सर्लाहीमा भएका दुई छुट्टाछुट्टै घटनामा परेर दुई जनाको मृत्यु भएको छ।
जिल्लाको ब्रह्मपुरी गाउँपालिका–६, नोकेल्वामा पोखरीमा डुबेर एक बालिकाको मृत्यु भएको छ भने लालबन्दी नगरपालिका १ नवलपुरमा घरको छतबाट खसेर एक जनाले ज्यान गुमाएका छन्।
ब्रम्हपुरी ६ का देवशरण रायकी छोरी १० वर्षीया उषाकुमारी यादवको शव घरदेखि चार सय मिटर पूर्वमा रहेको रत्नेश्वर रायको पोखरीमा फेला परेको प्रहरीले जनाएको छ।
मंगलबार बिहानैदेखि बेपत्ता उषाकुमारीको शव बुधबार साँझ पोखरीमा फेला परेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी नायव उपरीक्षक डीएसपी विजय श्रेष्ठले जानकारी दिए।
बालिकाको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवामा लगिएको छ। घटनाका सम्वन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
त्यसैगरी लालबन्दी १, नवलपुर बजारमा घरको छतबाट खस्दा एक जनाको मृत्यु भएको छ।
धनुषाको वीरेन्द्रबजार घरभई हाल नवलपुरस्थित सञ्जय साहको घरमा डेरा गरेर बस्ने ५० वर्षीय भरत लामाको छतबाट खसेर मृत्यु भएको प्रहरीले जनाएको छ।
मंगलबार साँझ घरको दोस्रो तलबाट खसेर गम्भीर घाइते भएका लामाको उपचारका क्रममा गएराति नमूना अस्पताल हरिवनमा मृत्यु भएको डीएसपी श्रेष्ठले जानकारी दिए।
कोठाको चाबी हराएपछि खोजी गर्ने क्रममा छतमा जाँदा लामा अचानक छतबाट खसेका प्रत्यक्षदर्शीले बताएका छन्। उनी वैदेशिक रोजगारीबाट दुई साताअघि मात्रै घर फर्किएका आफन्तको भनाई छ।
Shares
प्रतिक्रिया