ad ad

समाज


रक्सी खाने ठाउँ र समय व्यवस्थित गरिने मुख्यमन्त्री गुरुङको उद्घोष

रक्सी खाने ठाउँ र समय व्यवस्थित गरिने मुख्यमन्त्री गुरुङको उद्घोष

वाशुदेव मिश्र
असार ११, २०७६ बुधबार १४:२०,

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले बालबालिकाहरुलाई दुव्र्यसनबाट बचाउन अभिभावक सचेत बन्नुपर्नेमा जोड दिएका छन्।

‘म अभिभावहरुलाई भन्छु, आफ्ना बालबालिकाहरुले के गरिरहेका छन् भन्नेमा ध्यान दिनुहोस्, उनीहरु साथीको बर्थडेमा जान्छु भनेर अन्यत्र गएका त छैनन् भन्ने पनि हेर्नुहोस्’, उनले भने, ‘उनीहरुले जे भन्छन्, त्यही दिएर हैन, अनुशासनमा राख्नुहोस्।’

मुख्यमन्त्री गुरुङ बुधबार पोखरामा आयोजत लागूऔषध दुरुपयोग तथा अवैध ओसार–पसार विरुद्धको अन्तर्राष्ट्रिय दिवसमा बोल्दै थिए। उनले सहर वरपरका सराङकोटलगायतका क्षेत्रमा आपत्तिजनक अवस्थामा किशोर किशोरी नै भेटिने गरेको बताउँदै बालबालिकाहरुप्रति बढी ध्यान दिन अभिभावकसँग आग्रह पनि गरे।

विभिन्न अपराधमा संलग्न भई पोखराको बालसुधार गृहमा रहेका १४ देखि १८ वर्षका किशोरहरुमध्ये ३९ जना बलात्कार काण्डमा संलग्न रहेको तथ्याङ्क प्रस्तुत गर्दै उनले भने, ‘अब हेरौँ, हाम्रो समाज कता जाँदैछ?’ उनले पोखरा लागूऔषध, गुण्डागर्दी र वेश्यावृत्तिको सहरको रुपमा कुख्यात रहेको स्वीकार्दै प्रदेश सरकार पोखरालाई सुरक्षित सहर बनाउने अभियानमा लागेको बताए। ‘गुण्डागर्दीमा कमी आएको छ तर हटिसकेको छैन’, उनले भने,‘ यहाँको गुण्डागर्दीको छिटा कहिलेकाहिँ गाउँसम्म पनि पुग्ने गरेको छ।’

उनले नेपालमा जसले जतिबेला र जहाँ चाह्यो रक्सी खान पाइने अवस्थालाई व्यवस्थित गर्न प्रदेश सरकारले तयारी गरिरहेको जानकारी पनि दिए। ‘यहाँ जहाँ पनि रक्सी पाइन्छ, बिहान, दिउसो, राति जतिबेला पनि खान पाइन्छ’,उनले भने,‘कम्तिमा खाने समय र ठाउँ व्यवस्थित गरौँ भन्ने हाम्रो सोच हो।’

कार्यक्रममा करिब ३ घण्टा बिताएका उनले दूव्र्यसनबिरुद्धको अभियान महत्वपूर्ण भएकैले आफूले धेरै समय दिएको उल्लेख समेत गरे।

कार्यक्रममा बोल्दै गण्डकी प्रदेश सभासद राजिव पहारीले लागूपदार्थको दुव्र्यसन न्यूनिकरण गर्न सबै सरोकारवालाहरु एकजुट हुनुपर्नेमा जोड दिए।

गण्डकी प्रदेशका प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक विनोद शर्माले समुदाय प्रहरी साझेदार अभियानअन्तर्गत दुव्र्यसन बिरुद्ध चालिएको कदममा समुदायको भूमिका महत्वपूर्ण हुने बताए।

नार्कोनन नेपालका अध्यक्ष वसन्त कुँवरले लागूऔषध कारोवारीले विभिन्न प्रलोभनमा पार्दै समाजलाई नै दुव्र्यसनमा धकेलेको बताउँदै त्यस्ता व्यक्तिलाई सामाजिक बष्किार गर्नुपर्ने धारणा राखे। कास्की जिल्लाका प्रहरी प्रमुख दानबहादुर कार्कीले कास्की प्रहरी लागूऔषध विरुद्धको अभियानमा सक्रियतापूर्वक लागेको जनाउँदै कारोवारी र दुव्र्यसनी दुबैलाई कडा कारवाही गर्ने बताए।

यसअघि कास्कीमा रहेका विभिन्न आमा समूह, सामाजिक संघ/संस्थाका प्रतिनिधि, विद्यार्थी र प्रहरीसहितको सचेतनामूलक -याली चिप्लेढुंगाबाट सुरु भई जिल्ला प्रहरी कार्यालयसम्म पुगेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .