ad ad

समाज


प्रस्तावित प्रधानन्यायाधीशविरुद्ध संसदीय सुनुवाइ, समूह बनाएरै पुगे उजुरीकर्ता

प्रस्तावित प्रधानन्यायाधीशविरुद्ध संसदीय सुनुवाइ, समूह बनाएरै पुगे उजुरीकर्ता

फाइल तस्बिर


नेपालखबर
जेठ ३१, २०८० बुधबार १३:४३, काठमाडौँ

संसदीय सुनुवाइ समितिमा प्रस्तावित प्रधानन्यायाधीशविरुद्ध उजुरी दिने उजुरीकर्तासँग छलफल सुरु भएको छ।

समितिको बुधबार बसिरहेको बैठकमा प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीविरुद्ध उजुरी दिने २९ जनामध्ये  २३ उजुरीकर्ता सहभागी भएका छन्। 

ज्येष्ठ सदस्यका रूपमा बैठकको सभापतित्व गरेका पशुपतिशम्शेर जबराले उजरीको गम्भीर्यता हेरी पहिले सामान्य प्रकृतिका उजरीमाथि छलफल अगाडि बढाउने जानकारी दिएका छन्। 

यसअघि बैठकमा समिति सदस्य सांसद जर्नादन शर्मा ‘प्रभाकर’ ले उजुरीहरु फरक–फरक खालका  भएकाले सबैलाई एकै ठाउँमा राखेर छलफल गर्नुभन्दा उस्तै प्रकृतिकालाई एकै ठाउँमा राख्नुपर्नेमा जोड दिए।

नेकपा एमालेका सांसद महेश बर्तौलाले उजुरीहरु अनुमान गरेअनुसार नै आएको बताउँदै आवश्यकता र विषयको गहनता हेरेर मात्रै छलफल अघि बढाउनुपर्ने बताए।

कतिपय उजुरीहरु राजनीतिक प्रकृतिका भएका कारण ती उजुरीलाई फरक–फरक ढङ्गले छलफल गर्नुपर्ने उनको भनाइ थियो। 

अर्का सांसद रमेशजङ्ग रायमाझीले कुन विषयलाई गहन भन्ने कुन विषयलाई सामान्य भन्ने कुरा जटिल हुने बताए। 

उनले सबैले गहन विषय भएरै उजुरी दिएको हुनसक्ने बताउँदै सबैभन्दा पहिला उजुरीकर्ताको उजुरी सुनेर छलफल अगाडि बढाउनुपर्नेमा जोड दिए। 

समितिमा हरेक उजुरीबारे कम्तीमा १० मिनेट छलफलको योजना बनाइएको छ। हरेक उजुरीकर्ताले १० मिनेटमा आफ्ना कुरा राख्न पाउने भएका छन्। 

कार्कीविरुद्ध केही उजुरी सामूहिक रुपमा परेका छन्। उजुरी गर्नेहरु पनि समूहमै समितिमा पुगेका छन्। उजुरीकर्ताले समितिमा एक्लै कुरा नराख्ने, सामूहिक रुपमा बोल्ने अडान लिएका छन्। 

तर संसदीय सुनुवाइ समितितले हरेकलाई १० मिनेट समय दिने भएको छ। समितिको व्यवस्था पनि त्यही छ। समितिले अलग अलग उजुरीकर्तासँग छलफल गर्न खोजेको छ। तर उनीहरु सामूहिक रुपमै कुरा राख्ने पक्षमा छन्। 

उजुरीकर्ताले सामूहिक बार्गेनिङ गरिरहेको अवस्थामा समितिले भने छोटो अवधिका लागि कार्कीलाई प्रधानन्यायाधीश बन्न दिने गरी नियुक्तिको बाटो खोल्ने तयारी गरेको एक सदस्यले बताएका छन्। 

संसदीय समितिले चाँडै सुनुवाइ टुंग्याइदिएमा हरिकृष्ण कार्की केही समय प्रधानन्यायाधीशका रुपमा बसेर सर्वोच्च अदालतबाट बिदा हुनेछन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .