ad ad

राजनीति


यसरी टर्‍यो अमेरिका-इरान युद्धको खतरा

यसरी टर्‍यो अमेरिका-इरान युद्धको खतरा

नेपालखबर
पुस २४, २०७६ बिहिबार १२:१,

जर्नेल कासिम सुलेमानीको हत्यापछि इरानले बदला लिनेमा अमेरिकी अधिकारीहरु ढुक्क थिए। यत्तिकैमा अमेरिकी गुप्तचर स्याटेलाइटले इरानबाट छोटो दूरीका ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार भएको देखायो।

पश्चिम एसियामा रहेका अमेरिकी विमान र स्याटेलाइटले दिएको सूचनाका आधारमा इरानको निसानामा इराकस्थित अल असद र एरबिल सैन्य अखडा परेको स्पष्ट भयो। ती स्थानमा पहिलेदेखि उच्च सतर्कता अपनाइएको थियो। त्यसैले यो सूचना प्राप्त हुनासाथ सैनिकहरु बंकरभित्र लुक्न गए।

इराकमा भएका अमेरिकी सेनाले आक्रमणको अघिल्लो दिन पनि केही समय बंकरमा बिताएका थिए।

इस्टर्न टाइम अनुसार मंगलबार साँझ साढे ७ बजे इरानले क्षेप्यास्त्र हानेको घोषणा गरियो।

क्षेप्यास्त्र प्रहार भएको एक घण्टाभित्रै क्यापिटल हिलमा नेताहरुलाई यसबारे ब्रिफिङ दिइएको थियो। तल्लो सदनकी सभामुख न्यान्सी पेलोसी डेमोक्र्याटिक पार्टीको एक समूहसँग इरानबारे छलफल गरिरहेकी थिइन्। त्यही बेलौ उनलाई क्षेप्यास्त्र आक्रमणको सूचना लेखिएको नोट दिइयो।

पेलोसीले छलफल रोकेर उपराष्ट्रपति माइक पेन्ससँग फोनवार्ता गरिन्। सिनेटका डेमोक्रेटिक नेता चक सुमरलाई पनि पेन्सले फोन गरेर जानकारी दिए।

रिपब्लिकन पार्टीका नेताहरुलाई भने ट्रम्प आफैँले ब्रिफिङ गरिरहेका थिए।

पेन्टागनमा रक्षामन्त्री मार्क एस्परले आक्रमणबारे थाहा पाउनेबित्तिकै ज्वाइन्ट चिफ अफ स्टाफलगायत रक्षा अधिकारीहरुसँग छलफल गरे।

घटनाको एक घण्टा नबित्दै एस्परले इराकी प्रधानमन्त्री आदिल अब्दुल अल महदीसँग कुरा गरे। महदीले सुलेमानी हत्याको चर्को विरोध गरेका थिए।

बगदादमा त्यो बेला बिहानको ३ बजेको थियो। त्यसैले रक्षामन्त्री एस्परले सुरुमै इराकी प्रधानमन्त्रीसँग कुरा गर्न पाएनन्। त्यसैले उनले पहिले वाशिंगटनस्थित इराकी राजदूतसँग सम्पर्क गरे, जसले महदीसँग एस्परको सम्पर्क गराइदिए।

केही सांसदसँग फोनमा कुरा गरेर एस्पर र ज्वाइन्ट चिफ्स अफ स्टाफका अध्यक्ष जनरल मार्क मिली ह्वाइट हाउसतर्फ लागे।

सिचुएसन रुमको अवस्था
साढे ७ बज्नुअघि एस्पर, मिली र विदेशमन्त्री माइक पोम्पेओ केही मिनेटको फरकमा ह्वाइट हाउस पुगे। सबैभन्दा पहिले पोम्पेओ पुगेका थिए। उनी गाडीको पछाडि बत्ती बालेर दुई वटा सेलफोनमा घटनाबारे प्राप्त सूचना पढ्न थाले। सबैजना आइपुगेपछि उनीहरु सँगै भित्र पसे।

एकैछिनमा ह्वाइट हाउसको सिचुएसन रुममा सबै अधिकारी जम्मा भए। यी तीनजनाका साथमा, उपराष्ट्रपति पेन्स, राष्ट्रिय सुरक्षा सल्लाहकार, रोबर्ट ओब्रेन, नेसनल इन्टेलिजेन्सका कामु निर्देशक जोसेफ म्याक्ग्वायर र कामु चिफ अफ स्टाफ मिक मल्भानी पनि त्यहीँ थिए।

सीआईएकी निर्देशक जिना हास्पेल भने भिडियो कन्फ्रेन्समार्फत त्यहाँ जोडिइन्।

छलफलको मुख्य उदेश्य आक्रमणमा कुनै अमेरिकीको ज्यान गयो कि गएन, यही टुंगो लगाउनु थियो। ट्रम्पसँग कुरा गरेका एक सिनेटरले बताएअनुसार अमेरिकीको ज्यान गएको भए ट्रम्प इरानमा आक्रमण गर्न तयार थिए। तर, सुरुवाती सूचनाअनुसार कसैको ज्यान गएको थिएन।

त्यसकारण सबै संयम देखिए। सुरुमा इरानमाथि आक्रमणका लागि केही छलफल भएपनि बाँकी सूचना नआउन्जेल यसलाई थाती राखियो।

सिचुएसन रुममा जम्मा भएकाहरु सुरुमा इरानले यति थोरै क्षेप्यास्त्र मात्र हानेकोमा चकित थिए। किनभने इरानसँग हजारौँ क्षेप्यास्त्र छ। त्यसमाथि इरानले हान्छ भन्ने धेरै पहिलेदेखि थाहा भइसकेकाले त्यहाँ एकप्रकारको शान्त वातावरण थियो।

यद्यपि तनाव भने उच्च थियो। सँगसँगै इरान अमेरिकीहरुको ज्यान लिनभन्दा आफ्नो सन्देश दिनतर्फ बढी इच्छुक देखिएकाले सिचुएसन रुममा शान्ति थियो।

साउदी अरबको तेल प्रशोधन केन्द्रमाथि भएको आक्रमण एकदमै घातक थियो। त्यसैले इरानको आक्रमण घातक हुने अपेक्षा उनीहरुले गरेका थिए।

आक्रमणको केही घण्टा बितेपछि ट्रम्पले राष्ट्रको नाममा सम्बोधन गर्ने बताए। त्यसपछि उनको वक्तव्यको तयारी थालियो।

सुलेमानीको हत्यालगत्तै ट्रम्पले यस्तो सम्बोधन नगरेकाले आफ्नो पक्षमा भाष्य निर्माण गर्ने मौका गुमेको भन्दै ह्वाइट हाउसका अधिकारीहरु चुकचुकाइरहेका थिए। क्षेप्यास्त्र आक्रमण लगत्तै ट्रम्पका ज्वाइँ जेरड कुस्नलरले ट्रम्पलाई सम्बोधनका लागि आग्रह गरेका थिए।

क्यापिटल हिलमा रहेका रिपब्लिकन पार्टीका नेताहरुले ह्वाइट हाउसबाट सबै सूचना पाइरहेका थिए। ती नेताले पनि संयमता अपनाउन आग्रह गरे।

अन्ततः ट्रम्पले राति नै सम्बोधन नगर्ने टुंगो लाग्यो। धेरैले सन्तोषको सास फेरे।

९ बजेपछि ट्रम्पले केही नेतासँग फोनमा कुरा गरे। ९ः४५ मा उनले ‘सब ठिक छ’ भन्दै ट्विट गरे। भोलिपल्ट बिहान उनले सम्बोधन गर्ने जानकारी पनि दिए।

इरानसँगको वार्ता
त्यो रातिदेखि बुधबार बिहानसम्म इरानले तीन वटा अनौपचारिक माध्यमबाट अमेरिकासँग सम्पर्क गर्ने प्रयास गरेको थियो। जसलाई स्वीट्रल्यान्डलगायतका मुलुकले सघाएका थिए। इरानको सन्देश स्पष्ट थियो ः हाम्रो प्रतिक्रिया यति नै हो। अब अमेरिका के गर्छ, हामी हेर्छौँ।

यी संवादमा पनि इरानले हेजबुल्लाहलगायत समूह नियन्त्रण गरेको आरोप अमेरिकाले लगायो, जसलाई इरानले अस्वीकार गरिदियो।

रातिको करिब १ बजेतिर क्षेप्यास्त्रको निसानामा परेका स्थानको रिपोर्ट आइपुग्यो। कुनै अमेरिकीको ज्यान गएको थिएन।

अब के गर्ने भन्ने विषयमा राष्ट्रिय सुरक्षा हेर्ने टोलीले विकल्प तयार गरेको थियो। जसमा एक थियो, इरानलाई आर्थिक प्रतिबन्ध लगाउने।

बुधबार बिहान टोलीले ट्रम्पसँग भेट गर्‍यो। त्यसपछि ट्रम्पले इरानसँग थप तनाव नचर्काउने निर्णय लिए।

त्यसपछि ट्रम्पले तयार सम्बोधन सम्पादन गर्न थाले। अरुहरुले उनलाई सल्लाह दिए। बिहान ११ बजे सम्बोधनको तयारी थियो, तर हेरफेर गर्न लाग्दा थप आधा घण्टा ढिला भयो। जसमा ट्रम्पले इरान पछि हटेको बताए। सीएनएन

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .