ad ad

समाज


बालकृष्णले बेवास्ता गरेको एआईजी बढुवाबाट सुरु हुनेछ रविको परीक्षा

बालकृष्णले बेवास्ता गरेको एआईजी बढुवाबाट सुरु हुनेछ रविको परीक्षा

गृहमन्त्री रवि लामिछाने। तस्बिर : नेपालखबर


नेपालखबर
पुस १३, २०७९ बुधबार १९:१, काठमाडौँ

नेपाल प्रहरीमा गत साउन २० गतेदेखि अतिरिक्त महानिरीक्षक (एआईजी)  पद खाली भएको छ। तर शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारले बढुवा गर्न चासो दिएन। 

वैशाख १९ गतेदेखि नै गयल भएका एआईजी विश्वराज पोखरेल साउन २० गतेदेखि भने औपचारिक रुपमा अवकाश भएका थिए। 

त्यसअघि नै पोखरेलको राजीनामा स्वीकृत नगरेर सरकारले उनलाई नियमित प्रक्रियाबाट अवकाश गराएको थियो। 

खाली भएको एक मात्रै दरबन्दीमा एकल बढुवा गर्दा भावी आईजीपीमा प्रतिस्पर्धाको बाटो बन्द हुने भन्दै चारजनालाई एकसाथ बढुवा गर्ने तत्कालीन सरकारले बताएको थियो। 

तर चार जनाको दरबन्दी खाली हुँदा पनि बढुवा गर्न तत्कालीन सरकारले बेवास्ता गर्‍यो। 

गृहमन्त्री बालकृष्ण खाँण र प्रधानमन्त्री देउवा निर्वाचनपछि पनि यही गठबन्धन कायम रहनेमा ढुक्क हुँदा एआईजी बढुवा गर्ने अवसर फुत्किएको हो।

देउवा र खाँणले वसन्त कुँवर, टेकप्रसाद राई, अशोक सिंह र दीपक थापालाई एआईजीमा बढुवा तयारी गरेका थिए। 

उनीहरुलाई एसएसपीबाट डीआईजीको वरीयतामा अगाडि ल्याउँदै देउवा नेतृत्वको सरकारले नै बढुवा गरेको थियो। 

एआईजीमा सिंहलाई पहिलो नम्बरमा बढुवा गर्ने देउवाको तयारी थियो। तर अब डीआईजी श्यामलाल ज्ञवालीको सम्भावना बलियो बनेको छ। 

बढुवाका आकांक्षीले दरबन्दी रिक्त भएदेखि नै जोड गरे पनि पछि धकेल्दै आएका थिए। अकास्मत सत्ता गठबन्धन फेरिएपछि एआईजी बढुवाको अवसर पनि देउवा र खाँणले गुमाए। 

गत वैशाखदेखि रिक्त एआईजी बढुवाको जिम्मा अब नयाँ गृहमन्त्री रवि लामिछानेले पाएका छन्। 

खासगरी पत्रकार हुँदा र पार्टी स्थापना गरेपछि पनि सुशासन र पारदर्शिताको कुरा गर्दै आएका लामिछानेको पहिलो परीक्षा नै एआईजी बढुवाबाट सुरु हुनेछ।

यस्तै यसअघिको सरकारले अगाडि बढाएको ३० वर्षे सेवाअवधि हटाउने विषयमा पनि रविको भूमिका देखिनेछ। कानुन मन्त्रालय पुगेको यो फाइल तत्काल अगाडि बढ्ने सम्भावना कम छ।

यदि ३० वर्षे हटाउने अघिल्लो सरकारको प्रस्ताव तत्काल पारित नभए आगामी चैतबाटै अब बढुवा हुने एआईजीबाटै आईजीपी हुनेछन्।

तर एआईजी बढुवा भने रविको पहिलो र महत्वपूर्ण निर्णय हुनेछ। क्याबिनेटले गर्ने यो निर्णयमा ठूला दल खासगरी एमाले र माओवादी कति हाबी हुन्छन् उनीमाथि भन्ने प्रष्ट देखिनेछ। 

ठूला दलले गृहमन्त्रालय नेतृत्व गर्दा आफ्ना मान्छेलाई अगाडी ल्याउने र विपक्षी निकटलाई छुटाउने परम्परा जस्तै बनेको छ। 

तर एआईजी बढुवामा रविलाई चुनौती हुनेछ। माओवादी यसअघि डीआईजी बढुवामा पनि सत्ता सझेदार थियो। 

यसपटक एआईजी बढुवामा एमालेले भाग खोज्नेछ। जुन कारण यसअघिको डीआईजी बढुवा तलमाथि हुन सक्नेछ। त्यस्तो अवस्थामा रविलाई चुनौती थपिनेछ। 

नेपाल प्रहरीका एआईजीहरु विश्वराज पोखरेल, अरुणकुमार बिसी, रबिन्द्रबहादुर धानुक, मुकुन्द आचार्य अवकास भएसँगै चार दरबन्दी रिक्त भएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .