ad ad

समाज


सिन्धुलीगढीमा पृथ्वीनारायणको शालिक स्थापना गरिने

सिन्धुलीगढीमा पृथ्वीनारायणको शालिक स्थापना गरिने

नेपालखबर
पुस ६, २०७६ आइतबार १०:२,

सिन्धुलीको कमलामाई नगरपालिका ३ स्थित सिन्धुलीगढीमा राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको पूर्णकदको शालिक स्थापना गरिने भएको छ। विसं १८२४ मा त्यस स्थानमा गोरखाली सेनाले युद्ध गरी अंग्रेज सेनाका किन लक नेतृत्वको दुई हजार ४०० सैनिकमध्ये एक हजार ६०० सैनिकलाई मारेको इतिहास छ। करीब दुई हजार ५०० मिटर अग्लो उक्त स्थानबाट गोरखाली सेनाले स्थानीयवासीको सहयोगमा सोही वर्ष असोज १५ गते विजय प्राप्त गरेको थियो।

कमलामाई नगरपालिका प्रमुख खड्गबहादुर खत्रीले नेपाललाई एकीकृत र विशाल स्वतन्त्र देश बनाउनका लागि त्यहाँ भएको युद्ध महत्वपूर्ण रहेकाले त्यस स्थानलाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न गृहकार्य भइरहेको जानकारी दिए। नेपाल पत्रकार महासंघ सिन्धुलीका सचिव विदुर पौडेलले यही पुस २७ गते पृथ्वीजयन्तीका अवसरमा शालिक अनावरण गरिने जानकारी दिए।

प्रदेश नं ३ उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले भ्रमण वर्षलाई लक्ष्य गरी पर्यटन क्षेत्रको प्रवद्र्धनका लागि गत मङ्सिर ३० देखि आजसम्म त्यस प्रदेशअन्तर्गतका पहाडी तथा हिमाली क्षेत्रका पर्यटकीय गन्तव्यमा सञ्चारकर्मीको अवलोकन भ्रमण गराएको छ। उक्त टोलीले दोलखा, रामेछाप र सिन्धुलीका विभिन्न पर्यटकीयस्थलको भ्रमण गरेको छ। मन्त्रालयले पर्यटन क्षेत्रको विकासका लागि चालु आवमा रु एक अर्ब ६५ करोड विनियोजन गरेको भ्रमण कार्यक्रमका संयोजक ताराप्रसाद शिवाकोटीले जानकारी दिए।

काठमाडौंदेखि १५० किलोमिटर दूरीमा रहेको सिन्धुलीगढी नेपाली स्वाभिमानको प्रतीक मात्र नभई आधुनिक नेपालका लागि गर्विलो इतिहास बोकेको स्थल पनि हो। सिन्धुलीगढी नेपाल–अंग्रेज युद्धको जीवित दस्तावेज हो। नेपालको ऐतिहासिक राष्ट्रिय पहिचान बोकेको तथा विदेशी हमलालाई परास्त गरेर राष्ट्रिय स्वाभिमानलाई सधैँ उँचो बनाएको सिन्धुलीगढीले आधुनिक नेपालको निर्माणमा उत्तिकै महत्वपूर्ण योगदान गरेको छ।

तत्कालीन इष्ट इन्डिया कम्पनीका कप्तान किन लकको नेतृत्वमा नेपाल कब्जा गर्न आएको अंग्रेज फौजलाई सिन्धुलीगढीमा गोरखाली सेनाले घरेलु हतियारकै भरमा पराजित गरेको थियो, जबकि बेलायती सेनासँग अत्याधुनिक हातहतियार थिए। संसारभर आफ्नो साम्राज्य जन्माउँदै हिँडेका अंग्रेजले सिन्धुलीगढीमा पहिलो पटक गोर्खाली सेनासँगै हार बेहोर्नु परेको थियो। सोही कारण नेपालीको शिर सधैंँ उच्च रहेको छ र नेपालले आजसम्म स्वाभिमानी राष्ट्रका रुपमा आफूलाई चिनाउँदै आएको छ।

सिन्धुलीगढीमा नेपाली सेनाले प्राप्त गरेको सफलताकै कारण नेपालले विश्व इतिहासमा सुनौलो अक्षर कोर्न सफल भएको शिवाकोटीले बताए। इतिहासकारको अध्ययन अनुसन्धानअनुसार त्यसबेला हाम्रा पु्र्खाले बल, बुद्धि र विकेकले सिन्धुलीगढी युद्ध नजितेको भए नेपालको एकीकरण कठिनप्रायः थियो। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .