ad ad

समाज


काठमाडौंमा उच्च प्रदूषण : नेपालकै डढेलो र भारतबाट निस्किने धुवाँले आकाश ढाक्यो

विज्ञ भन्छन् : मास्क लगाएर मात्रै घरबाहिर निस्किनू
काठमाडौंमा उच्च प्रदूषण : नेपालकै डढेलो र भारतबाट निस्किने धुवाँले आकाश ढाक्यो

फाइल तस्बिर


नेपालखबर
बैशाख ३, २०८० आइतबार १४:५७, काठमाडौँ

काठमाडौं विश्वकै बढी प्रदूषण हुने शहरमा पहिलो नम्बरमा पुगेपछि विज्ञहरुले आवश्यक सावधानी अपनाउन आग्रह गरेका छन्। 

हावाको प्रदूषण मापन गर्ने एयर भिजुअल सूचक आइक्यु एयरले काठमाडौंलाई संसारकै प्रदूषित शहरको सूचीको पहिलो स्थानमा राखेको हो। 

शनिवार साँझबाट काठमाडौं संसारमा नै बढी प्रदुषण भएको शहरमा पहिलो, दोस्रो र तेस्रो स्थानमा घटबढ भइरहेको छ। 

वायु प्रदुषणहरु बढिरहेकाले घरबाहिर सकेसम्म ननिस्किन र निस्कनै परे मास्कको अनिवार्य प्रयोग गर्न विज्ञहरुको सुझाव छ।

पछिल्लो समय वनमा लागेको डढेलो, भारतको उत्तरप्रदेशमा बालिएको गहुँको भुसको धुवाँको असर काठमाडौंसहित नेपालका विभिन्न शहरहरुमा परेको विज्ञहरुले बताएका छन्। 

न्यूज एजेन्सी नेपालसँगको कुराकानीमा जलवायु तथा विपद् विज्ञ डा. धर्म उप्रेतीले वागमती प्रदेश र वरपरको वनको आगलागीका कारण काठमाडौं प्रदूषित शहरमा पहिलो नम्बरमा परेको बताए।

उनले प्रदूषण बढ्नुमा आगलागी र सडकको धुवाँधुलो प्रमुख कारण रहेको बताए। 

विज्ञ उप्रेतीले नेपालमा अहिले पश्चिमी वायुको प्रभाव कम रहेकाले पनि हावा बहन नपाएको र हावा नबहँदा उपत्यकामा प्रदूषण बढेको बताए। 

आजबाट नै पश्चिमी वायु नेपालमा प्रवेश गर्ने भए पनि प्रदूषण हट्न अझै केही दिन लाग्ने उनले बताए। अहिले विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले तोकेकोभन्दा २२ गुणा बढी प्रदूषण काठमाडौंमा रहेको उल्लेख गरे।

‘हिजो साँझ काठमाडौं संसारकै पहिलो प्रदुषण बढी भएको शहरमा मापन भएको थियो। आज बिहान बंगलादेशको ढाकामा सरेको छ। फेरि बेलुकासम्म काठमाडौं हुनसक्छ। समग्रमा अहिले प्रदुषण सबैभन्दा बढी हुने दक्षिण एशियामा हो, त्यसमा सबैभन्दा बढी भारतमा १० वटा शहर पर्दछन्। हामीकहाँ कहिले काहीँ केही कारणले सर्छ र हामी पनि पहिलोमा पर्छौं', उनले भने, 'अहिले वनमा आगो लागेको छ, यो पनि एउटा प्रमुख कारण हो। बागमती प्रदेश र वरपरको डढेलो र भारतको बिहार-उत्तरप्रदेशमा बालिएको आगो पनि कारण हो। त्यहाँ गहुँको भुससहित जलाउन बालेको आगोले नेपालमा प्रदूषण भएको हो।'

उनका अनुसार आगोका कारण पनि प्रदूषण बढेको हो। त्यसैगरी सडकबाट उड्ने धुलो र सवारीसाधनको धुवाँका कारण  पनि अवस्था भयावह भएको हो। 

'अहिले पश्चिमी वायुको प्रभाव कम छ। वायु चलेन भने काठमाडौंमा प्रदूषण रहिरहन्छ। त्यसको असर अहिले काठमाडौंमा छ। आजैबाट पश्चिमी वायु नेपाल प्रवेश गर्दैछ। अझै दुई दिनसम्म यस्तो अवस्था भइरहन्छ। पश्चिमी वायुको असर काठमाडौंमा हुन्छ। यसले केही राहत दिन्छ। विश्व स्वास्थ्य संगठनले तोकेकोभन्दा २२ गुणा बढी प्रदूषण काठमाडौंमा बसेको छ, यो हिजो २५ गुणा बढी थियो', उनले भने, 'एउटा कुरा मास्कको प्रयोगलाई अनिवार्य गर्नुपर्छ, थोरैमा एक महिनासम्म। सडकमा धुलो छ, कि त्यहाँ पानी छरौँ, कि कालोपत्रे गरौँ। सकिँदैन भने धुलो उडाउने काम बन्द गरौँ।'

गहुँ भित्र्याउँदादेखि भुस पोल्ने क्रम बढ्दै जाने भएकाले पश्चिमी वायु कमजोर हुँदै जाँदा प्रदुषणको मात्रा झनै बढ्ने बताइएको छ। 'केही दिनको लागि धुँवा निकाल्ने सवारी साधन र मापदण्डबाहिरका सवारी साधनलाई केही दिन कम वा बन्द गर्नुपर्छ। यसले ब्लड प्रेसर बढाउँछ, मुटुको समस्या हुन्छ', उनले भने, 'हामीले दिनदिनै विष खाइरहेका छौँ, यसबारे सचेत हुनुपर्छ।’

जलवायु तथा विपद्विज्ञ उप्रेतीले प्रदूषणबाट बच्न सरकारले आमनागरिकलाई मास्कको अनिवार्य प्रयोग गर्न आग्रह गर्नुपर्ने सुझाव दिए। 

'सडक निर्माणका क्रममा अलपत्र बनाइँदा धुवाँ र धुलो धेरै भएकाले सडक कालोपत्रे गर्न र कालोपत्रे गर्न नसके सडक भत्काउने काम बन्द गर्नुपर्छ', उनले भने, 'वायु प्रदूषण्का कारण ब्लड प्रेसर बढ्ने, मुटुको समस्या, क्यान्सर लगायतका समस्याहरु बढ्छन्।'

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .