ad ad

समाज


दलीय आवरणका गुण्डागर्दीविरुद्ध निर्मम भएर कारवाही चलाउनू : गृहमन्त्री लामिछाने

दलीय आवरणका गुण्डागर्दीविरुद्ध निर्मम भएर कारवाही चलाउनू : गृहमन्त्री लामिछाने

प्रहरीहरुलाई सम्बोधनका क्रममा गृहमन्त्री लामिछाने। तस्बिर : नेपाल प्रहरी


नेपालखबर
पुस १५, २०७९ शुक्रबार १७:४१, काठमाडौँ

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले दलीय आवरणमा हुन जुनसुकै अपराधविरुद्ध निर्मम भएर प्रस्तुत हुन प्रहरीलाई निर्देशन दिएका छन्। 

शुक्रबार नेपाल प्रहरी प्रधान कार्यालयको निरीक्षण भ्रमणका क्रममा प्रहरी कर्मचारीहरुलाई निर्देशन दिँदै गृहमन्त्रीले यस्तो बताएका हु्न्। 

'विभिन्न राजनीतिक दलका आवरणमा संरक्षित गुण्डागर्दीविरुद्ध निर्मम भएर प्रहरी कारवाही गर्न विशेष निर्देशन गर्दछु', उनले भने, 'सीमाक्षेत्रमा हुने भन्सार छली, तस्करी तथा अन्य अनियमितता, लागूऔषध विक्री वितरण र सेवनलाई पूर्णत: निस्तेज पार्न विषेश कार्ययोजना बनाई कार्यसम्पादन गर्नुस्।' 

उनले नागरिकको अपेक्षाअनुरुपको चुस्त दुरुस्त सेवा प्रवाह गर्न गराउन उपस्थित प्रहरी अधिकृतहरूलाई निर्देशन दिए। 

सर्वसाधरणका लागि प्रहरी सेवा सहज पहुँचको व्यवस्था र दण्डदहीनताको अन्त्यका साथै भ्रष्ट्राचारमा शून्य सहनशीलताको नीति व्यवहारमा लागू गर्नसमेत उनले निर्देशन दिए। 

'महिला, बालबालिका र जेष्ठ नागरिकहरुको सन्दर्भमा अझ बढी संवेदनशील भएर त्यहीअनुसार सेवा प्रवाह गर्नुस्', उनले नक्सालमा सम्बोधनका क्रममा भने। 

कानुन कार्यान्वयन गर्दा कसैको दबाब र प्रभावमा नपरी निष्पक्ष-पारदर्शी भई सबै प्रहरी कर्मचारीहरू आ-आफ्नो ठाउँबाट इमान्दार हुन पनि उनले आग्रह गरे। 

'सरुवा, बढुवा र वृत्ति विकासको लागि मापदण्ड तयार गरी लागु गरिने र मापदण्ड र कार्य सम्पादनको मूल्यांकनको आधारमा बढुवा र सरुवा गर्ने गराउने व्यवस्था कडाइका साथ पालना गरिन्छ', उनले भने। 

त्यस क्रममा धन्यवाद दिँदै प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहले गृहमन्त्रीबाट भएको निर्देशन कार्यान्वयनका लागि प्रतिबद्ध रहेको बताए। 

उनले  संगठनको नीतिअनुरूप कार्य सम्पादन मूल्याङकनको आधारमा सरूवा, बढुवा पारदर्शी हुने बताए। यसका साथै प्रहरी अधिकृतहरूको सरूवा उनीहरूको व्यावसायिकता तथा दक्षताको आधारमा गरिएको पनि दाबी गरे। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .