नेपाल पत्रकार महासंघले महासंघका पूर्वउपसभापति तथा मधेस मिडिया काउन्सिलका अध्यक्ष वरिष्ठ पत्रकार शिवहरि भट्टराईको निधनप्रति दुःख व्यक्त गरेको छ।
महासंघ सर्लाही शाखाको मंसिर १७ गते शनिबार हुने साधारणसभाको निमन्त्रणामा मंसिर १६ गते शुक्रबार सर्लाही पुगी लालबन्दी–१३ पत्थरकोटास्थित होलिडे रिसोर्टमा साँझ खाना खाएर सोही होटलमा बसेका वरिष्ठ पत्रकार भट्टराई सुतेको कोठमा नै मृत अवस्थामा भेटिएका थिए।
विगत चार दशकदेखि सक्रिय पत्रकारिता गरिरहेका ६५ वर्षीय पत्रकार भट्टराई महासंघ सप्तरी शाखाको संस्थापक सभापति थिए।
महासंघको केन्द्रीय निर्वाचन समितिको संयोजकको भूमिका समेत निभाइ सकेका वरिष्ठ पत्रकार भट्टराईलाई महासंघले २०७५ सालमा कृष्णप्रसाद ‘भट्टराई स्मृति पत्रकारिता पुरस्कार’ बाट सम्मानित गरेको थियो।
उनको निधनले नेपाली पत्रकारिता जगतले एक परिपक्क, योग्य, अनुभवी र एकजना मूर्धन्य व्यक्तित्व र महासंघले अभिभावक गुमाएको जनाएको छ।
‘उहाँको निधनलाई महासंघले पत्रकारिता जगतको अपूरणीय क्षतिको रूपमा लिएको छ’ महासंघले जारी गरेको शोक विज्ञप्तिमा भनिएको छ, ‘उहाँले पत्रकारिता क्षेत्रमा पुर्याएको योगदानको नेपाली पत्रकारिता जगतले सदा स्मरण गरिरहनेछ।’
स्वर्गीय भट्टराईका श्रीमती, दुई छोरा र एक छोरी छन्।
Shares
प्रतिक्रिया