गृहमन्त्री र गृहसचिवले गुप्तचर परिचालनका लागि आफूखुसी खर्च गर्न बनेको कार्यविधिलाई सरकारले खारेज गरिदिएको छ।
सोमबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन्।
'मन्त्रिपरिषद बैठकले गृहमन्त्री र गृह सचिवले गुप्तचर परिचालनका लागि आफूखुसी खर्च देखाउन नपर्ने गरी बनेको कार्यविधि खारेज गरेको छ', उनले बैठकपछि भनिन्, ' गृहमन्त्रालयबाट आएको प्रस्ताव अनुसार गृहमन्त्री र गृहसचिवले आफूखुसी खर्च गर्न पाउने गरी बनेको उक्त कार्यविधि खारेज गर्ने निर्णय भएको हो।
यसअघि शुक्रबार गृहमन्त्रीको पदभार ग्रहण गरेर जिम्मेवारी सम्हालेलगत्तै नारायणकाजी श्रेष्ठले पहिलो महत्वपूर्ण निर्णयका रुपमा सुराकी खर्च कटौती गरेका थिए।
मन्त्री श्रेष्ठले सुराकी खर्च खारेज गर्न मन्त्रिपरिषद्मा प्रस्ताव लाने निर्णय गरेका थिए। कार्यभार सम्हाल्दै उनले यसको प्रक्रिया तत्काल अघि बढाउने बताएका थिए। उनको प्रस्तावअनुसार नै सरकारले गुप्तचर खर्चका नाममा हिसाब नदेखाई गरिने राज्यकोष दोहनमा अंकुश लगाएको हो।
Shares
प्रतिक्रिया