ad ad

समाज


आन्दोलनले स्थानीय तहको काम ठप्प

आन्दोलनले स्थानीय तहको काम ठप्प

नेपालखबर
पुस ६, २०७६ आइतबार १०:३३,

आठ दिनदेखि डाकनेश्वरी नगरपालिकामा चर्किएको आन्दोलनले स्थानीय तहको कामकाज ठप्प बनेको छ। अनियमितता र भ्रष्टाचारविरुद्ध मंसिर २९ गते नगरपालिका कार्यालयमा तालाबन्दी गरेर आन्दोलन शुरु गरेका युवाले विरोध प्रदर्शनलाई निरन्तरता दिएका छन्। नगरपालिकालाई गत मंसिर १९ गते दिएको छ सूत्रीय मागको सुनुवाइ नभएको भन्दै युवा र बुद्धिजीवीले तालाबन्दी गरेर विरोध प्रदर्शन जारी राखेका हुन्।

एक साता तालाबन्दी गर्दा पनि माग पूरा नभएको भन्दै युवाले ‘भ्रष्टाचार हटाउः नगरपालिका बचाउ’ भन्दै पातो बजारमा मोटरसाइकल र्‍याली निकालेका छन्। नगरपालिकाको हरहिसाब सार्वजनिक गर्न तथा यस अवधिमा खरीद गरिएका सामानको विवरण तथा बिल सार्वजनिक गर्न प्रदर्शनकारीले माग राखेका छन्।

तालाबन्दी गरेर प्रदर्शन जारी राखे पनि मागबारे नगरपालिकाले चासो नदिएकामा स्थानीयवासी अरविन्द मण्डलले आक्रोश पोखे। नगरपालिका कार्यालयमा व्यापक आर्थिक अनियमितता भएको दाबी गर्दै उनले भने, ‘आर्थिक पारदर्शिता नगरेसम्म आन्दोलन जारी रहन्छ।’

भ्रष्टाचार बन्द गर्नुपर्ने, आर्थिक अनियमितताबारे छानबिन गर्न उच्चस्तरीय समिति गठन हुनुपर्नेलगायतका माग अघि सार्दै प्रदर्शनकारीले आन्दोलन थालेका हुन्। संघर्ष समितिका प्रदीप यादवले भ्रष्टाचारको छानबिन गर्न जिल्ला प्रशासन कार्यालय, अख्तियार दुरूपयोग अनुसन्धान आयोग, राष्ट्रिय सतर्कता केन्द्र, कोष तथा लेखा नियन्त्रण कार्यालय र नगरवासी सम्मिलित उच्चस्तरीय भ्रष्टाचार छानबिन समिति गठनको माग गरे।

वडा कार्यालयलाई उपलब्ध गराइएको मोटरसाइकल खरीद प्रक्रिया र सोको बिल उपलब्ध गराउन तथा आर्थिक वर्ष २०७५/७६ मा सार्वजनिक गरिएको खर्च विवरणको विभिन्न शीर्षकको बिल, विवरण र कागजातको छायाँकपी उपलब्ध गराउनुपर्ने माग राखी आन्दोलन जारी छ।

सङ्घर्ष समितिले नगरपालिकामा प्रयोग भइरहेको डिजिटल हाजिरी ठीक रहेको प्रमाणित गर्ने आधारको लिखित प्रष्टीकरण उपलब्ध गराउनुपर्ने माग गरेको छ। नगरपालिकाको कर्मचारी र पदाधिकारी समयमा उपस्थित नहुनुका कारण प्रष्ट्याउनसमेत उनीहरूले माग गरेका छन्।

आन्दोलनरत युवाले डाक्नेश्वरी नगरपालिका–५ स्थित नमूना माविको भवन निर्माणमा छुट्याइएको रु एक करोड ४८ लाख रकमबाट टायबिम मात्र खडा गरिएको, पर्खाल नै निर्माण नगरी नगरपालिका परिसरमा पर्खाल निर्माणको नाममा पाँच लाख खर्च गरिएको आरोप लगाए।

नगरपालिकाका प्रमुख र उपप्रमुखसहित तीन वडाध्यक्षमा राजपा विजयी छ। नगरपालिका प्रमुख शिवनारायण साहले समस्या समाधानका लागि युवासँग वार्ताको पहल भइरहेको बताए। समस्याको निकासका लागि जनप्रतिनिधिले पहल नगरेको भन्दै आन्दोलनकारी युवाको आक्रोश बढ्दै गएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .