ad ad

समाज


भूपू गोर्खाका समस्या दीर्घकालीन समाधान गरिदिन बेलायत सरकारसँग आग्रह

भूपू गोर्खाका समस्या दीर्घकालीन समाधान गरिदिन बेलायत सरकारसँग आग्रह

नेपालखबर
बैशाख ७, २०८० बिहिबार १७:२७, काठमाडौँ

भूपू गोर्खाको माग सम्बोधनका विषयमा गठित द्विपक्षीय समितिको बैठक लण्डनमा सम्पन्न भएको छ। 

बुधबार संयुक्त अधिराज्यको रक्षा मन्त्रालयमा रक्षा तथा पूर्वसैनिक जवान तथा तिनिहरूका परिवारको रेखदेख गर्ने मन्त्रालयका मन्त्री एन्ड्रियु मुरिसन तथा संयुक्त अधिराज्यका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यबीच भूपू गोर्खाको माग सम्बोधनका विषयमा गठित द्विपक्षीय समितिको दोस्रो बैठक सम्पन्न भएको छ।

बैठकमा विशेष गरी ३ नोभेम्बर २०२२ मा भएको समितिको पहिलो बैठक तथा प्राविधिक तहमा भएको छलफलका आधारमा पेन्सन एवं कल्याणकारी सुविधाका बारेमा भएको प्रगतिको समीक्षा गरिएको थियो। साथै यसअघि प्राविधिक तहमा छलफल गर्न बाँकी केही विषयमा पुनः प्राविधिक तहको बैठक र सेप्टेम्बरमा द्विपक्षीय समितिको अर्को बैठक बस्ने तय भएको लण्डनस्थित नेपाली दूतावासले जनाएको छ।

राजदूत आचार्यले नेपाल र संयुक्त अधिराज्यबीच रहीआएको ऐतिहासिक सम्बन्धलाई दृष्टिगत गर्दै यसको आधारस्तम्भको रुपमा रहेका भूपू गोर्खाका मागका विषयमा दीर्घकालीन समाधानका लागि पहल गर्न रक्षा राज्यमन्त्रीलाई अनुरोध गरेको दूतावासका प्रवक्ता तथा उपनियोग प्रमुख रोशन खनालले बताए।

बैठकमा परराष्ट्र मन्त्रालयका युरोप अमेरिका महाशाखा प्रमुख दिलीप पौडेलले पनि नेपाल सरकारको तर्फबाट भूपू गोर्खाको माग सम्बोधनका विषयमा आफ्नो विचार राखेका थिए। भूपू गोर्खाको तर्फबाट जुदबहादुर गुरुङले सम्बोधन हुन बाँकी सबै मागका विषयमा विस्तृतमा आफ्नो धारणा राखेका थिए।

बैठकमा नेपाली राजदूतावासका उपनियोग प्रमुख रोशन खनाल, सैनिक सहचारी महासेनानी रत्नबहादुर गोदार तथा भूतपूर्व गोर्खाको तर्फबाट धर्मबहादुर तामाङ, कृष्णबहादुर राई तथा बेलायत सरकारको तर्फबाट रक्षा मन्त्रालय र अन्तर्गतका अधिकारीको सहभागिता थियो। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .