ad ad

समाज


तीन दिन देशभर चिसो धेरै बढ्ने, सावधानी अपनाउन विज्ञको सुझाव

तीन दिन देशभर चिसो धेरै बढ्ने, सावधानी अपनाउन विज्ञको सुझाव

फाइल फाेटाे : काठमाडाैँ


नेपालखबर
पुस १७, २०७९ आइतबार १८:५६, काठमाडौँ

आगामी तीन दिन देशभर अत्यधिक चिसो बढ्ने भन्दै बिहानको समयमा बाहिरी चहलपहल कम गर्न विज्ञहरूले सुझाव दिएका छन्।

विज्ञहरूले पश्चिमी वायुको प्रभावका कारण तराई र केही पहाडी क्षेत्रमा मौसम प्रतिकूल देखिएको भन्दै आवश्यक सावधानी अपनाउन आग्रह गरेका हुन्।

केही दिनयता देशभर बाक्लो हुस्सु लाग्ने चिसोको उत्तारचढाव भइरहेको छ। आगामी तीन दिनसम्म देशका अधिकांश स्थानमा शीतलहरको सम्भावना रहेकाले आवश्यक सावधानी अपनाउन विज्ञहरुको सुझाव छ।

न्युज एजेन्सी नेपालसँग कुरा गर्दै जलवायु तथा विपद् विज्ञ डा. धर्मराज उप्रेतीले पश्चिमी वायुका कारण चिसो बढिरहेको बताए। उनले आजदेखि तीन दिनसम्म देशको अधिकांश भागमा शीतलहरको सम्भावना रहेको भन्दै आवश्यक सावधानी अपनाउन आग्रह गरे।

उनले अबका केही दिनमा चिसो अत्यधिक बढ्ने भन्दै बालबालिका, वृद्धवृद्धा, दीर्घरोगी, मुटुका रोगीहरुले  बिहानको समयमा घरबाहिर निस्किनु उचित नहुने बताए। 

उनले पश्चिम बंगालमा सिर्जना भएको न्यून चापीय अवस्था र पश्चिमी वायुको प्रभावका कारण तुवाँलो लाग्ने, चिसो बढ्ने, हिमपात हुने सम्भावना रहेको पनि बताए। उनले मर्निङवाकमा सकेसम्म चिसोका बेला नजाने, सकेसम्म कोठामा नै योगाभ्यास गर्नुपर्ने बताए।

उनले फोक्सोको क्यानसरदेखि श्वासप्रश्वासमा समस्या, मुटुका बिरामीमा समस्या र बालबालिका र वृद्धवृद्धामा चिसोको असर बढी हुने बताए। जलवायु विज्ञ उप्रेतीले जनवरी, फ्रेब्रुअरी र मार्चमा न्युनतम तापक्रम औसत भन्दा तल हुने र वर्षा पनि कम हुने बताए। उनले हिउँदामा वर्षा कम र चिसो बढी भएको खण्डमा यसको सबैभन्दा बढी असर वायु प्रदूषणमा पर्ने बताए।

जलवायु विज्ञ डा. उप्रेतीले अहिले समुन्द्री सतहको तापक्रम औसतभन्दा कम रहेकाले चिसो बढिरहेको बताए। उनले न्यूनतम तापक्रम घट्दै जाँदा चिसो र शीतलहर बढाउने भएकाले जनवरी ४ सम्म देशको पश्चिमी भागमा यसको असर पर्ने भन्दै सचेत रहन आग्रह गरे।

तापक्रममा हुने परिवर्तन र वायुमण्डलमा हुने परिवर्तनका कारण विश्वको तापक्रमलाई असर गर्ने भन्दै नेपालले पनि चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउनु जरुरी रहेको उनले बताए।

हिउँद महिनामा पानी नपर्दा वायुमण्डलमा प्रदूषण बढ्ने बताए। गत वर्षको यो सिजनमा पानी परिसकेको भए पनि यस वर्ष भने पानी नपरेकाले झनै समस्या सिर्जना हुनसक्ने बताए।

उनले मौसम अनुकूल नहुँदा पश्चिम तराईका केही जिल्लामा चिसोका कारण बिरामी हुने क्रम बढेको र आगामी दिनमा काठमाडौंसहित पहाडी जिल्लामा समेत यसको प्रभाव देखिने बताए।

डा. उप्रेतीले देशभर चिसो बढेकाले बिहानको समयमा बाहिर हिँडडुल भरसक नगर्ने वा घरभित्रै व्यायाम गर्ने, न्यानो लुगा लगाउने, पानीमा धेरै बेर नभिज्ने सुझाव दिए।

उनले बिहान बाहिर हिँड्नै परे मास्कको प्रयोग गर्ने, आगो ताप्दा झ्यालरढोका खोलेर वा पर्याप्त हावा ओहोरदोहोर हुनेगरी मात्र आगो वा हिटर ताप्ने, गाडी चलाउँदा गति सिमित हुनेगरी चलाउने र फोग लाइटको प्रयोग गर्ने, विद्यालयमा केही दिन बिदा वा प्रविधिको प्रयोग गरी सम्भव भएसम्म अनलाइन कक्षा सञ्चालन गर्नुपर्ने सुझाव दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .