ad ad

समाज


निहारिका र शिवराजले गरे विवाह

निहारिका र शिवराजले गरे विवाह

नेपालखबर
माघ २७, २०७९ शुक्रबार १५:१, काठमाडौँ

निहारिका राजपुत भन्ने सोनाली कुमारी सिंह र शिवराज श्रेष्ठले विवाह गरेका छन्। अदालतमा गएर मिलापत्र गरेको २ हप्तापछि उनीहरुले औपचारिक रुपमै विवाह गरेका हुन्। 

निहारिका र शिवराजले बिहीबार जनकपुरधामको जानकी मन्दीरमा विवाह गरेका हुन्। निहारिकाले शिवराजलाई बलात्कारको मुद्दा लगाएकी थिइन्।

मुद्दा अहिले पनि उच्च अदालत जनकपुरमा विचाराधीन छ। जिल्ला अदालतले भने शिवराजलाई सफाइ दिएको थियो। 

जिल्ला अदालतले शिवराजलाई बलात्कारको मुद्दामा सफाइ दिएपछि उच्च अदालतमा पुनरावेदन गरिएको छ। उच्च अदालतले फैसला गर्न बाँकी छ।

यसअघि उच्च अदालतले शिवराजको डीएनए गर्न आदेश दिएको थियो। अदालतको आदेशपछि गरिएको डीएनए मिलेपछि शिवराज निहारिकाबाट जन्मिएको बच्चा र उनलाई स्वीकार गर्न तयार भएका हुन्। 

तर उनीहरुले दुई साताअघि जिल्ला अदालत धनुषामा संयुक्त निवेदन दिएर मिलापत्र गरेका थिए। अबदेखि उनीहरु श्रीमान् –श्रीमती भएर बस्न राजी भएका छन्। 

जिल्ला न्यायाधीश ब्रिजेस प्याकुरेलको इजलासले निहारिका र शिवराज सहमति गरेर अदालत पुगेपछि मिलापत्रको आदेश दिएका थिए।

महोत्तरीको जलेश्वर–९ की निहारिका र धनुषाको क्षिरेश्वरनाथ ३ का शिवराजले मिलापत्रमा ३ वर्ष पहिलेदेखिको प्रेमलाई विवाहमा परिणत गरेको उल्लेख गरेका छन्। 

कानुनी हिसावले उमेर नपुगे पनि पत्नीकै रुपमा बस्दै आएको मिलापत्रमा निहारिकाले स्वीकारेकी छन्। अहिले उनीहरुका एक छोरा पनि छन्। 

२०७७ भदौ ५ गते छोरा विहान श्रेष्ठको जन्म भएको थियो। यसअघि यी सन्तान शिवराजकै भएको भन्दै निहारिकाले डीएनए परीक्षण गर्न माग गरेकी थिइन्।

उनीहरुले शिवराज बेरोजगार भएका कारण परिवारमा विवाद भएको बताउँदै त्यो कुरा सामान्य भएको मिलापत्रमा उल्लेख छ।

शिवराजले निहारिकालाई पत्नी भएका कारण यातना नदिएको अदालतमा बताएका छन्। शिवराजले निहारीका अंश लिई अलग बसे पनि मान्ने बताएका थिए। 

‘हामी वादी प्रतिवादीहरु यतिका दिनसम्म मुद्दा लडी बाझी आयौँ, अब उपरान्त मुद्दा नलडौँ, आपसमा मिलिजाऊँ भनी हामीबीच घरसारैमा मिली जाऔँ भनी मिलीआएको व्यहोरा यो छ कि म वादी तथा नाबालक छोरासमेतलाई इज्जत आमदअनुसार खान लाउन औषधोपचार खर्च, छोराको पढाई लेखाई खर्च तथा पिता र पतिको कर्तव्य निर्वाह गर्नेछु’, मिलापत्रमा उल्लेख छ।

२०७८ माघ २४ गते जिल्ला अदालतले सफाइ दिने फैसला गरेपछि सरकारी वकिल कार्यालयले उच्च अदालतमा पुनरावेदन गरेको थियो।

निहारिकाले २०७६ कात्तिक ६ गते शिवराजले जबरजस्तीकरणी गरेको आरोप लगाएकी थिइन्।

बलात्कारपछि आफू गर्भवती भएको बताएकी निहारिकाले २०७७ भदौ ५ गते छोरा जन्माएकी थिइन्।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .