ad ad

समाज


असारे विकासः हिलाेमाथि निर्माणाधिन नाला बनिनसक्दै भासियाे

असारे विकासः हिलाेमाथि निर्माणाधिन नाला बनिनसक्दै भासियाे

गोकुल जोशी
असार ११, २०७६ बुधबार ८:४३,

कञ्चनपुरको भीमदत्त नगरपालिका–४ गोबरियामा प्रदेश पूर्वाधार विकास कार्यक्रम अन्तर्गत निर्माण भइरहेको ढल निकास नाला निर्माण गर्दागर्दै भत्कँदै गएकाे छ।

सुदूरपश्चिम प्रदेश सभा सदस्य तथा उद्योग, वन, पर्यटन तथा वातावरण राज्यमन्त्री प्रकाश रावलको प्रदेश पूर्वाधार विकास अन्तर्गत निर्माण भइरहेकोे नालामा गुणस्तरहिन काम भएको भेटिएको हो।

प्रदेश पूर्वाधार विकास अन्तर्गत झण्डै ७ लाख ४५ हजारको लगानीमा निर्माण भइरहेको नाला एकातर्फबाट निर्माण कार्य जारी छ भने अर्कोतर्फ भत्किँदै छ।

सुदूरपश्चिम प्रदेश सरकारको लगानीमा निर्माण भइरहेको नालामा कमसल खालको सामाग्री प्रयोग भएको भेटिएको छ। आर्थिक वर्ष २०७५/०७६ को अन्तिमतर्फ निर्माण भइरहेको नालामा कमसल खालको निर्माण सामाग्री प्रयोग गर्दा निर्माण भइरहेकै समयमा नाला भत्किएको छ तर अनुगमन गर्ने निकाय भने बेखबर छ।

भीमदत्त नगरपालिका–४ गोबरियामा नाला निर्माणका लागि सुदूरपश्चिम प्रदेश सरकारबाट जेठ १० गते रकम आएको छ। आर्थिक वर्षको अन्त्यतिर बजेट आएपछि काम सक्ने चटारोले गुणस्तरिय काम हुन नसकेको स्थानीयको बुझाइ छ। उक्त नाला निर्माणको काम उपभोक्त समितिमार्फत भइरहेको छ। समितिका अध्यक्ष तेज बहादुर मल्ल हुन्।

nala2

११८ मिटर लम्बाई, २ फिट उचाइको निर्माणाधिन नाला निर्माण भएको दुई हप्ता नबित्तै भत्किन थालेको हो। नालामा गरिएको कंक्रिटको काम पनि पानीको दलदलमा गरिएको छ। आर्थिक वर्षको अन्तमा काम सक्ने चटारोले गर्दा पानी परिरहेकै समयमा नालामा पानी भएको अवस्थामा कंक्रिट गरिएको छ।

‘नालामा पानी भएकै समयमा कंक्रिट गरियो, यो नालाको काम हतार हतारमा कमजोर तरिकाले गरिएको छ, १/४ को मसला हाल्नु पर्ने हो १/५ मसला हालेका छन्।’ स्थानीय दीपकचन्द्र जोशीले भने, ‘वर्षको अन्ततिर बजेट सक्नका लागि यस्तो काम गरेको हो।’

ढल निकासको समस्या रहेको सो क्षेत्रमा नाला निर्माणको कामको योजना समेत अपुर्ण छ। सो समितिले ११८ मिटर मात्र नाला निर्माण गर्ने योजना छ। तर त्यहाँका स्थानीयलाई भने सो नाला निर्माण सम्पन्न पश्चात् कहाँबाट ढल निकास गर्ने भन्ने समस्या छ। अर्थात ११८ मिटर ढल निकासको नाला पछि निकास हुने नाला छैन। स्थानीयहरुले नै आफ्नो लगानीमा पाइप हालेर ढल निकास गर्ने गरेका छन्।

प्रदेश सरकारको सहयोगमा निर्माण भइरहेको नाला निर्माणको योजनाले अगाडिको नाला खोल्ने योजनालाई समेट्न सकेको छैन। ढल निकासको अन्य काम नगरपालिकाले गर्ने भन्दै पन्छिएको छ। बर्खाको समयमा धेरै पानी आउने उक्त नालामा आएको पानी निकास हुने कुनै ठाउँ छैन।

यता भीमदत्त नगरपालिकाले समेत उक्त नालाको निकासका लागि आर्थिक वर्ष २०७५/०७६ मा काम गर्न नसकिने जनाएको छ। भीमदत्त नगरपालिका–४ का वडाध्यक्ष लक्ष्मीदत्त बोहराले यस वर्ष दुई ह्युम पाइप उपलब्ध गराएको जनाए। यस वर्ष यो भन्दा बढी केही गर्न नसकिने उनले सुनाए। यसले गर्दा सो नाला निर्माणको काम यस वर्ष नहुने स्पष्ट भएको छ।

nala3

नाला निर्माणको काम गर्दा उपभोक्ता समितिले स्थानीयहरुसँग समन्वय नगरी काम गरेको आरोप लागेको छ। स्थानीयसँग छलफल नै नगरी एक्कासी जेसिबीे ल्याएर नाला खोल्ने काम गरेको स्थानीयको आरोप छ। ‘निकास नभइकनै, नाला खोद्ने काम भइरहेको छ, स्थानीयसँग समन्वयन नै नगरी यहाँ नाला खोदिएको छ, अझ हिजो जेसिबीले आफुले बनाएको पाइपको नालालाई भत्काएको छ।’ स्थानीय दीपकचन्द्र भट्टले भने, ‘११८ मिटर नाला निर्माण पछि हाम्रो काम हैन नगरपालिकाले गर्ला निर्माण गर्ने भन्दै निकासको काम अलपत्र छाडिएको छ।’

ह्युम पाइप नभएकै अवस्थामा धेरै नाला खनिएको स्थानीय हरिश भण्डारीले बताए।

निर्माणकाे काममा कुनै कसर बाँकी नराखी प्रदेशबाट उपलब्ध रकम अनुसार नै काम भइरहेको उपभोक्ता समितिका अध्यक्ष तेज बहादुर मल्लले दाबी गरे। बाँकी नरहेको नाला निकासको कामका लागि नगरपालिकाले पहल कदमी चाल्नु पर्ने उनले बताए।

nala4

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .