काठमाडौंको महाराजगञ्जमा बुधबार गरिएको विशेष चेकिङका क्रममा यान्त्रिक अवस्था ठिक नभएका १३ ओटा सवारी साधनका चालकलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ।
दक्ष तालिम प्राप्त प्राविधिक सहितको टोलिद्वारा ७५ भन्दा बढी सवारी साधन चेक गर्दा हेण्डब्रेक नभएका, लाइटहरु दुरुस्त नभएका, टायर धेरै घिस्रिएका लगायत अवस्था ठीक नभएका १३ ओटा सवारी साधनका चालकलाई कारबाही गरिएको हो।
नियन्त्रणमा लिएका कागजपत्र सवारी साधन मर्मत पश्चात तोकिएको जरिवाना तिरी फिर्ता दिइने ट्राफिक प्रहरीले जनाएको छ।
अवस्था ठिक नभएका सवारी साधन चलाउँदा दुर्घटनाको जोखिम हुने हुनाले सवारी साधनको अवस्था चेकजाँच गरी दुरुस्त अवस्थामा रहेका सवारी साधन मात्र चलाउन काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवम् प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले अनुरोध गरेका छन्।
अवस्था ठीक नभएका सवारी साधनलाई कारबाही गर्दै आएको ट्राफिक प्रहरीले गत भदौ १५ गते देखि अभियानकै रुपमा कारबाहीलाई थप तीब्रता दिँदै आएको छ।
Shares
प्रतिक्रिया