ad ad

समाज


नेपालमा बिहे गरेका भारतीय र पाकिस्तानीको प्रेमकथा जेल पुगेर टुंगियो

नेपालमा बिहे गरेका भारतीय र पाकिस्तानीको प्रेमकथा जेल पुगेर टुंगियो

नेपालखबर
फागुन १२, २०७९ शुक्रबार १३:८, काठमाडौँ

जनवरीमा पाकिस्तानी महिलालाई नक्कली परिचय पत्र दिलाउन सहयोग गरेको आरोपमा एक भारतीय पुरुष पक्राउ परे।

उनले सहयोग गरेको महिला उनकै पत्नी थिइन्।

भारतका २१ वर्षीय मुलायमसिंह यादव र पाकिस्तानकी १९ वर्षीया इकरा जीवानीबीच तीन वर्षअघि अनलाइन लुँडो खेल्दाखेल्दै परिचय बस्यो। अनलाइनमै उनीहरुबीच पिरती बस्यो। तर, विवाह गर्न कठिन हुने दुवैलाई थाहा थियो।

भारत र पाकिस्तानबीच सम्बन्ध तिक्त छ। १९४७ मा भारत विभाजन भएर दुई मुलुक बनेपछि उनीहरुले आपसमा तीन युद्ध लडिसकेका छन्। जसका कारण सर्वसाधारणलाई एकअर्काको मुलुकमा जाने भिसा प्राप्त गर्न कठिन हुन्छ।

त्यसैले गत सेप्टेम्बरमा मुलायम र इकरा दुवै नेपाल पुगे। जहाँ उनीहरुले विवाह गरे। त्यसपछि उनीहरु भारतको कर्नाटक राज्यको राजधानी बेंगलोर पुगेर साथमा बस्न थाले।

तर, जनवरीमा उनीहरुको सुखी जीवनमा दुखान्त आइपुग्यो। इकरालाई अवैध तरिकाले भारत प्रवेश गरेकोमा गिरफ्तार गरियो भने मुलायमलाई ठगी, धोका र अवैध विदेशीलाई लुकाएको आरोप लगाउँदै जेल हालियो।

इकरालाई गतसाता पाकिस्तान डिपोर्ट गरिएको छ भने मुलायम अझै बेंगलोरमै जेलमा छन्।

यो घटनाले उत्तर प्रदेशस्थित मुलायमको परिवार निकै ठूलो चोटमा छ। यो जोडीले मात्र प्रेमका कारण सो कदम चालेको परिवारको भनाइ छ।

‘उनीहरुलाई हामी परिवारमा सँगै बसेको हेर्न चाहन्छौँ,’ मुलायमका दाजु जितलाल भन्छन्, ‘भारत र पाकिस्तानबीचको अवस्थाबारे हामीलाई थाहा छ। तर, उनीहरुको गल्ती भनेको प्रेममा पर्नु मात्र हो।’

प्रहरी समेत यसमा सहमत देखिन्छ।

‘अवैध प्रवेश र जालसाजीबाहेक यो प्रेमकथाजस्तो देखिन्छ,’ बेंगलोर प्रहरीका एक उच्च अधिकारीले भने।

उनीहरुको प्रेमकथा २०२० मा कोभिड लकडाउनका बेला सुरु भएको थियो।

मुलायम बेंगलोरको एक आईटी कम्पनीमा सुरक्षागार्डका रुपमा काम गर्थे। इकरा पाकिस्तानको हैदरावाद सहरमा विद्यार्थी थिइन्।

अनलाइन भेट भएपछि उनीहरुबीच लामो दुरीको सम्बन्ध सुरु भयो। इकरामाथि विवाह गर्ने दबाब बढ्दै थियो। 

मुलायमकै सुझावमा उनले पाकिस्तान छाडिन् र दुबई हुँदै नेपाल पुगिन्। नेपालमै हिन्दी रीतपूर्वक उनीहरुले एक मन्दिरमा विवाह गरे र भारत पुगे।

तर, इकरासँग भारतमा बस्नका लागि आवश्यक कागजात थिएन। त्यसैले मुलायमले उनलाई एउटा नक्कली आधारकार्ड बनाइदिएको प्रहरीको भनाइ छ।

प्रहरीका अनुसार मुलायम हरेक दिन काममा जान्थे। इकरा घरमै बस्थिन्। 

तर, उनी बारम्बार ह्वाट्एपमार्फत घरमा आमालाई कल गरिरहन्थिन्। जसका कारण उनी प्रहरीको नजरमा परिन्।

बेंगलोर प्रहरीका अनुसार गत महिना उच्च सतर्कता अपनाइएको थियो। किनभने सो सहरमा दुई ठूला अन्तर्राष्ट्रिय कार्यक्रम हुँदै थिए– एरो इन्डिया एयर शो र जी२० का अर्थमन्त्रीहरुको बैठक। 

अनुसन्धानपछि इकरालाई पक्राउ गरियो र अवैध रुपमा प्रवेश गरेको भन्दै २० जनवरीमा सोसम्बन्धी कार्यालयमा सुम्पिइयो। उनलाई फेब्रुअरीमा पाकिस्तान डिपोर्ट गरियो।

‘अहिलेसम्मको अनुसन्धानबाट उनले अवैध रुपमा भारत आउने बाहेक कुनै अपराध गरेको देखिएको छैन,’ बेंगलोरका डेपुटी कमिस्नर एस गिरिशले भने।

पीटीआई न्युज एजेन्सीका अनुसार इकरा घर पुगेको उनका बुबाले पुष्टि गरेका छन्। 

मुलायमकी आमा शान्तिदेवीले दुवै देशको सरकारले उनीहरुको पुनर्मिलनमा सघाउने आशा व्यक्त गरिन्। 

‘उनी मुस्लिम हुन् कि पाकिस्तानी, हामीलाई मतलब छैन। उनी हाम्री बुहारी हुन्। उनको हामी राम्रो ख्याल राख्नेछौँ,’ शान्तिदेवीले भनिन्। बीबीसी 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .