दार्चुलामा मृत भेटिएका युवकको पहिचान खुलेको छ। ती युवक नौगाड गाउँपालिका–४ घोपरीका १८ वर्षीय दीपेन्द्र ठगुन्ना रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
नौगाड गाउँपालिका–४ बौला सल्याणनजिक बिहीबार युवा र युवतीको शव फेला परेको थियो। प्रहरीका अनुसार मृतक युवती नौगाड गाउँपालिका–४ डाडाकी सञ्जिला धामी हुन्।
सञ्जिलाको शव चोटपटक लागेको अवस्थामा छ। त्यसकै केही तल भिरमा दीपेन्द्रको शव भेटिएको हो। एउटै उमेर समूहका उनीहरु प्रेम सम्बन्धमा रहेको खुलेको छ।
मृत्युको कारण खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक ज्ञानेन्द्र बहादुर सिंहले बताए।
‘केटाको शव अफ्ट्यारो भिरमा छ, अहिले हामीले शव तल झारेका छौँ,’ उनले भने, ‘मृत्युको कारण खुलेको छैन।’
युवतीको शवभन्दा करिब ४०/५० मिटर पर भिरमा युवकको शव अड्किएको अवस्थामा भेटिएको थियो। शव पोष्टमार्टमका लागि अस्पताल लगिएको प्रहरीले जनाएको छ।
घटनास्थलमा दुइटा मोबाइल फोन पनि फेला परेका छन्। प्रहरीका अनुसार युवकको मोबाइल फुटेको अवस्था छ। युवतीले प्रयोग गर्ने मोबाइलबाट उनीहरु प्रेम सम्बन्धमा रहेको खुलेको प्रहरी स्रोतले जनाएको छ।
‘उनीहरु प्रेम सम्बन्धमा रहेको खुलेको छ, केटीको मोबाइलमा दुवैका फोटो भेटिएका छन्,’ प्रहरी स्रोतले भन्यो, ‘भेटिएको अर्को मोबाइल केटाको रहेनछ, आफ्नो मोबाइलमा चार्ज नहुँदा साथीको मागेर ल्याएका रहेछन्।’
घटनास्थलमा भेटिएको मोबाइल मृतक युवक दीपेन्द्रको गाउँकै साथी रहेको प्रहरीले जनाएको छ। मोबाइलसँग सम्बन्धित दीपेन्द्रका साथीमाथि प्रहरीले सोधपुछ गरिरहेको छ।
मृतक सञ्जिला दिदीको घर बझाङमा बसेर कक्षा ९ मा पढ्थिन्। कक्षा ९ को परीक्षा सकेर उनी चैत १६ मा घर फर्किएकी थिइन्। मृतक दीपेन्द्र दार्चुलामा कक्षा १० मा पढ्थे। एसइई दिएर उनी चैत्र २६ गते घर फर्किएका थिए।
प्रेम सम्बन्धमा रहेका उनीहरु बुधबार राति सिफ्टीको हुली दागडामा लाग्ने गञ्जामा सँगै थिए। नयाँ वर्ष (बिसु) पूर्वसन्ध्यामा १५ चैत्रदेखि नाचगान गर्ने प्रचलन छ। जसलाई स्थानीय भाषामा गञ्जा भन्छन्।
घटनाअघि बिहीबार उनीहरुबीच विवाद भएको स्थानीयले देखेका थिए। ‘घटनाअघि उनीहरुबीच विवाद भइरहेको थियो, मान्छे नजिक जाँदा उनीहरु केही नभएजस्तो गरेर चुपचाप बसिरहेको देख्ने स्थानीयले भनेका छन्,’ प्रहरी स्रोतले भन्यो, ‘घटनाबारे विस्तृत अनुसन्धान भइरहेको छ।’
Shares
प्रतिक्रिया