुनको मृत्यु भएको छ।
घटनामा मोहम्मद इस्लामको घरमा पाहुना आएका २५ वर्षीय मोहम्द इस्लमाइल, २४ वर्षीया नसिमा खातुन र १० वर्षीय मोहम्मद इमान घाइते भएका छन्।
‘घाइतेमध्ये १० वर्षीय बालकको अवस्था गम्भीर भएकाले थप उपचारका लागि वीरगञ्ज पठाइएको छ,’ एसपी घिमिरेले नेपालखबरसँग भने, ‘मध्यराति कपास गोदाममा विद्युत सर्ट भएपछि आगलागी सुरु भएको अनुमान गरेका छौँ।’ सिरक डसना बनाउने उद्योगमै मानिसहरु सुत्ने बस्ने गरेकाले मानवीय क्षति भएको उनले बताए।
पसलधनी इस्लामका भाइको छोराको न्वारनमा आएका पाहुना पनि आगलागीमा परेका छन्।
गौर नगरपालिकाको दमकलको सहायतामा सुरक्षाकर्मी र स्थानीयले आगो निभाएका छन्। एउटा मात्रै दमकल भएकाले आगलागी नियन्त्रणमा लिन समय लागेको एसपी घिमिरेले बताए।
उद्योगसँगै जोडिएको घरमा आलम मन्सुरीले सञ्चालन गरेको मोटरसाइकल ग्यारेजमा पनि आगलागीले क्षति गरेको छ।
Shares
प्रतिक्रिया