ad ad

समाज


इदले राष्ट्रिय सद्‌भाव र एकता प्रवर्द्धनमा योगदान पुग्ने कार्यवाहक राष्ट्रपतिको विश्वास

इदले राष्ट्रिय सद्‌भाव र एकता प्रवर्द्धनमा योगदान पुग्ने कार्यवाहक राष्ट्रपतिको विश्वास

फाइल तस्बिर : कार्यवाहक राष्ट्रपति रामसहायप्रसाद यादव


नेपालखबर
बैशाख ९, २०८० शनिबार ६:४२, काठमाडौँ

कार्यवाहक राष्ट्रपति रामसहायप्रसाद यादवले मुस्लिम समुदायको इद (इदउल फित्र) पर्वको अवसरमा इस्लाम धर्मावलम्बी दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, सुस्वास्थ्य र समृद्धिको कामना गरेका छन्।

इदका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उनले मुस्लिम समुदायको बसोबास रहेका सबैजसो भागमा मनाइने इद पर्व नेपाली समाज र सांस्कृतिक विविधताको परिचायकका रूपमा समेत रहेको उल्लेख गरेका छन्। 

इदलाई मुस्लिम समुदायले आपसी रिस, राग र द्वेष बिर्सेर आपसमा खुसीयाली सद्‌भाव र शुभकामना आदानप्रदान गरी हर्षोल्लासका साथ मनाउने गरेको स्मरण गर्दै उनले विशेष नमाज पढिसकेपछि आफूभन्दा ठूलाबडाबाट आशीर्वाद लिने र आफूभन्दा सानालाई आशीर्वाद दिँदै मिष्ठान्न एवं स्वादिष्ट परिकार खाने र खुवाउने परम्परा यस पर्वमा रहेको उल्लेख गरेका छन्। 

उनले यस पर्वले मुस्लिम समुदायको आफ्नो मौलिक संस्कृति र परम्पराको संरक्षण, सम्वर्द्धन र विकासका साथै राष्ट्रिय सद्‌भाव र एकता प्रवर्द्धनमा समेत योगदान पुग्ने विश्वास व्यक्त गरेका छन्। 

सामाजिक, धार्मिक एवं सांस्कृतिक विविधताबीचको एकताले नै नेपाली राष्ट्रियतालाई मजबुत बनाउनेमा आफू विश्वस्त रहेको जनाउँदै कार्यवाहक राष्ट्रपति यादवले यस पर्वबाट राष्ट्रिय एकता र सांस्कृतिक ऐक्यबद्धताको भावना सुदृढ भई सभ्य, समुन्नत र समृद्ध समाज निर्माण गर्न थप प्रेरणा प्राप्त होस् भन्ने कामना गरेका छन्। 

राष्ट्रपति रामचन्द्र पौडेल उपचारका सिलसिलामा हाल भारत रहेकाले उपराष्ट्रपति यादवलाई कार्यवाहक राष्ट्रपतिको जिम्मेवारी दिइएको हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .