ad ad

समाज


पर्यटकलाई नारायणहिटीमै ४ घण्टा टिकाउने भेषनारायणका यी ४ योजना

पर्यटकलाई नारायणहिटीमै ४ घण्टा टिकाउने भेषनारायणका यी ४ योजना

यज्ञराज जोशी
पुस २४, २०७६ बिहिबार १२:०,

२०७२ वैशाख १२ गतेको भूकम्पले ऐतिहासिक चाँगुनारायण मन्दिरलाई नराम्ररी क्षति पुर्यायो। अवस्था नियालेपछि तत्कालीन अर्थमन्त्री रामशरण महतलाई लिच्छवीकालीन राजा हरिदत्त बर्माले ईसापूर्व ३२३ मा बनाएको यो पुरातात्विक धरोहर जोगाउन सकिएला भन्ने लागेको थिएन।

त्यसैले उनले तत्कालीन पुरातत्व विभागका महानिर्देशक भेषनारायण दाहाललाई निराशभाव दर्शाउँदै सोधिहाले, ‘जोगाउन सकिन्छ?’

तीन दशक पुरातत्व विभागमा रहेर अनुभव संगालेका महानिर्देशक दाहाल भने त्यो ऐतिहासिक धरोहर जोगाउन सकिन्छ भन्नेमा विश्वस्त थिए। अर्थमन्त्री महतको असम्भव भावलाई चुनौती दिँदै उनले भने, ‘म यसलाई जोगाएरै छाड्छु।’

नेपाली इतिहास, संस्कृति र पुरातत्व विषयमा स्नातकोत्तर र भारतबाट पनि फिल्ड आर्कियोलोजीमा स्नातकोत्तर दाहालले तुरुन्तै जीर्ण चाँगुनारायणमा टेको लगाएर तत्कालीन सुरक्षाको व्यवस्था गरिहाले।

यो पनि: जसले यतीलाई आकार दिए

‘त्यतिबेलै टेको नलगाएको भए चाँगुनारायाणलाई जोगाउन नसकिने रहेछ,’ दाहाल सम्झिन्छन्, ‘टेको लगाएकै परिणाम वैशाख २९ गतेको भूकम्पबाट चाँगुनारायण ध्वस्त हुनबाट जोगाउन सकियो। अहिले सबलीकरण गरेर चाँगुनारायणलाई पुनर्जीवित पार्न सकियो।’

चाँगुनाराणलाई दुरुस्त पारेपछि दाहालले महतसहित सबैबाट बधाई बटुले। त्यसबाहेक भूकम्पले भत्काएका संरचना पुनर्निर्माण दौरान पुरातत्वका महानिर्देशक दाहालले खेलेको भूमिकाले चौतर्फी चर्चा पाएको थियो।

‘सात वर्ष महानिर्देशक हुनु लामो समय हो। त्यस समयमा यो गर्न पाइएन भन्ने मलाई कुनै पश्चात्ताप छैन’, दाहाल भन्छन्, ‘त्यो पदमा रहँदा ऐनले दिएको अधिकार, कार्यक्षेत्र, बजेट मैले भरपूर प्रयोग गरेँ।’

विरोधबीच सार्वजनिक सुनुवाइ गरेर काष्ठमण्डपको नक्सापास गर्नु, धरहराको ड्रइङ र डिजाइन पारित गरेर पुनर्निर्माण प्राधिकरणलाई दिनु, रानीपोखरीको काम अघि बढाउनु, वसन्तपुर दरबार क्षेत्रको गद्दी बैठक (सम्पन्न) अमेरिका र नौतले दरबार (निर्माणाधीन) पुनर्निर्माणका लागि चीनसँग सम्झौता गर्नु, स्वयम्भूको आनन्दकुटी विहार तथा रातो मछिन्द्रनाथ मन्दिर श्रीलंकाको सहयोगमा सम्पन्न गर्नु, चाबहिलको बौद्धनाथ स्तूपा सम्पन्न गर्नेलगायत कार्य उनकै कार्यकालमा भए।

bhesh narayan1
सात वर्ष पुरातत्व विभागको महानिर्देशक रहेका भेषनारायणलाई सरकारले भर्खरै नारायणहिटी संग्राहलको कार्यकारी निर्देशकमा नियुक्त गरेको छ 

महानिर्देशक हुनुअघि पनि उनको कामले प्रशंसा पाएको थियो। २०५० सालमा भारतको बनारसमा रहेको ललिता घाटमा निर्मित नेपाली मन्दिर र धर्मशाला जीर्ण मात्रै थिएनन्। स्थानीय पण्डा (पण्डित)ले समेत कब्जा गरी बसेका थिए।

बनारसमा ६ वर्ष बस्दा दाहालले २७ वर्षदेखि पण्डाको कब्जामा रहेको मन्दिर र धर्मशाला मुक्त मात्रै गरेनन्। जीर्णोद्धार गर्दै नेपालीको ट्रष्ट बनाए। अहिले बनारस तीर्थाटनमा जाने जोसुकै नेपालीहरु पनि आफ्नै घरजसरी त्यहाँ बस्न पाउँछन्। नेपालको सम्पत्तिलाई फिर्ता ल्याएबापत उतिबेलै दाहालले खुबै प्रशंसा बटुलेका थिए।

यो पनि: ६ महिनापछि चढाैंला नौतले दरबार (भिडियो)

बहुदल आएपछि सबैभन्दा लामो समय (७ वर्ष) पुरातत्वको महानिर्देशकका रुपमा बिताएका दाहाललाई अवकाशलगत्तै सरकारले ४ वर्षे कार्यकालसहित नारायणहिटी दरबार संग्राहलयलाई अवलोकन गर्नलायक बनाउने जिम्मेवारी सुुम्पिएको छ। तीन हप्ताअघि कार्यकारी निर्देशकको रुपमा नियुक्त दाहाल नारायणहिटीलाई काठमाडौंको एक नम्बर पर्यटकीय गन्तव्य बनाउन प्रतिबद्ध थिए।

‘पुरातत्व विभागबाट अवकाशपछि सरकारले विश्वास गरेर यहाँ पठाएको छ। मैले गरेका कामहरु पछि सबैले सम्झना गरुन् भन्ने उद्देश्यका साथ टिमलाई लिएर अघि बढ्नेछु। भर्खर आएको छु। योजना थुप्रै छन्। चुनौती सानो छैन। यसलाई अवसरका रुपमा परिणत गर्न म कस्सिएको छु’, उनी भन्छन्।

२०६५ सालपछि सरकारले राजदरबार नारायणहिटीलाई संग्रहालयका रुपमा विकसित गर्ने अवधारणा ल्याएको थियो। तर, त्यसपछि एक दशक बितिसक्दा पनि संग्रहालयको अपेक्षित विकास हुन नसकेको अनुभव दाहालको छ।

सोही कारण उनले आएको तीन हप्ता नबित्दै संग्रहालयको आवश्यकता केलाएका मात्रै छैनन्, योजनाका खाकासमेत कोरिसकेका छन्।

दाहालले सुरुमा संग्रहालयमा आवश्यक दरबन्दी सिर्जना गरी कर्मचारीहरु नियुक्त गर्नुपर्ने बताए। संग्रहालयमा ट्याक्सिडर्मिस्ट (मरेका जनावरको छालालाई कपडा वा भुस लगाएर पूर्ववत् आकारमा ल्याउने विज्ञ), धमिरा तथा राजामहाराजले लगाएका लुगा कपडा जोगाउन रसायनविद्हरु, पर्यटनलाई संग्रहालयबारे जानकारी गराउने मान्छेहरु, वनस्पति अध्ययन अनुसन्धान गर्ने विज्ञ, कर्मचारीहरु तथा प्राविधिकहरुको खाँचो रहेको उनले औँल्याए।

narayanhiti main image 2 2
नारायणहिटीमा थप नयाँ बस्तुहरु प्रदर्शनीमा राख्ने भेषनारायणको योजना छ। तस्बिर: प्रविन कोइराला

‘संग्रहालयमा यहाँको कामको प्रकृतिअनुसारका मान्छेहरुको अभाव देखिएको छ। ती पदहरु सिर्जना गर्दै लोकसेवा आयोगको स्वीकृति लिएर नयाँ दरबन्दी खुलाउनु आवश्यकता छ। म तत्काल त्यसैमा लाग्नेछु,’ दाहालले प्रतिबद्धता जनाए।

आवश्यकतासँगै दाहालले नारायणहिटी दरबारलाई समग्र काठमाडौंकै एक नम्बर पर्यटकीय गन्तव्य बनाउने केही अवधारणाहरु बनाएका छन्। मुख्यतः उनका चार योजनाहरु छन्।

थप प्रदर्शनीस्थल खुला गर्ने
काठमाडौंमा विश्व सम्पदामा सूचीकृत सात ऐतिहासिक क्षेत्रहरु छन्। विदेशीका लागि नारायणहिटी पनि त्यस्तै महत्वको स्थान हुनसक्छ भन्ने उनको विश्वास छ। त्यसैले नारायणहिटीलाई सबैभन्दा बढी रोजाइको पर्यटकीय स्थलको रुपमा विकास गर्न उनले सो दरबारक्षेत्रभित्रै थप प्रदर्शनीस्थलहरु खोल्ने योजना बनाएका छन्।

राजा त्रिभुवनलाई हिटलरले दिएको गाडी, राजा वीरेन्द्रको निवास श्री सदन, वीरेन्द्रले प्रयोग गरेका गाडीहरु र राज्याभिषेकमा प्रयोग भएका बग्गीहरु चाँडै सार्वजनिक गर्ने उनको लक्ष्य छ। रक्षा मन्त्रालयले राजाले प्रयोग गरेका हेलिकोप्टरहरु दिने जनाइसकेको छ र तिनलाई एक वर्षभित्र प्रदर्शनीमा राख्ने योजना उनले सुनाए। 

दरबारभित्रका बदाम बारी, आखेटोपहार, राजा त्रिभुवनको स्विमिङ पुल, बम्बई चोक, धीर शमशेरका छोराहरुबाट रणदीप सिंहको हत्या भएको घर (जसलाई १९४२ पर्व भनिन्छ) को पुनर्निर्माण गर्दै चाँडै सर्वसाधारणका लागि खुला गरिने उनले बताए। त्यसका लागि सरकार र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणसँग सहकार्य भइरहेको छ।

‘२ सय ४० वर्षसम्म शासन गरेको शाहवंशको अन्तिम धरोहर यही दरबार हो। पर्यटकले हाम्रो सांस्कृतिक धरोहरको रसास्वादन गरोस् र एक/दुई दिन भए पनि आफ्नो भ्रमण अवधि लम्ब्याओस् भन्ने लक्ष्यसहित बढीभन्दा बढी सहभागी गराउने गरी थप प्रदर्शनी कक्षहरु राख्ने हाम्रो योजना छ,’ दाहालले भने।

गणतन्त्र स्मारकमा सांस्कृतिक कार्यक्रम
नेपालखबरकर्मीहरु यसै हप्ता दाहालको कार्यकक्ष पुग्दा उनले नेपाल नाट्यकला एकेडेमीका प्रतिनिधिहरुसँग बैठक टुंग्याएका थिए। सरकारले नारायणहिटी दरबार संग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन सञ्चालन विकास समिति गठन गरेपछि स्मारकमा सांस्कृतिक कार्यक्रम गरी पर्यटकहरु लोभ्याउने योजनाअनुरुप उनले नाट्यकलासँग समन्वय गरिरहेका छन्।

‘नाट्यकला एकाडेमीसँग गणतन्त्र स्मारकमा साँझ सांस्कृतिक कार्यक्रमहरु कसरी प्रदर्शन गर्न सकिन्छ भन्ने योजनामा छौं,’ उनले भने, ‘त्यहाँ लाइटिङ, साउण्डको कार्यक्रम राखेर नेपालको इतिहास उत्पत्ती, लिच्छवीकालदेखि अहिलेसम्म जोडेर देखाउने कार्यक्रमहरु गर्ने योजना छ।’

गणतन्त्रमा शहादत प्राप्त शहीदहरुको तस्बिरहरुलाई वर्णानुक्रमअनुसार विषयगत प्रस्तुति गर्ने गरी स्मारकमा आउनेहरुलाई वीर शहीदहरुप्रति नतमस्तक हुने वातावरण बनाउने उनले योजना सुनाए।

‘नारायणहिटीभित्र प्रवेश गरेको पर्यटक राजाका शयन कक्षदेखि बैठक कक्षसम्म हेरेर, राजा वीरेन्द्रको नरसंहार भएको त्रिभुवन सदनको पनि अवलोकन गरी त्यताबाट घुमेर बदामबारी हुँदै गणतन्त्र स्मारक समेत अवलोकन गरेर बाहिर निस्कियोस् भन्ने अवधारणा हो,’ उनले भने, ‘त्यसो गर्दा संग्रहालयमा आएको एउटा पर्यटक कम्तीमा ४ देखि ५ घण्टा यहीँ बिताउनेछ।’

आत्मनिर्भर बन्ने योजना
संग्रहालयलाई आत्मनिर्भर बनाउँने अर्को योजना दाहालले सुनाए। संग्रहालयकाे अहिलेको वार्षिक आम्दानी ४ करोड छ। खर्च ६ करोड। आम्दानी र खर्चबीचको भिन्नता घटाउने कार्यक्रमलाई आफूले प्राथमिकता दिएको उनले बताए।

त्यसका लागि यसअघि (मंगलबार र बुधबारबाहेक) ५ दिनमात्रै खुल्ने संग्रहालयलाई उनले बुधबार मात्रै विदा हुने गरी ६ दिन खुल्ने गराएका छन्। यस्तै बिहान ११ बजे खुल्ने संग्रहालय १०:३० मा खुल्न थालेको छ। भविष्यमा सातै दिन खोल्ने योजनासहित आफू अघि बढेको उनले बताए।

mahendra manjil

‘यसलाई दिगो बनाउन, कर्मचारीहरुको तलबभत्ता, मर्मतसम्भार, बिजुली खर्च तिर्न, यसले आफैँ कमाउनुपर्छ,’ उनले भने, ‘आगामी ५ वर्षभित्र यसलाई आत्मनिर्भर बनाउने योजनासहित आम्दानीका स्रोत सिर्जना गर्ने कुराहरुमा हामी अघि बढ्दै छौँ।’

आम्दानी गर्ने थप योजनामा चिल्ड्रेन पार्क (बाल बगैँचा) बनाउने, अडिटोरियम हल निर्माण गर्ने लगायत पनि उनका योजनामा छन्। यस्तै ७ सय ९४ रोपनीमा फैलिएको नारायणहिटीलाई हरियाली बनाउने पनि उनको योजनाभित्रै पर्छ।

गुरुयोजना लागू गर्न प्रतिबद्ध
पुरातत्व विभागले अहिले नारायणहिटी दरबार संग्रहालयको गुरुयोजना तयार पार्दै छ। त्यो गुरुयोजना पारित भएर आफ्नो हातमा आएपछि त्यसकै अवधारणाभित्र रहेर संग्रहालयको विकास गर्न आफू प्रतिबद्ध रहेको उनी बताउँछन्।

यो पनि: अब विश्वले चिन्नेछ ९ कक्षा ‘ड्रपआउट’ आङछिरिङको यती-कला

‘गुरुयोजनामा सर्ट टर्म, मिड टर्म, र लङ टर्म प्लान हुन्छन्। ती योजनाहरुको आधारमा निर्दिष्ट कामहरुलाई कटिबद्ध भएर म लाग्नेछु,’ उनले भने। आफूले पुरातत्वसँग चाँडोभन्दा चाँडो गुरुयोजना मागेको र त्यो उपलब्ध भएपछि कामले गति लिने उनको विश्वास छ।

सम्पूर्ण तस्बिर/भिडियो: प्रविन कोइराला

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .