ad ad

समाज


संघीय सरकारलाई मेयर साहको जवाफ : १४ माग पूरा नगरेसम्म सिंहदरबारको फोहोर उठ्दैन

संघीय सरकारलाई मेयर साहको जवाफ : १४ माग पूरा नगरेसम्म सिंहदरबारको फोहोर उठ्दैन

फाइल तस्बिर


नेपालखबर
चैत २९, २०७९ बुधबार १८:३९, काठमाडौँ

काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहले आफूले उठाएका १४ बुँदे माग पूरा नभएसम्म सिंहदरबारदेखि शीतल निवाससम्मको फोहोर नउठाउने अडान लिएका छन्।

संघीय सरकार मन्त्रिपरिषद्को बैठकले साहका गतिविधिलाई अराजक भन्दै सचेत गराउने निर्णय गरेको भोलिपल्ट मेयर साहले आफ्ना मागबारे वार्ता नभएसम्म फोहोर नउठाउने अडान कायमै राखेका हुन्।

महानगर प्रमुख साहले सोमबार अघि सारेका १४ बुँदे मागबारे संघीय सरकार वार्तामा आएर पूरा गर्न तयार नभएसम्म सिंहदरबारको फोहोर नउठाउने निर्णयबाट पछि हट्न नसकिने वडा नम्बर ११ का अध्यक्ष हिरालाल तण्डुकारले नेपालखबरसँग बताए।

'महानगरले उठाएका १४ बुँदे मागबारे संघीय सरकार वार्तामा आउनुपर्छ भन्ने हाम्रो अडान हो। ती मागलाई सम्बोधन गर्न तयार नभएसम्म संघीय सरकार अन्तर्गतका तीनै ठाउँको फोहोर नउठाउने निर्णय यथावत छ', मेयर साहको भनाइबारे उनले भने, 'संघीय सरकारको असहयोगका कारण महानगरले काम गर्न कठिनाइ भएको छ। ती १४ कारण सम्बोधन भएपछि फोहोर उठ्छ।'

वडाअध्यक्ष तण्डुकारले सिंहदरबार, प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार र राष्ट्रपतिको कार्यालयको फोहोर नउठे पनि सर्वसाधारणको नरोकिएको बताए।

'संघीय सरकारका तीन निकायको मात्रै फोहोर नउठेको हो। त्यहाँको फोहोर नउठाउने निर्णयले निरन्तरता पाउँछ', उनले भने, 'सर्वसाधारणको घरको फोहोर उठाउन कहीँ रोकिएको छैन। यदि संघीय सरकारले महानगरका मुद्दा सुन्न तयार भए फोहोर भोलि नै उठ्न थाल्छ।'

के थिए मेयरले उठाएका सवाल
१. गृह मन्त्रालय : अव्यवस्थित बस्ती व्यवस्थापन, ट्राफिक लाइट व्यवस्थापन, मूर्ति चोरी- ३ मन्त्रीसँग पटकपटक पहल, सहमति भएर माइन्युटसमेत भइसकेको तर कार्यान्वयन नभएको।

२. परराष्ट्र मन्त्रालय : विदेशी नियोगले मिचेको फुटपाथ व्यवस्थापन गर्न पत्राचार। 

३. शिक्षा मन्त्रालय : सरकारी विद्यालयको लागि डिजिटल टीभी, शिक्षक सरुवा तथा शिक्षकलाई समयमै तलब दिने सम्बन्धमा- दुई मन्त्रीसँग विभिन्न चरणमा कुरा हुँदा पनि कुरा अगाडि नबढेको। 

४. स्वास्थ्य मन्त्रालय : सरकारी अस्पताल सरसफाइ, बिमा, सर्वोच्च अदालतले दिएको मन्त्रालयको माथिल्लो तल्ला भत्काउने आदेशको पालना, राष्ट्रिय एम्बुलेन्स (१०२) को काठमाडौँ उपत्यकाभरि सेवा दिनलाई बजेट व्यवस्थापन- दुई मन्त्रीसँग विभिन्न चरणमा पहल गरिएको।

५. पर्यटन तथा नागरिक उड्ययन : एयरपोर्टको नक्सा पास, एयरपोर्टको बर्खाको पानीले गर्दा पेप्सीकोला क्षेत्र डुबानको समाधान, एयरपोर्टमा रहेको नेपाल संवत् सुरु भएको ठाउँमा मूर्ति र पार्क बनाउन पहल- दुई मन्त्रीलाई पटक पटक पहल गरिएको। 

६. अर्थ मन्त्रालय : ५२ वर्षदेखि तीनकुनेमा सरकारले जग्गा मिचे पनि जग्गाधनीलाई मुअब्जा दिन आनाकानी, महानगरले पाउनुपर्ने घरबहाल कर नेपाल सरकारले उठाएकोबारे, याङ्री र लार्के खोलाको पानी मेलम्चीमा जोडेर १२ महिना नै काठमाडौँमा मेलम्चीको पानी ल्याउने कार्यक्रम- २ मन्त्रीसँग पटकपटक पहल।

७. सहरी विकास : खोला कोरिडोर, खोला सरसफाइ, खोलामा फोहोर प्रशोधन प्लान्ट, अन्डर पास, बन्चरेमा लिचेडको व्यवस्थापन, माटो क्यापिङको व्यवस्थापन अनि साइटको ग्यास पाइपको व्यवस्थापन, वैकल्पिक बाटोको व्यवस्थापन, काठमाडौँमै फोहोर व्यवस्थापन गर्न कानुन र जग्गा- ४ मन्त्रीसँग पटकपटक पहल। 

८. भौतिक यातायात : रिङरोड विस्तार, उपत्यका यातायात प्राधिकरण गठन- दुई मन्त्रीहरूसँग पटकपटक पहल। 

९. सूचना तथा सञ्चार :आईएसपी र टेलिकमबीच एकीकृत पूर्वाधार सञ्चालनबारे जसले गर्दा देशभर पोलमा तार व्यवस्थापन गर्न सकियोस्- २ मन्त्रीसँग पहल। 

१०. ऊर्जा मन्त्रालय : सडक बत्ती अव्यवस्थित रहेकोलाई व्यवस्थापनमा सहयोग- २ मन्त्रीसँग पहल। 

११. खानेपानी : मेलम्चीको पानी र पाइप व्यवस्थापन, केयूकेएलको उचित व्यवस्थापन पहल- २ मन्त्रीसँग पटक पटक पहल। 

१२. भूमिसुधार मन्त्रालय : सहकारी नियमावली, सहकारी कानुन, सार्वजनिक जग्गा संरक्षण- मन्त्रीसँग पटकपटक पहल। 

१३. सङ्घीय मामिला : तीनकुने विवाद पहल, कर्मचारी सरुवा- दुई मन्त्रीसँग पटकपटक पहल। 

१४. कृषि  मन्त्रालय : मल खरिद तथा उपत्यकामा आउने तरकारीको परीक्षण- मन्त्रीसँग पटकपटक पहल।  

के भन्यो संघीय सरकारले?
यसअघि मंगलवार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिषद्को बैठकले काठमाडौं उपत्यकाको फोहोर उठाउने जिम्मा स्थानीय तहको भएकाले आफ्नो जिम्मेवारीबोध गरेर काम गर्न मेयर साहलाई सचेत गराउने निर्णय गरेको थियो। 

बैठकमा शीतलनिवास, बालुवाटार र सिंहदरबारको फोहोर नउठाउने मेयर साहको अभिव्यक्ति अव्यवहारिक रहेकाले नीतिगत व्यवस्थाको परिपालना गर्न आग्रह गरेको थियो

बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै सरकारकी प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सिंहदरबार, बालुवाटार, शीतलनिवासको फोहोर नउठाउने भन्ने काठमाडौं महानगरका प्रमुखले घोषणा नीतिगत व्यवस्थाविरुरुद्ध रहेको बताएकी थिइन्। 

उनले बैठकमा नीतिगत व्यवस्था अनुसार फोहोर उठाउन आग्रह गर्ने र फोहोर नउठे नीति पालना गर्न सरकारले गम्भीरतापूर्वक ध्यानाकर्षण गराउने विषयमा छलफल भएको बताएकी थिइन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .