आइतबार १० बजेर ३२ मिनेटमा काठमाडौंबाट पोखराका लागि यती एयरलाइन्सको नाइन एन एएनसी एटीआर–७२–५०० विमान काठमाडौं एयरपोर्टबाट टेक अफ गर्यो।
चालक दलका वरिष्ठ पाइलट कमल केसी, को–पाइलट अञ्जु खतिवडा, विमान परिचारिका ओसिन आलेमगर र सिर्जना होंगथुन सहित ७२ यात्रु विमानमा थिए।
विमान १० बजेर ५९ मिनेटमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने ‘सेड्युल’ थियो।
पोखरा आकाशमा पुग्न लागेपछि विमान परिचारिकाले सूचना जारी गरिन्– अबको केहीबेरमै हाम्रो विमान पोखरा एयरपोर्टमा अवतरण गर्नेछ। १० बजेर ५० मिनेटमा विमान पोखरा सहरमाथि पुग्यो तर, बेस्सरी मोडियो।
त्यसपछि विमानको पोखरा एयर कन्ट्रोल रुमसँग सम्पर्कविच्छेद भयो। एयरपोर्ट नपुगी विमान सेती खोँचमा खसेको भेटियो।
विमानमा रहेका चालकदलका ४ सहित सबै ७२ यात्रुको निधन भयो। आन्तरिक उडानमा सबैभन्दा बढी मानवीय क्षति भएको यती विमान दुर्घटनाको कारण खुल्न अझै केही दिन लाग्नेछ। किनभने सरकारले ठूलो मानवीय क्षति भएको दुर्घटनाको कारण पत्ता लगाउन पाँच सदस्यीय छानबिन समिति बनेको छ।
तर, काठमाडौं–पोखरा रुटमै दैनिक उडान भरिरहेका यतीकै एक अनुभवी पाइलटले यी तीन कारणले पोखरामा आइतबार यतीको एटिआर विमान दुर्घटनामा परेको हुनसक्ने अनुमान गरे। जुन अनुमान पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका एक अधिकारीको भनाइसँग पनि मिल्न आउँछ।
‘सम्भवतः विमानको इन्जिनमा समस्या भएको हुनसक्छ,’ ती पाइलटले नेपालखबरसँग भने, ‘एयरपोर्टमा अवतरणको अनुमति पाइसकेकोले फाइनल टर्न लिन खोज्दा लेफ्ट इन्जिन फेल भयो अनि रिकभर गराउन सकिएन।’
एटीआर विमानमा दुइटा इन्जिन हुन्छन्। एउटा फेल भयो भने अर्काे इन्जिनको सहायताले कम्तीमा सुरक्षित अवतरण गराउन सकिने भए पनि लो अल्टिच्युडमा पुगिसकेको विमानलाई फेरि रिकभर गराउन नसकिने र यतीले त्यही नियति भोगेको हुनसक्ने उनको भनाई छ।
‘कमल केसी सिनियर अनुभवी पाइलट हो। उहाँलाई यो रुटका बारेमा धेरै कुरा थाहा छ, त्यसमाथि आजको मौसम धेरै राम्रो थियो, भिजिबिलिटीको आधारमा दुर्घटना हुने सम्भावना थिएन,’ ती पाइलटले थपे।
अहिले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आईएलएस सिस्टम जडान गरिएको छ। रनवे ३० र १२ गरी दुई वटा मार्गमा विमान अवतरण हुन्छन्। भिजिबिलिटी ५ किलोमिटर भन्दा कम भएको अवस्थामा रनवे ३० मा ल्यान्ड गर्नुपर्छ।
तर, आइतबारको भिजिबिलिटी ६ किलोमिटर बढी थियो। अर्काे, प्रशिक्षणमा रहेकी को–पाइलट अञ्जु खतिवडाका लागि पनि कोर्स पूरा गरेर पाइलटको सर्टिफिकेट दिनुथियो।
त्यही भएर रनवे १२ को अनुमति विमानले माग्यो। तर, टर्न गर्न नपाउँदै इन्जिन फेल भएको हुनसक्छ।
‘पाइलट कोर्स पूरा गराउन को–पाइलट अञ्जु खतिवडा लेफ्ट सिटमा हुनुहुन्थ्यो, उहाँकै लागि अवतरणका क्रममा १२ रुटको प्रयोग अनुमति मागिएको देखिन्छ,’ दुर्घटनाको सम्भावित कारणबारे ती पाइलटले नेपालखबरसँग भने, ‘रनवे ३० क्रस गरिसकेको हुँदा विमानले लेफ्ट टर्न लियो तर, त्यही बेला इन्जिनले काम गरेन। त्यसलाई रिकभर गर्नै सकिएको हुनसक्छ।’
उचाइमा भएको अवस्थामा विमानलाई सुरक्षित अवतरण गराउन पाइलटले सक्ने भएपनि तल अवतरण गर्न लाग्दा भने निकै गाह्रो हुने उनीहरुको अनुभव छ।
‘तल निकै तल पुगेपछि इन्जिनमा समस्या आयो भने समाधान गर्न सकिँदैन, हामीले सिन एनालिसिस गर्दा त्यही देख्यौँ,’ ती पाइलटले थपे, ‘नत्र त्यो विमानमा सिनियर पाइलट हुनुहुन्थ्यो। उहाँलाई इमर्जेन्सी के गर्ने थाहा भएरै क्विक एक्सन लिइएको देखिन्छ तर, दुर्भाग्यवश दुर्घटना भयो।’
पोखरा विमानस्थलका एक अधिकारीले भने पाइलटले रनवे परिवर्तन गर्नु नै दुर्घटनाको कारक भएको बताए।
‘हाम्रो नर्मल आँखाले हेर्दा ह्युमन इरर देखिन्छ। सबै कुरा नर्मल थियो। ल्यान्डिङको बेला क्याप्टेनबाट कुनै इमरेजेन्सी रिपोर्ट छैन। मौसम, टेक्निकल्ली केही इरर भएको खबर गर्न सकिन्थ्यो,’ ती अधिकारीले नेपालखबरसँग भने, ‘टावरले ३० रनवे दियो, उताबाट १२ रनवे मागियो। त्यो बेलासम्म पनि केही इरर भएको भए खबर गर्न सकिन्थ्यो। पुरानो एयरपोर्टमा ल्यान्डिङ गर्ने विकल्प पनि थियो।’
‘सबै कुरा नर्मल हुँदाहुँदै पनि टर्न गर्ने क्रममा बढी स्पेस लिएको बुझिन्छ, भिडिओहरु हेर्दा पनि त्यस्तै देखिन्छ,’ ती अधिकारीले थपे, ‘ओभरर्टन गर्दा सन्तुलन गुमाएको हो कि भन्ने छ। खासमा सुरक्षित अवतरण भनेको ३० रनवे (पूर्व–पश्चिम) हो तर नर्मल अवस्थामा पाइलटहरु दुवैतर्फबाट ल्यान्ड गर्न खोज्छन्। रेटिङ बढाउने कुरा पनि हुन्छ। अर्को कुरा, पाइलटले दुवै साइडबाट ल्यान्ड गर्नुपर्ने पनि हुन्छ।’
विमानस्थलका अधिकारीले पाइलटको दोष देखाइरहँदा पाइलटहरुले विमान खराबीको कुरा उठाएका छन्।
तर, नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगनाथ निरौलाले पाइलट र एटीसीबीच कुनै ‘मिस कम्युनिकेसन’ नभएको दाबी गरे।
‘पाइलट र एटीसीबीच अन्तिमसम्मै कम्युनिकेसन भैरहेको थियो,’ निरौलाले भने, ‘जहाज दुर्घटना नभएको भए १० सेकेन्डमै अवतरण गरिसक्थ्यो।’
उनले दुर्घटना के कारणले भयो अनुमान गर्नै नमिल्ने बताउँदै अध्ययनपछि मात्रै थाहा हुने बताए।
१५ वर्षअघि बनेको सो एटीआर जहाज सुरुमा भारतको किङफिसर कम्पनीले २००७ देखि २०१२ सम्म चलाएको थियो। त्यसपछि २०१३ देखि २०१८ सम्म थाइल्यान्डको नोक एयरले यसलाई चलाएको थियो। यतीले २०१९ मा नेपालमा यसलाई भित्र्याएको हो।
नेपालमा चलाउन थालेको ३ वर्षमै यो विमान दुर्घटना भएपछि यसका प्राविधिक पक्षका बारेमा कुरा उठ्न थालेको छ।
Shares
प्रतिक्रिया