कोभिड–१९ महामारीपछि आयुर्वेदिकतर्फको उपचारको आकर्षण बढेको छ। जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र रत्ननगर र त्यस मातहतको कार्यालयमार्फत गत आर्थिक वर्ष २०७७/७८ मा ५६ हजार एक सय २३ जनाले सेवा लिएका छन्।
सेवा लिनेमध्ये बहिरङ्ग सेवा नौ हजार दुई सय ९९, योग सेवा दुई हजार आठ सय ४३, पूर्वकर्म/पञ्चकर्म सेवा दुई हजार सात सय ९४, ज्येष्ठ नागरिक सेवा एक हजार, स्तनपायी आमा तथा शिशु सेवा एक सय ८९, नागरिक आरोग्य स्वास्थ्य सेवा ११ हजार ४४, अन्य सेवा आठ सय १३ जनाले लिएका छन्। यस्तै औषधालय सेवा २९ हजार आठ सय २३ जनाले लिएका छन्।
सेवाग्राही बढेसँगै केन्द्रले सेवालाई विस्तार गर्दै लगेको छ। अधिकारीका अनुसार केन्द्रबाट २३ वटा औषधि निःशुल्करूपमा दिने गरिएको छ भने अन्य आवश्यक औषधि सशुल्क किन्न सकिने गरी फार्मेसी सञ्चालन गरिएको छ। यसैगरी प्रयोगशाला, भिडियो एक्सरेलगायतका सुविधा सञ्चालन गरिएको छ। केन्द्रमा प्रत्येक दिन बिहान ५ बजेदेखि ६ः३० बजेसम्म योगसमेत सञ्चालन हुँदै आएको छ। प्रत्येक मङ्गलबार रगत परीक्षणसहित निःशुल्क मधुमेह क्लिनिक र मधुमेह, उच्च रक्तचाप तौल जाँच एवं परामर्श सेवा सञ्चालन हुँदै आएको छ।
केन्द्र परिसरमै ५० शय्याको अस्पताल निर्माणको प्रक्रिया सुरु भइसकेको छ। यसैगरी प्रादेशिक औषधि उत्पादन केन्द्रको भवन निर्माणको काम सम्पन्न भएर उपकरण खरिद र औषधि उत्पादनको प्रक्रिया अघि बढेको उनले बताए।
केन्द्रले बिहीबार पत्रकारहरूसँग अन्तक्र्रिया कार्यक्रम आयोजना गरी आफूले गरेका गतिविधि र भावी योजनाबारे जानकारी दिएको हो। सो अवसरमा कार्यक्रमका प्रमुख अतिथि रत्ननगर नगरपालिका–१ का अध्यक्ष कुलप्रसाद सापकोटाले केन्द्रको विस्तारका लागि विद्यालयसँग समन्वय गरेर थप जमिनको व्यवस्था गरिएको बताए। उनले रत्ननगरलाई आयुर्वेदिक उपचारको हब बनाउन नगरपालिका लागिपरेको भन्दै आयुर्वेद विद्यालय सञ्चालनका लागि छलफल भइरहेको बताए।
केन्द्र सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्र श्रेष्ठले रोगी बन्न नदिने योगदेखि उपचारसम्मको सेवाको महत्त्व बुझाउन सबै लाग्नुपर्ने बताए। उनले केन्द्रको सेवालाई अझै चुस्तदुरुस्त बनाउन आफू लागिपर्ने भन्दै सबैको सहयोगको अपेक्षा गरे। रासस
21
Shares
प्रतिक्रिया