ad ad

समाज


बाटो बन्यो, पुल छैन, जिपलाई नदी तार्न एक लाख खर्च!

बाटो बन्यो, पुल छैन, जिपलाई नदी तार्न एक लाख खर्च!

नेपालखबर
पुस १९, २०७६ शनिबार ७:२४,

सेनाले ट्र्याक खुला गरेर हस्तान्तरण गरिसकेको जाजरकोट–डोल्पा सडकमा यातायातका साधन लैजान रु एक लाख रकम खर्च हुँदै आएको छ। कूल ११७ किलोमिटर लम्बाइ रहेको यस सडकखण्डका बीच–बीचमा ‘मोटरेवल’ पुल नहुँदा सवारी साधन लैजाँदा एक लाख रकम तिर्न बाध्य हुनुपरेको हो।

भेरी नदीको तीरैतीर रहेको सडकखण्डको बीचमा वारपार गर्दा तुइन प्रयोग गर्नुपर्ने भएकाले रु एक लाख खर्च हुँदै आएको छ। पुल निर्माणका लागि लागत अनुमान र सडक स्तरोन्नतिका लागि वातावरण प्रभाव मूल्याङ्कनको काम पूरा नहुँदा यस सडकमा वर्षेनि सास्ती हुँदै आएको हो। जाजरकोट सदरमुकामबाट नलगाड नगरपालिका तल्लुबगरसम्म हिउँदयाममा बस सञ्चालन हुने गर्दछन्।

वर्षायाममा खोला र भेरी नदीमा पुल नहुँदा किस्ता–किस्तामा यातायातका साधन सञ्चालन गर्नुपर्ने बाध्यता छ। भेरी नदीका तीन ठाउँ (जाजरकोट र रुकुमको तल्लुमा ५० हजार, डोल्पाको खदाङमा ४० हजार र त्रिपुराकोट बगरमा ६० हजार) खर्च गरेर एकतर्फी यातायातका साधन तुइनमा तारिँदै आएको छ। यहाँका सबै यातायातका साधन भेरी नदीमा वारपार गर्दा यत्तिकै रकम बुझाएर यातायात सञ्चालन गर्दै आएका छन्।

डोल्पाका स्थानीय तहले मोटरसाइकल खरीद गरेर जिल्लामा पु¥याएका छन्। अहिले यातायातका साधन लैजाने तयारी थालेका छन्। डोल्पामा पहिलोपटक भौतिक पूर्वाधार विकास कार्यालयले तुर्वन तारेको मात्र रु एक लाख ५० हजार खर्च गरेर जिप दुनै पु¥याएको बताएको कार्यालय प्रमुख योगेन्द्र धरालाले जानकारी दिनुभयो ।

तुइनमार्फत यातायातका साधन तार्दा क्षति हुने गरेको छ। भेरी नदीमा फलामको लहरोमा गाडी तार्दा आस मारेर गाडी तार्नुपर्ने बाध्यता रहेको नलगाड नगरपालिकाका सुरेन्द्र सिंहले बताए। ‘यात्रुबाट कमाएको सबै रकम गाडी तार्दा सकिन्छ, कच्ची बाटोमा जिप चलाउँदा प्रत्येक साता मर्मत गर्नुपर्ने बाध्यता छ भने नदी पार गराउँदा लाग्ने खर्चले त झन् खर्च बढाउँछ। सरकारले छिटो पुल र सडकको स्तरोन्नति गरोस्, हामी भगवान् भरोसामा यातायातका साधन चलाउँछौँ उहाँले थपे, ‘हाम्रो पीडा कसले बुझिदिने, त्यसमा पनि प्रहरी चौकीपिच्छे रकम बुझाउनुपर्छ, कुनै बेला यो पेशा नै किन गरेछु भन्ने लाग्छ।’

उनले मात्र होइन, यो सडकमा यात्रा गर्ने जो कोही यात्रुहरु भगवानसँग प्राथना गरेर जिपमा चढ्ने गरेको बताउँछन्। यो बीचमा गाडीमा समस्या आए मर्मत गर्ने ठाउँ नहुँदा धेरै दिनसम्म कामविहीन भएर बस्नुपर्ने पीडा यातायात व्यवसायीको छ।

जाजरकोट–नलगाड कालोपत्रको तयारी

जाजरकोट सदरमुकामदेखि नलगाड नगरपालिकाको दल्लीसम्म सडकको स्तरोन्नतिसँगै कालोपत्रको तयारी शुरु भएको वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले बताए। उनका अनुसार कच्ची कटान गरेर अहिले ट्र्याक खुलाउने काम मात्र भएको छ, बाँकी मर्मतको काम भेरी करिडोर निर्माण कार्यसँगै अगाडि बढ्छ।

विस्तृत योजना प्रतिवेदन (डीपीआर) काम चालू रहेको छ, अबको दुई वर्षभित्र सबै कामको शुरुआत हुने मन्त्री बस्नेतको भनाइ छ। १४ वटा पुलको कामसँगै शुरु हुन लागेको उनको भनाइ छ। पहिलो सडक कच्ची कटान हुँदै, थियो जाजरकोट खण्डमा पुल थिएन। अहिले पुल निर्माण भएका छन्’, मन्त्री बस्नेतले भने, ‘अब निर्माणका सामग्री लिनसमेत सजिलो भएको छ, सबै कामसँगै अगाडि बढ्छन्।’

यही सडक निर्माण नहुँदा डोल्पाको जगदुल्ला जलविद्युत् आयोजनाको कामसमेत गति लिनसकेको छैन। यो आयोजना निर्माण गर्नका लागि सडक पहिलो शर्त बन्दै आएको छ। सडक निर्माण भएमा जान, आउन र सामग्री ढुवानीमा सहज हुने आयोजनाका प्रमुख सञ्जय सापकोटाले बताए। त्यस्तै डोल्पाका आन्तरिक सडक निर्माणकार्यसमेत मुल सडक निर्माणमा भएको ढिलाइले बाधा पुग्दै आएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .