ad ad

समाज


लुम्बिनी पुगेर प्रधानमन्त्रीले गरे पूर्वीय दर्शनको प्रशंसा

पूर्वीय सभ्यताबाटै आधुनिक विकास सम्भव भएको तर्क
लुम्बिनी पुगेर प्रधानमन्त्रीले गरे पूर्वीय दर्शनको प्रशंसा

लुम्बिनीमा आयोजित कार्यक्रममा प्रधानमन्त्री प्रचण्ड। तस्बिर : प्रदीपराज वन्त


नेपालखबर
बैशाख २२, २०८० शुक्रबार १२:५०, काठमाडौँ

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गौतम बुद्धको जन्मस्थल लुम्बिनी पुगेर पूर्वीय दर्शनको महत्व र यसको प्रशंसा गरेका छन्। 

आफूलाई मौर्य वंशका चक्रवर्ती राजा अशोकसँग तुलना गर्दै उनले पू्र्वीय सभ्यताकै आलोकमा आधुनिक विकासका उपलब्धि सम्भव भएको पनि बताए। 

२५६७ औं बुद्ध जयन्ती तथा लुम्बिनी दिवस २०८० समारोहलाई शुक्रबार सम्बोधनका क्रममा उनले पूर्वीय दर्शन गौरवशाली र वैभवशाली रहेको पनि तर्क गरे। 

‘पूर्वीय सभ्यताको आलोकको रूपका आधुनिक विकासका उपलब्धिले मानवीय विवेक र चिन्तन धारा ध्वस्तप्रायः भइसकेको आजको समयमा अहिंसावादी बौद्ध दर्शनको सान्दर्भिकता अझ बढ्दै गएको छ’, उनले भनेका छन्, ‘संसारका प्रायः सबै धर्म–संस्कृतिले जीवन र जगत्को सारतत्व मनन गरेर उज्यालो पक्षको अनुसरण गर्न प्रेरित गर्छन्।’ 

उनले व्याख्यासहित दार्शिक दृष्टिले दर्शको सबैभन्दा महत्वपूर्ण विषय प्रतीत्य-समुत्पाद भएको पनि चर्चा गरेका छन्। 

‘दार्शनिक दृष्टिले यस दर्शनको सबैभन्दा महत्वपूर्ण विषय प्रतीत्य–समुत्पाद हो’, उनले अगाडि भने, ‘यससको शाब्दिक अर्थ हो, सापेक्ष कारणतावाद अर्थात् कुनै एक वस्तुको उपस्थितिमा अर्को वस्तुको उत्पत्ति हुनु। शून्यता र भविता अर्थात् केही नहुनुको भावार्थमा केही हुनु भन्ने आयामको गहनतालाई प्रतीत्य–समुत्पादले बुझाउँछ।’ 

उनले सम्बोधनका क्रममा सत्ताको स्वरुपबारे बौद्ध माध्यमिक दर्शनका प्रणेता नागार्जुनको परिभाषा पनि सुनाए। 

‘अस्तित्व सत्ताको स्वरूप अस्ति वा नास्ति अर्थात् भए वा नभए, छ वा छैन, दुवै छ वा दुवै छैन भन्ने भावको चतुष्कोटी सिद्धान्तलाई वस्तुको यथार्थ स्वभाव हो भनी बौद्ध माध्यमिक दर्शनका प्रणेता आचार्य नागार्जुनले परिभाषित गरेका छन्’, उनले भने, ‘अनात्मा र अनित्यलाई स्वीकार गर्ने वैभाषिक र सौत्रान्तिक सिद्धान्तले वस्तुको परिवर्तित गुणलाई स्वीकार गर्छ। बलिरहेको दीपशिखाको अनन्त ज्योति र प्रवाहमय नदीको अनन्त धाराको परिवर्तित अस्तित्वको लक्षणार्थमा विज्ञान सत्ताको क्षणिकतालाई बोध गराउने भएकाले प्रतीत्य–समुत्पादलाई अनित्यवाद र क्षणिकवाद पनि भनिन्छ।’ 

उनले अस्तित्वको अनित्यतालाई प्रतीत्य-समुत्पादबाट प्रमाणित गर्न सकिने पनि उल्लेख गरे। ‘अस्तित्वको अनित्यतालाई प्रतीत्य–समुत्पादबाट प्रमाणित गर्न सकिन्छ । वस्तुको स्वभाव क्षण, प्रतिक्षण परिवर्तन भइरहने भएकाले नै  अनित्यवादलाई क्षणिकवाद भनिएको हो’, उनले दार्शनिकको शैलीमा भने, ‘दार्शनिक दृष्टिले प्रतीत्य–समुत्पादभित्र ३ दाशर्निक पक्ष छन्, अनीश्वरवाद, अनित्यवाद र क्षणिकवाद।’

उनले त्यसक्रममा पूर्वीय समाज र दर्शनको विकास प्रक्रिया विश्व मानचित्रमा नै अग्रणी मानिँदै आएको बताए। ‘पूर्वीय सभ्यता, दर्शन र चिन्तन परम्पराका दृष्टिले हामी वैभवशाली र गौरवशाली दुवै छौँ। किराँत दर्शन, बुद्ध दर्शन, षड्दर्शन लगायत नेपाली दर्शनहरूमा भौतिकवादी चेत, गतिको नियम, नैतिक शिक्षा र जीवन मूल्यका अनगिन्ती आयामहरू छन्’, उनले अगाडि भने,  ‘तिनीहरूको वैज्ञानिक खोज एवम् अनुसन्धानका आधारमा नेपाली दर्शनको संरक्षण, प्रवर्द्धन एवम् विकासका निम्ति नेपाली बौद्धिक समुदायले विशेष पहल लिन आवश्यक छ।’ 

उनले नेपालको मौलिक दर्शन र चिन्तन परम्परालाई नजरअन्दाज गरेर सभ्यता र समृद्धिको यात्रामा सफलता प्राप्त गर्न पनि नसकिने बताए। ‘ज्ञान र दर्शनको कुनै राष्ट्रिय सीमा हुँदैन, मानवजातिले विश्वभरि आर्जन गरेका ज्ञान र अनुभवहरू हामी सबैका साझा सम्पत्ति र गौरवसमेत हुन्’, उनले अगाडि भने, ‘यद्यपि हामीले हाम्रो विशिष्टता र मौलिकताको सम्वर्धन र विकास गरेर मात्र ज्ञानविज्ञानको क्षेत्रमा नयाँ पहल लिन सक्छौँ।’ 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .