आज पनि देशभर विभिन्न स्थानमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
त्यसो त अहिले पनि गण्डकी प्रदेशका एक–दुई स्थानमा वर्षा भइरहेको महाशाखाका मौसमविद् रोजन लामिछानेले जानकारी दिए। अन्य ठाउँमा भने यतिबेला पानी परेको देखिएको छैन। तर मौसम देशभर सामान्य बदली (आकाशमा बादल) को अवस्थामा रहेको मौसमविद् लामिछानेले बताए।
मौसम महाशाखाले आज बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार दिउँसो देशका पहाडी भेगमा आंशिकदेखि सामान्य बदली रही बाँकी स्थानमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने छ। कोशी, मधेश र बागमती प्रदेशलगायत देशका पहाडी क्षेत्रका थोरै स्थान तथा बाँकी भूभागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।
मौसमविद् लामिछानेका अनुसार आज काठमाडौँ उपत्यकामा पनि वर्षाको सम्भावना छ। ‘अहिले बिहानीपख पनि छिटफुट वर्षा हुने सम्भावना छ भने दिउँसो र राति पनि पानी पर्ने सम्भावना छ’, उनले भने। उनका अनुसार काठमाडौँ उपत्यकामा आज बेला बेला घाम पनि देखिनसक्छ।
मौसम महाशाखाको बुलेटिनअनुसार आज राति पनि देशका पहाडी भेगमा आंशिकदेखि सामान्य बदली रही बाँकी ठाउँमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने छ। पहाडी भेगका एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित क्षणिक वा हल्का वर्षाको सम्भावना छ।
२४ घण्टे चेतावनी
मौसम महाशाखाले आगामी २४ घण्टा (शुक्रबार बिहान ६ बजेसम्म) का लागि चेतावनी तथा परामर्श पनि जारी गरेको छ।
त्यसमा भनिएको छ– कोशी प्रदेश, मधेश प्रदेश र बागमती प्रदेशलगायत देशका पहाडी भूभागका थोरै स्थान तथा बाँकी भूभागमा एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेकाले सडक तथा हवाई यातायात, कृषि, पर्यटन लगायतका क्षेत्रहरू प्रभावित हुनसक्ने देखिएकाले त्यसबाट हुन सक्ने क्षति/जोखिमबाट बच्न आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।
भोलिबाट मौसम सुधारको सम्भावना
मौसमविद् रोजन लामिछानेका अनुसार क्रमशः मौसम सुधार हुने क्रममा छ। ‘पश्चिमबाट मौसम सुधार हुँदै आएको देखिन्छ, धनगढीतिर अहिले मौसम खुलेको देखिएको छ’, उनले भने, ‘अझ भोलिबाट थप मौसम सुधार हुने सम्भावना छ।’
उनले थपे, ‘यसो भनेर पानी नै पर्दैन भन्ने होइन, यो प्रिमनसुनको सिजनमा दिउँसो दिउँसो बादल बन्ने, मेघगर्जन हुने र हल्काफुल्का वर्षा हुने क्रम त जारी रहन्छ, तर २/४ दिनअघिको जस्तो वर्षाको सम्भावना छैन।’
Shares
प्रतिक्रिया